बलिउडको सुपरहिट फिल्म 'थ्री इडियट्स' को सिक्वेल निर्माण हुने भएको छ।
भारतीय संचारमाध्यमका अनुसार निर्देशक राजकुमार हिरानीले 'थ्री इडियट्स २' को स्क्रिप्ट तयार गरिसकेका छन्। यो फिल्ममार्फत करिब १५ वर्षपछि आमिर खान, करिना कपुर खान, आर. माधवन र शरमन जोशी पुनः पर्दामा एकसाथ देखिने भएका छन्।
फिल्ममा विधु विनोद चोपडा, राजकुमार हिरानी र आमिर खानको संयुक्त निर्माण रहनेछ।
पिंकभिल्लाको रिपोर्ट अनुसार फिल्मको छायांकन सन् २०२६ मा सुरू हुने बताइएको छ। फिल्मको कथा पहिलो भागको अन्त्य भएको १५ वर्षपछिको समयबाट सुरू हुनेछ, जसमा रान्चो, फरहान, राजु र पियाको परिपक्व जीवनका नयाँ रमाइला किस्साहरू समेटिनेछन्।
यसअघि योजना गरिएको दादासाहेब फाल्केको बायोपिकको स्क्रिप्टमा चित्त नबुझेपछि हिरानीले त्यसलाई रोकेर 'थ्री इडियट्स' को सिक्वेलको कथा लेखनलाई पूर्णता दिएका हुन्।
सन् २००९ मा रिलिज भएको 'थ्री इडियट्स' ले बक्स अफिसमा २०० करोड क्लबको सुरूआत गर्दै इतिहास रचेको थियो।