मराठी फिल्म 'राजा शिवाजी' ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ।
फिल्म भारतीय बक्स अफिसमा नयाँ कीर्तिमानतर्फ अग्रसर देखिएको छ। रितेश देशमुखद्वारा निर्देशित तथा अभिनीत 'राजा शिवाजी' मराठी फिल्मकै सबभन्दा धेरै कमाउने फिल्म बन्ने लक्ष्य नजिक पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।
कोईमोईको रिपोर्टअनुसार भारतमा १५ दिनमा फिल्मको नेट कमाइ ८६.२० करोड भारू पुगेको छ भने ग्रस कलेक्सन करिब १०१.७१ करोड भारू हुन आउँछ।
यो कमाइसँगै 'राजा शिवाजी' फिल्म 'सैराट' को लाइफटाइम कलेक्सनलाई उछिन्ने यात्रामा छ। नागराज मञ्जुले निर्देशित 'सैराट' ९० करोड भारू नेट कमाइसँगै सर्वाधिक कमाउने मराठी फिल्मको शीर्षस्थानमा छ।
यो आँकडा पार गरेपछि 'राजा शिवाजी' मराठी सिनेमाको इतिहासमा सबभन्दा धेरै कमाउने फिल्म बन्नेछ। त्यसपछि निर्माताहरूको लक्ष्य १०० करोड क्लब प्रवेश गर्ने हुनेछ, जुन मराठी सिनेमाका लागि पहिलो हुनेछ।
यो फिल्ममा रितेश देशमुखसहित सञ्जय दत्त, विद्या बालन र जेनेलिया देशमुखलगायतको अभिनय छ।
यो फिल्म नेपालमा पनि एकसाथ रिलिज भएको थियो। अहिले भने धेरैजसो हलबाट उत्रिसकेको छ।