'स्त्री २' को सफलतापछि म्याडक फिल्म्स प्रोडक्सनले आफ्नो हरर-कमेडी दुनियाँको नयाँ फिल्म 'थामा' दर्शकमाझ ल्याउँदैछ। मंगलबार मात्रै यो फिल्मको १ मिनेट ४९ सेकेन्ड अवधिको टिजर युट्युबमा सार्वजनिक भएको छ।
आयुष्मान खुराना र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको यो फिल्मलाई म्याडडक हरर–कमेडी युनिभर्सको पहिलो प्रेम कथा भनिएको छ।
म्याडक फिल्म्सले 'थामा' को टिजर सार्वजनिक गर्दै भनेको छ, 'न डर कहिल्यै यति शक्तिशाली थियो, न त प्रेम कहिल्यै यति ब्लडी।'
टिजरमा आयुष्मान र रश्मिकाबीचको अनौठो र डरलाग्दो प्रेम देखाइएको छ।
टिजरको सबभन्दा ठूलो आकर्षण नवाजुद्दीन सिद्दिकीको ट्विस्ट हो, जसले फिल्ममा एक अप्रत्याशित र डरलाग्दो पात्रको भूमिका निर्वाह गरेको आँकलन गर्न सकिन्छ। उनको उपस्थितिले फिल्मको कथामा नयाँ मोड ल्याउने देखिन्छ।
आदित्य सरपोतदारद्वारा निर्देशित तथा दिनेश विजन र अमर कौशिक निर्माता रहेको 'थामा' मा परेश रावलको पनि अभिनय रहनेछ।
यो फिल्म सन् २०२५ को दिपावलीमा प्रदर्शन हुने छ।