सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ स्थित रातामाटास्थित हार्डवेयरको गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ।
मंगलबार बिहान १० बजेदेखि सुरू भएको आगलागी पाँच घण्टापछि नियन्त्रणमा आएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।
आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू खटिएका थिए। यसमा चार वटा दमकलको प्रयोग गरी आगलागी नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।
'भीषण आगलागी भएपछि यहाँको दमकलले भ्याएन। त्यसपछि हामीले अरू ठाउँबाट पनि बोलायौं,' उनले भने, 'धेरै नै क्षति भएको छ।'
कमलामाई, दुधौली नगरपालिका, रामेछाप र बर्दीबासबाट दमकल बोलाइएको थियो।
सिकंदर शाहको हार्डवेयर पसलमा बिजुली सर्ट भएर आगलागी सुरू भएको थियो। आगलागीबाट ७ करोड बढी क्षति भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए। यद्यपि अहिले यो अनुमानित मात्रै भएको उनको भनाइ छ।