इटालियन फुटबल क्लब एएस रोमाले युइएफए च्याम्पियन्स लिगको खेलमा नेपालको भोटेकोशी बाढीपीडितहरूको समर्थन र सचेतनाका लागि 'टुगेदर फर नेपाल' लेखिएको विशेष जर्सी लगाएर खेलेको छ।
इस्तानबुलमा फेनरबाहचेविरुद्ध १-१ को बराबरीमा सकिएको खेलमा रोमाका खेलाडीहरूले यो सामाजिक सन्देशका साथै संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको लोगो अंकित जर्सी प्योग गरेका थिए।

टर्कीमा बेटिङ कम्पनीको प्रायोजक प्रदर्शन गर्न प्रतिबन्ध रहेकाले रोमाले यस अवसरलाई नेपालका बाढीपीडितहरूप्रति समर्पित गरेको हो। रोमाको जर्सीको मुख्य प्रायोजक बेटिङ कम्पनी छ।

उक्त खेलमा खेलाडीहरूले प्रयोग गरेका जर्सीहरू लिलामी गरिनेछ र त्यसबाट संकलित रकम रोमस्थित डब्लुएफपीमार्फत नेपालका राहत कार्यमा योगदान गरिनेछ।
नेपालका बाढी पीडितप्रति ऐक्यबद्धता जनाउन च्याम्पियन्स लिगका सम्पूर्ण खेलहरू सुरु हुनुअघि एक मिनेट मौनधारण गरिएको थियो। साथै रंगशालाका स्क्रिनहरूमा बाढीपीडितको समर्थनमा सन्देशहरूसमेत प्रदर्शन गरिएका थिए।
यसअघि प्रिमियर लिग क्लब आर्सनलले पनि आर्सनल फाउन्डेसन र सेभ द चिल्ड्रेनमार्फत नेपालमा राहत सहयोग पुर्याएको थियो।