भारतीय फिल्म 'धरन्धर' ले विश्वव्यापी बक्स अफिसमा ११ सय करोड भारूभन्दा बढी कमाइ गरिसकेको छ।
व्यावसायिक रूपमा ठूलो सफलता पाएको फिल्ममा हालै केही शब्द तथा संवादमा परिमार्जन गरिएको छ।
भारतीय संचारमाध्यमका अनुसार फिल्मको संशोधित थिएटर संस्करण बिहीबारदेखि भारतभरका हलमा प्रदर्शनमा आएको छ।
आजतकले जनाएअनुसार फिल्मको प्रदर्शन जारी रहँदा केही शब्दलाई लिएर विवाद उत्पन्न भएपछि निर्माताले नयाँ डिजिटल संस्करण तयार पारेका हुन्। जसअन्तर्गत 'बलोच' शब्दलाई म्युट गरिएको जनाइएको छ। संशोधित संस्करणमा 'बलोच' शब्द सुनिने दृश्यमा अब ध्वनि म्युट गरिएको छ भने अन्य एक शब्द र एक संवादसमेत परिवर्तन गरिएको बताइएको छ।
आजतकका अनुसार फिल्मका वितरकहरूले डिसेम्बर ३१ मा नै भारतभरका सिनेमा हलहरूलाई इमेलमार्फत नयाँ संस्करण प्रयोग गर्न निर्देशन दिएका थिए। सो इमेलमा १ जनवरीदेखि अनिवार्य रूपमा संशोधित संस्करण मात्र प्रदर्शन गर्न अनुरोध गरिएको उल्लेख छ।
सूचना तथा प्रसारण मन्त्रालयको ध्यानाकर्षणपछि फिल्मको संवाद परिवर्तन गरिएको केही भारतीय संचारमाध्यमहरूले दाबी गरेका छन्। यद्यपि, टाइम्स अफ इन्डियाले भने मन्त्रालयले औपचारिक रूपमा कुनै निर्देशन नदिएको र परिवर्तन निर्माता पक्षकै पहलमा गरिएको हुनसक्ने उल्लेख गरेको छ। संशोधित संस्करणले कथाको मूल संरचनामा असर नपर्ने निर्माता पक्षको भनाइ उद्धित गर्दै भारतीय सचारमाध्यमहरूले समाचार प्रकाशन गरेका छन्।
रणवीर सिंहको शीर्ष अभिनय रहेको 'धुरन्धर' डिसेम्बर ५ देखि प्रदर्शनमा आएको थियो। जासुसी-थ्रिलर कथामा आधारित फिल्म आदित्य धरले निर्देशन गरेका हुन्। फिल्ममा रणवीरसँगै अक्षय खन्ना, संजय दत्त, आर.माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारहरूको अभिनय छ।
फिल्मले नेपालमा समेत १० करोड रूपैयाँभन्दा माथिको कमाइ गरेको जनाइएको छ।