बलिउड अभिनेता अनुपम खेरले आफूले आगामी २० वर्षसम्म कुनै पनि 'लाइफटाइम अचिभमेन्ट अवार्ड' नलिने घोषणा गरेका छन्।
भारतको ५६ औं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आइएफएफआइ) मा बोल्दै उनले उक्त घोषणा गरेका हुन्।
'गिभिङ अप इज नट अ च्वाइस' विषयक सत्रमा बोल्दै खेरले आफूलाई 'भेट्रान' अभिनेता भन्नुले करियर सकिएको अर्थ लाग्ने भन्दै सो सम्बोधन अस्वीकार गर्ने बताए। आउँदो डिसेम्बरमा आफ्नो ५५० औं फिल्म साइन गर्न लागेको समेत उनले जानकारी दिए।
आफ्नो करियरको संघर्ष सुनाउने क्रममा खेरले पहिलो फिल्म 'सारांश' को रोचक किस्सा सुनाएका थिए। सुटिङ सुरू हुनुअघि नै आफूलाई हटाएर सञ्जीव कुमारलाई लिन लागिएपछि उनी निर्देशक महेश भट्टसँग आक्रोशित भएका थिए।
खेरको आक्रोश देखेपछि भट्टले उनलाई पुनः फिल्ममा बोलाएका थिए।
यस्तै, हलिउड फिल्म 'सिल्भर लाइनिंग्स प्लेबुक' को सुटिङका क्रममा रोबर्ट डि निरोले एउटा दृश्यमा कोठाबाट बाहिर निकालिदिएपछि ४५ मिनेट चिसोमा बस्नुपरेको अनुभव पनि उनले सुनाएका थिए।
त्यतिबेला निर्देशक डेभिड ओ रसेलसँग आफ्नो अडान राखेपछि मात्रै छायांकन अघि बढेको र पछि डि निरोसँग राम्रो मित्रता भएको उनले बताए।
अनुपम खेरले आफ्नो चार दशक लामो अभिनय यात्रामा हिन्दीबाहेक अन्य धेरै भाषा र केही अन्तर्राष्ट्रिय फिल्महरूमा पनि काम गरेका छन्।