यस वर्ष दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल 'आबाट आमा २', 'छ माया छपक्कै २' र '१२ गाउँ २' ले पछिल्लो सात दिनमा बक्स अफिसमा कति कमाइ थपे होलान्?
अघिल्लो साता सार्वजनिक बक्स अफिस रिपोर्टमा तीनवटै फिल्मको व्यापार अपेक्षाअनुसार देखिएको थिएन। त्यसयता यी फिल्मको कमाइमा कति वृद्धि भयो त? यसका लागि चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको कात्तिक १५ गतेसम्मको बक्स अफिस रिपोर्ट हेरौं।
रिपोर्टअनुसार तीनवटै फिल्मले हालसम्म कुल ११ करोड ८९ लाख १२ हजार रूपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेका छन्।
अघिल्लो रिपोर्टमा तीनवटै फिल्मको कुल कमाइ ८ करोड ७१ लाख ८० हजार रूपैयाँ थियो। यस हिसाबले पछिल्लो सात दिनमा तीन फिल्मले संयुक्त रूपमा ३ करोड १७ लाख ३२ हजार रूपैयाँभन्दा बढी ग्रस कमाइ थपेका छन्।
कमाइका आधारमा तीन फिल्ममध्ये सबभन्दा अगाडि छ 'आबाट आमा २'। फिल्मले कात्तिक १५ गतेसम्म ६ करोड २४ लाख ७० हजार १३० रूपैयाँ ग्रस कलेक्सन गरेको छ। यसको २ लाख १३ हजार १९४ वटा टिकट बिक्री भएका छन्।
अघिल्लो साताको रिपोर्टमा फिल्मको कमाइ ४ करोड ११ लाख ४६ हजार रूपैयाँ थियो। यसअनुसार फिल्मले पछिल्लो सात दिनमा बक्स अफिसमा थप २ करोड १३ लाखभन्दा बढी कमाइ गरेको छ।
दोस्रो स्थानमा रहेको 'छ माया छपक्कै २' ले ३ करोड ३४ लाख ८४ हजार ४३५ रूपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मका १ लाख ३ हजार ९७९ वटा टिकट बिक्री भएका छन्। अघिल्लो रिपोर्टमा फिल्मको कमाइ २ करोड ७६ लाख ३९ हजार थियो। यसअनुसार पछिल्लो सात दिनमा बक्स अफिसमा फिल्मले ५८ लाख ४५ हजार रूपैयाँ थपेको छ।
त्यस्तै, '१२ गाउँ २' ले कात्तिक १५ गतेसम्म २ करोड २९ लाख ५७ हजार ९८६ रूपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मका ७४ हजार ८०३ वटा टिकट बिक्री भएका छन्। अघिल्लो रिपोर्टमा १ करोड ८३ लाख ९४ हजार कमाएको फिल्मले पछिल्लो सात दिनमा बक्स अफिसमा ४५ लाख ६३ हजार रूपैयाँभन्दा बढी थपेको छ।
चन्द्र पन्त निर्देशित 'आबाट आमा २' मा पल शाह, विपना थापा, मलिका महत, आकाश श्रेष्ठलगायत कलाकार छन्। यसको अघिल्लो भाग 'आबाट आमा' ले १३ करोड २० लाख रूपैयाँ ग्रस कमाएको थियो। सिक्वेलले अहिलेसम्म अघिल्लो भागको कमाइको आधा पनि पार गर्न सकेको छैन।
दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘छ माया छपक्कै २’ मा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायत कलाकार छन्। यसको अघिल्लो भाग 'छ माया छपक्कै' ले ९ करोड ९२ लाख रूपैयाँ ग्रस कमाएको थियो। सिक्वेलको अहिलेसम्मको व्यापार अघिल्लो भागको तुलनामा निकै कम हो।
यता, विराज भट्ट निर्देशित '१२ गाउँ २' मा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, कृशु शाही, वर्षा इटानी, सुनिल पोखरेललगायत कलाकार छन्। यसको अघिल्लो भाग '१२ गाउँ' ले १९ करोड ९२ लाख रूपैयाँ ग्रस कमाएको थियो। तर सिक्वेलको व्यापार निकै कमजोर देखिएको छ।