मराठी फिल्म 'राजा शिवाजी' ले बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ। फिल्मले प्रदर्शनको चार दिनमा भारतमा नेट ३९ करोड ५० लाख भारू कमाइ गरेको हो।
रितेश देशमुख अभिनीत फिल्मले पहिलो दिनदेखि नै बलियो सुरूआत गरेको थियो। यद्यपि, प्रदर्शनको चौथो दिन सोमबार कमाइमा गिरावट आएको देखिएको छ।
भारतीय संचारमाध्यमका अनुसार चौथो दिन फिल्मले करिब ५.६ करोड भारू कमाएको छ। यसअघि पहिलो दिन ११.३५ करोड, शनिबार १०.५५ करोड र आइतबार १२ करोड भारू कमाइ गरेको थियो। यससँगै भारतभरको कुल ग्रस कमाइ ४६. ९५ करोड तथा नेट कमाइ ३९.५० करोड भारू पुगेको जनाइएको छ।
यसले मराठी फिल्मको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङको साथ नयाँ बेन्चमार्क सेट गरेको बताइएको छ। फिल्मले प्रतिक्रिया भने मिश्रित पाइरहेको छ।
'राजा शिवाजी' ऐतिहासिक कथामा आधारित बायोपिक हो, जसले मराठा साम्राज्यका योद्धा छत्रपति शिवाजी महाराज जीवन र विरासतलाई नाटकीय रूपमा प्रस्तुत गर्दछ।
यस फिल्मसँगै 'एक दिन' पनि प्रदर्शनमा आए पनि त्यसले कमाइमा ठूलो असर पारेको देखिँदैन।
जियो स्टुडियो र मुम्बई फिल्म कम्पनीद्वारा निर्मित 'राजा शिवाजी' रितेश देशमुखले निर्देशन गरेका हुन्।
फिल्ममा अभिषेक बच्चन, जेनेलिया देशमुख, संजय दत्तलगायतका कलाकारहरूको समेत अभिनय छ भने सलमान खानको विशेष उपस्थितिले दर्शकको ध्यान तानेको छ।
'राजा शिवाजी' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शन भइरहेको छ।