दाङ प्रहरीले बितेका नौ दिनमा ३८ फरार प्रतिबादी नियन्त्रणमा लिएको छ।
पुस २० गतेदेखि २९ गतेको अवधिमा ३८ जना विभिन्न फरार प्रतिबादी पक्राउ परेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।
३८ जना फरार प्रतिबादीबाट १२ लाख ६० हजार ६ सय ९० रूपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै ३४ वर्ष ९ महिना सात दिन कैद सजाय भुक्तान हुने भएको छ।
नौ दिनमा प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट अवैध रूपमा नदी तथा खोलाजन्य वस्तु उत्खनन र चोरी कार्यमा संलग्न दस वटा सवारी साधन पनि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी प्रवक्ता शाहका अनुसार ९ वटा ट्र्याक्टर र एउटा डोजर नियन्त्रणमा लिइएको हो।
ती सवारी साधनमाथि आर्थिक जरिवाना गर्दा राज्य कोषमा पाँच लाख ५२ हजार चार सय २७ रूपैयाँ राजस्व दाखिला भएको शाहले बताए।
नौ दिनको अवधिमा पक्राउ प्रतिवादीलाई अदालतले तोकेको आर्थिक जरिवाना असुल उपर गर्दा र अवैध बालुवा–गिटी चोरीमा संलग्न सवारी साधनमाथि आर्थिक कारबाही गर्दा १८ लाख रूपैयाँ बढी राजस्व संकलन भएको शाहले बताए।