बलिउडको क्लासिक फिल्म 'शोले' पुनः प्रदर्शनमा छ। सन् १९७५ को यो फिल्म ५० वर्ष पूरा भएको अवसरमा 'शोले- द फाइनल कट' शीर्षकमा गत शुक्रबारदेखि फेरि प्रदर्शनमा आएको हो।
फोर के प्रविधिमा पुनःसंस्करण गरिएको 'शोले- द फाइनल कट' को कमाइ कस्तो छ त?
भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनको तेस्रो दिनसम्म फिल्मको कमाइ करिब १ करोड ५० लाख भारू नजिक पुगेको छ।
धर्मेन्द्र, अमिताभ बच्चन र हेमा मालिनी अभिनीत फिल्मले पहिलो दिन करिब ३० लाख, दोस्रो दिन ५० लाख र तेस्रो दिन झण्डै ६० लाख भारू कमाएको हो। यसरी फिल्मले पहिलो तीन दिनमा १ करोड ४० लाख भारूको व्यापार गरेको हो।
'शोले- द फाइनल कट' मा सन् १९७५ मा सेन्सरका कारण प्रदर्शन हुन नसकेको मूल अन्त्य पनि समावेश गरिएको छ। फिल्मलाई फोर के रेमस्टर्ड गरी डब्ली ५.१ साउन्ड र मूल ७० मिमी स्वरूपमा प्रस्तुत गरिएको छ।
दर्शकलाई उत्कृष्ट दृश्य र ध्वनिको अनुभव दिनका लागि यसो गरिएको हो। पुराना साथै नयाँ पुस्ताका दर्शकले पनि हलमा पुगेर फिल्म हेर्दा सकारात्मक प्रतिक्रिया दिएका छन्।
यही समयमा प्रदर्शनरत रणवीर सिंह अभिनीत 'धुरन्धर' को व्यापार आक्रामक रहेकाले 'शोले' को स्क्रिन संख्या सीमित रहेको बताइएको छ। त्यसका बाबजुद, पुनःप्रदर्शन गरिएको फिल्मका लागि 'शोलेः द फाइनल कट' को कमाइ सन्तोषजनक मानिएको छ।
रमेश सिप्पी निर्देशित 'शोले' मा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन, सञ्जीव कुमार र अमजद खानजस्ता दिग्गज कलाकारहरूको अभिनय छ। फिल्मका हरेक पात्रहरू अहिलेसम्म पनि दर्शकको मनमा बसेका छन्।
धर्मेन्द्रको निधनपछि यस क्लासिक फिल्मको पुनः रिलिजले भावनात्मक महत्व पनि प्राप्त गरेको छ।
कट भएका केही दृश्यहरू फर्काइएको कारण यस संस्करणको रनटाइम पुरानो भन्दा लामो रहेको जनाइएको छ।