बलिउड अभिनेता रणवीर सिंहको फिल्म 'धुरन्धर २ः द रिभेन्ज' ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ।
फिल्मले रिलिजकै ७ दिनमै विश्वव्यापी बक्स अफिसमा १ हजार करोड भारूको आँकडा पार गरेको थियो। यो उपलब्धिसँगै 'धुरन्धर २' अल्लु अर्जुनको 'पुष्पा २' पछि सबभन्दा छिटो १ हजार करोड क्लबमा प्रवेश गर्ने दोस्रो भारतीय फिल्म बनेको छ।
८ दिनमा फिल्मको विश्वव्यापी कमाइ १०६७ करोड भारू पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्। फिल्मले भारतमा मात्र करिब ६७० करोड भारूभन बढी नेट कमाइ गरेको छ भने ग्रस आम्दानी ८ सय करोड नाघेको छ।
यसैबीच फिल्मले बलिउडका सुपरहिट थुप्रै फिल्मको लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ। प्रभासको 'कल्की २८९८ एडी' (१०४२ करोड) साथै शाहरूख खानको 'पठान' (१०५० करोड) को लाइफटाइम कमाइलाई 'धुरन्धर २' ले उछिनिसकेको छ। अब यो फिल्म शाहरूख खानको 'जवान' (१,१०० करोड भारू) र यशको 'केजीएफः च्याप्टर २' को जीवनभरको कलेक्शन पार गर्ने बाटोमा दौडिरहेको छ।
आदित्य धरद्वारा निर्देशित 'धुरन्धर २' सन् २०२५ को डिसेम्बरमा रिलिज ब्लकबस्टर 'धुरन्धर' को सिक्वेल हो। पहिलो फिल्ममा रणवीरको चरित्र हमजाले पाकिस्तानको राजनीतिक संरचना र अन्डरवर्डमा घुसपैठ गरेको देखाइएको छ, सिक्वेलले जसकीरत सिंह रंगीको रूपमा उनको उत्पत्तिको बारेमा जानकारी दिन्छ। यसले उनलाई पाकिस्तानमा आतंकवादी सञ्जाललाई ध्वस्त पार्ने आफ्नो अभियान पूरा गर्दै लिहारीको बादशाह बन्दै गरेको पनि देखाउँछ।
फिल्ममा रणवीरसहित आर माधवन, अर्जुन रामपाल, राकेश बेदी, संजय दत्तलगायत कलाकारहरूको समेत अभिनय छ। नेपालमा समेत फिल्मले राम्रो व्यापार गरिरहेको छ।