थिएटरमा बलियो प्रदर्शनपछि बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २ः द रिभेन्ज' ओटिटी रिलिजको तयारीमा छ।
एक्सन थ्रिलर यो फिल्म जुन ४ (जेठ २१)मा जियोहटस्टारमा डिजिटल प्रिमियर हुने भएको हो। प्रिमियरपछि फिल्म जुन ५ देखि नियमित स्ट्रिमिङको लागि उपलब्ध हुनेछ।
भारतीय संचारमाध्यमका अनुसार ओटिटी संस्करणमा थिएटर रिलिजमा नदेखाइएका केही दृश्य समेत समावेश हुने भएको छ।
फिल्मफेयरमा प्रकाशित समाचारअनुसार फिल्मको डिजिटल संस्करणलाई 'अनकट' स्वरूपमा प्रस्तुत गर्ने तयारी गरिएको हो। रिपोर्टमा उल्लेख भएअनुसार थिएटर रिलिजका क्रममा हटाइएका केही दृश्य ओटिटीमा समावेश गरिनेछ।
फिल्मफेयरले स्रोतलाई उद्धृत गर्दै लेखेको छ, 'ओटीटी संस्करणमा दर्शकले थिएटरमा नदेखेका केही दृश्य हेर्न पाउनेछन्।' रिपोर्टअनुसार डिजिटल रिलिजका लागि तयार गरिएको संस्करणमा केही विस्तारित एक्सन दृश्य र अतिरिक्त सिक्वेन्स थपिएको बताइएको छ।
हाल सामाजिक सञ्जालमा पनि फिल्मको ओटीटी संस्करणबारे चर्चा भइरहेको छ। विशेषगरी 'अनकट' संस्करणमा कथा र एक्सनलाई अझ विस्तृत रूपमा देखाइएको दाबी गरिएको छ। यद्यपि, निर्माण पक्षले कुन-कुन दृश्य थपिएको हो भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
आदित्य धर निर्देशित यस फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन्। फिल्मले नेपालमा समेत ठूलो कमाइ गरेको थियो।