भारतीय अभिनेता रणवीर सिंह स्टारर फिल्म 'धुरन्धर' ले भारतीय बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ।
फिल्मले ९ औं दिन (दोस्रो शनिबार) एकैदिन प्रारम्भिक अनुमानअनुसार ५५ करोड भारू कमाएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। यो कमाइसँगै भारतमा फिल्म ३०० करोड क्लबमा प्रवेश गरेको छ। दोस्रो शनिबारसम्म फिल्मको कमाइ ३०९.७ करोड भारू पुगेको हो।
'धुरन्धर' भारतीय बक्स अफिसमा दोस्रो शनिबार सबभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ। यसअघि 'पुष्पा २' र 'छावा' ले बनाएका रेकर्डलाई यसले उछिनेको हो।
आदित्य धरद्वारा निर्देशित 'धुरन्धर' मा रणवीरसहित अक्षय खन्ना, संजय दत्त, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको अभिनय छ।
नेपालमा समेत फिल्मले राम्रो प्रदर्शन गरिरहेको जनाइएको छ।