रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको बलिउड फिल्म 'धुरन्धर' एक हजार करोड क्लबमा प्रवेश गरेको छ।
फिल्मले विश्वव्यापी बक्स अफिसमा २१ दिनमै एक हजार करोडभन्दा माथिको कमाइ गरेको हो।
फिल्मले २१ दिनको अवधिमा विश्वभर गरेर करिब १००६.७ करोड भारूभन्दा बढीको कारोबार गरेको निर्माता कम्पनी जिओ स्टुडिओले जनाएको छ। निर्माताका अनुसार फिल्मले भारतमा मात्रै ७८९.१८ करोड र ओभरसिज २१७.५० करोड भारू कमाएको हो।
आदित्य धर निर्देशित स्पाइ-थ्रिलर 'धुरन्धर' डिसेम्बर ५ मा रिलिज भएको थियो। यसले नयाँ रिलिज 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' लाई पनि बक्स अफिस प्रतिस्पर्धामा पछाडि पारेको छ।
क्रिसमसको दिन मात्रै 'धुरन्धर' ले भारतमा करिब २८ करोड भारू आम्दानी गरेको थियो। यो फिल्म सन् २०२५ को सबभन्दा धेरै कमाउने भारतीय फिल्म समेत बनेको छ।
विश्वव्यापी कमाइमा 'धुरन्धर' ले 'एनिमल', 'स्त्री २' जस्ता ठूला फिल्महरूलाई पछि पारेको छ। फिल्ममा रणवीर र अक्षयसहित संजय दत्त, आर माधवन, अर्जुन रामपाल, सारा अर्जुन, राकेश बेदीलगायतको अभिनय हेर्न सकिन्छ।
नेपालमा समेत फिल्म प्रदर्शनरत छ।