सुभाष कपूर निर्देशित अदालतमा आधारित कमेडी फिल्म 'जोली एलएलबी ३' ले प्रदर्शनको चार दिनमा भारतमा ५९ करोड भारू कमाइ गरेको छ।
अक्षय कुमार, अर्शद वारसी र सौरभ शुक्ला मुख्य भूमिकामा रहेको यो फिल्म सेप्टेम्बर १९ मा रिलिज भएको थियो। फिल्मले गरिरहेको व्यापारलाई सुखद् मानिएको छ।
ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार, 'जोली एलएलबी ३' ले सोमबार (चौथो दिन) अनुमानित ५.५० करोड भारू नेट कलेक्सन गरेको छ। योसँगै फिल्मको कुल संकलन ५९ करोड भारू पुगेको हो।
फिल्मले शुक्रबार १२.५ करोड, शनिबार २० करोड, आइतबार २१ करोड भारू संकलन गरेको थियो।
'जोली एलएलबी ३' यो 'जोली एलएलबी' श्रृंखलाको तेस्रो फिल्म हो। सन् २०१३ मा रिलिज भएको पहिलो फिल्ममा अर्शद वारसी मुख्य वकिलको भूमिकामा थिए। सन् २०१७ मा आएको दोस्रो फिल्ममा अक्षय कुमारले लखनऊका फरक वकिलको भूमिका निभाएका थिए। तेस्रो भागमा दुवै जोली (अक्षय र अर्शद) एकैसाथ एउटा मुद्दा लड्न आउँछन्, जहाँ सौरभ शुक्ला न्यायाधीश त्रिपाठीको भूमिकामा फर्किएका छन्।
यो वर्षको एक बहुप्रतीक्षित फिल्म मानिएको 'जोली एलएलबी-३' नेपालका सिनेमा हलमा पनि प्रदर्शन भइरहेको छ।