बलिउड तथा दक्षिण भारतीय फिल्म उद्योगका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डाले विवाहको तयारी गरेका छन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेको अनुमान गरिँदै आएका यी दुई अब वैवाहिक जीवनमा बाँधिन लागेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।
मिडिया रिपोर्टका अनुसार रश्मिका र विजयको विवाह आगामी सन् २०२६ फेब्रुअरी २६ तारिखमा हुने तयारी भइरहेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार राजस्थानको उदयपुरस्थित एक ऐतिहासिक महलमा विवाह हुने तयारी भइरहेको छ। विवाह समारोहलाई अन्यन्तै निजी बनाइने र समारोहमा परिवारका सदस्य तथा नजिकका आफन्त तथा केही साथीहरू मात्र सहभागी गराइने बताइएको छ।
यसअघि दुवैले हैदराबादमा गोप्य रूपमा इन्गेजमेन्ट गरिसकेको दाबी पनि केही भारतीय संचारमाध्यमहरूले गरेका छन्। यद्यपि, रश्मिाका र विजयले आफूहरूको सम्बन्ध र विवाहबारे सार्वजनिक रूपमा कुनै आधिकारिक घोषणा गरेका छैनन्।
यो जोडीले सन् २०१८ को हिट फिल्म 'गीता गोविन्दम' र २०१९ को फिल्म 'डियर कमरेड' मा अभिनय गरेका थिए। पर्दामा उनीहरूको केमेस्ट्रि दर्शकहरूले निकै रूचाएका छन्।
उनीहरूले न्यूयोर्कमा ४३ औं इन्डिया डे परेडको नेतृत्व गरेका थिए र यस वर्ष भारत बियोन्ड बोर्डर्स नामक कार्यक्रममा समेत भाग लिएका थिए।