रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको बलिउड फिल्म 'धुरन्धर' सन् २०२५ को सबभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ। यसले विश्वव्यापी बक्स अफिसमा ठूला फिल्महरूलाई पछि पार्दै वर्षको सर्वाधिक कमाउने भारतीय फिल्मको स्थान ओगटेको हो।
फिल्मले प्रदर्शनको १८ औं दिनमा 'कान्ताराः च्याप्टर १', 'छावा' लगायतका चर्चित फिल्महरूको बक्स अफिस रेकर्ड तोडेको भारतीय संचारमाध्यमले जनाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार ‘धुरन्धर’ ले भारतसहित अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गरिरहेको छ। अहिलेसम्म फिल्मले विश्वभरबाट ८ सय ७० करोड भारूभन्दा बढी आम्दानी गरिसकेको जनाइएको छ।
'कान्ताराः च्याप्टर १' ले विश्वव्यापी बक्स अफिसमा ८ सय ५२ करोड भारू कमाएको थियो। त्यस्तै, 'छावा' को विश्वव्यापी कमाइ ८ सय ७ करोड छ। व्यापार विश्लेषकहरूका अनुसार 'धुरन्धर' ले आगामी दिनमा ९ सयदेखि १ हजार करोड रूपैयाँसम्मको आम्दानी गर्ने सम्भावना देखिएको छ।
आदित्य धर निर्देशित यस जासूसी थ्रिलरमा रणवीर र अक्षयका साथमा अर्जुन रामपाल, संजय दत्त, आर माधवन लगायतको अभिनय छ। फिल्मले अन्तर्राष्ट्रिय अपराध सञ्जाल र राष्ट्रिय सुरक्षासँग सम्बन्धित कथालाई केन्द्रमा राखेको छ।
यसको दोस्रो भाग सन् २०२६ को मार्चमा रिलिज हुने तय छ।