नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ। प्रतियोगिताका लागि थप तीन नयाँ टोली छनोट भएसँगै सहभागी हुने सबै टोली निश्चित भएका हुन्।
एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार २० टोलीले बोलपत्र पेस गरेकामा धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका छन्।
छनोट भएका टोलीमध्ये धरानको प्रतिनिधित्व हिमालय टेलिभिजन नेटवर्कले गर्नेछ। धरानको टोलीमा अभिनेता दयाहाङ राई र पूर्वफुटबल खेलाडी केन्द्र लिम्बू पनि आबद्ध छन्। त्यस्तै, वीरगञ्जको टोली अल स्टार स्पोर्ट्स म्यानेजमेन्टको नेतृत्व उत्सव सिग्देलले गर्नेछन्।
सिग्देल नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सका पूर्व सह-मालिक हुन्। सुर्खेतको प्रतिनिधित्व एलाइड कन्टिनेन्टलले गर्नेछ। उक्त टोलीमा रचितकुमार अग्रवालसँगै नेपाल हिलटप इन्डस्ट्रिज प्रालि (नेपाटप)का निर्देशक दिगेन श्रेष्ठ तथा अस्ट्रेलियामा रहेका सुजित बस्नेत र सबिन श्रेष्ठ आबद्ध छन्।
बोलपत्र प्रक्रियामा धरानका लागि ३ करोड १ लाख रुपैयाँ, वीरगञ्जका लागि २ करोड ५१ लाख रुपैयाँ र सुर्खेतका लागि २ करोड ५० लाख रुपैयाँको प्रस्ताव पेस गरिएको थियो। यी प्रस्तावमा यी तिनै टोलीले सफलता हात पारेका हुन्।
तीन टोली छनोट भएपछि गुरुङले नेपाली फुटबलमा अझै धेरै सम्भावना रहेको बताएका छन्। ‘तीन टोलीका लागि बोलपत्र आह्वान गर्दा २० टोली इच्छुक देखिनु भनेको अझै नेपाली फुटबलमा धेरै सम्भावना रहेको देखिन्छ। तीमध्ये हामीसँग जोडिनुभएका तीन टोलीलाई बधाई दिन चाहन्छु,’ उनले भने।
यसपटक छनोट हुन नसकेका बाँकी १७ टोलीलाई पनि आगामी दिनमा कुनै न कुनै स्वरूपमा समेट्ने प्रयास गरिने गुरुङले बताए। ‘हामीसँग यसपटक जोडिन नसक्नुभएका बाँकी १७ टोलीलाई भने आगामी दिनमा कुनै न कुनै स्वरूपमा समेट्ने प्रयास गर्नेछौँ,’ उनले भने।
एनएफएलको पहिलो संस्करणमा १० टोली सहभागी हुनेछन्। प्रतियोगिता फागुन १ देखि सुरु हुनेछ। ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका सात टोली यसअघि नै निश्चित भइसकेका थिए।
यसअघि छनोट भएका सात टोलीमा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी छन्