रोल्पामा मंगलबार फरक/फरक स्थानमा एक महिला र पुरूष मृत अवस्थामा फेला परेका छन्।
महिलाको शव भिरमा अड्किएको अवस्थामा फेला परेको हो भने पुरूषको शव खोला किनारमा फेला परेको हो।
जिल्लाको रून्टीगढी गाउँपालिका– ८ बलडाँडाकी ३२ वर्षीया डिलकुमारी पुनको घर नजिकै भिरमा अड्किएको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार पुन सोमबार बिहान ११ बजेतिर बाख्रा चराउन भनेर घरबाट गएकी थिइन्।
उनी घर नफर्किएपछि खोजी गर्दा फेला परेकी थिइनन्।
मंगलबार बिहान ११ बजेतिर स्थानीयले खोजी गर्ने क्रममा भिरमा अड्किएको अवस्थामा शव देखेपछि अस्थायी प्रहरी पोष्ट कुर्जामा खबर गरेका थिए।
त्यसपछि प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा घर नजिकैको बल्दजुरे सामुदायिक वनमा भिरबाट अन्दाजी १०० मिटर मुनि लडेर मृत्यु भएको अवस्थामा पुनको शव भिरको बीच भागमा अड्केको फेला परेको प्रहरी निरीक्षक थापा नेपालीले बताए।
त्यस्तै, जिल्लाको सुनिलस्मिृति गाउँपालिका–४ लुङ्ग्री खोला किनारमा एक जना पुरूषको शव फेला परेको छ।
मृतक स्याङ्जाको गल्याङ नगरपालिका–५ मौनडाँडाका ४६ वर्षीय सागर न्यौपाने रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए।
स्थानीयले खोला किनारमा शव देखेपछि मंगलबार दिउँसो १ बजेतिर प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले पौने ३ बजेतिर गई बुझ्दा मृतकको पहिचान खुलेको प्रहरी निरीक्षक थापा नेपालीले बताए।
न्यौपाने किन रोल्पा आएका थिए भन्नेबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरी निरीक्षक थापा नेपालीले जानकारी दिए।
दुबै घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ।