अभिनेता शाहिद कपूर, अभिनेत्रीहरू कृति सेनन र रश्मिका मन्दना अभिनीत फिल्म 'ककटेल २' ले प्रदर्शनको पहिलो सातामा भारतीय बक्स अफिसमा ७० करोड भारूभन्दा बढी कमाइ गरेको छ।
ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले प्रदर्शनको सातौं दिन अर्थात् बिहीबार भारतमा ४.१५ करोड भारू नेट कमाइ गर्दै पहिलो साताको कुल कमाइ ७०.४० करोड भारू पुर्याएको हो।
बुधबार फिल्मले ५.२५ करोड भारू कमाएको थियो।
फिल्मले पहिलो दिन १३.५० करोड भारूको ओपनिङ गरेको थियो। त्यसपछि शनिबार १६.२५ करोड र आइतबार १७.७५ करोड भारू कमाउँदै उत्कृष्ट सप्ताहन्त बितायो। सोमबार कलेक्सन घटेर ६.७५ करोडमा झरे पनि मंगलबार पनि सोही बराबरको कमाइ कायम राख्न सफल भयो।
पहिलो साताको कमाइसँगै 'ककटेल २' ले शाहिद कपूर अभिनीत फिल्म 'देवा' को ३४.३७ करोडको लाइफटाइम कमाइलाई धेरै पछि छाडेको छ।
अब यो शाहिदकै अघिल्लो फिल्म 'ओ रोमियो' को ७२.९९ करोड भारूको लाइफटाइम कमाइ पार गर्ने तयारीमा देखिन्छ।
यस्तै, शाहिद र कृति सेननको जोडी रहेको 'तेरी बातों में ऐसा उल्झा जिया' को ८५.१६ करोड भारूको लाइफटाइम कमाइलाई पनि उछिन्ने लक्ष्यमा फिल्म अघि बढिरहेको छ।
होमी अदजानिया निर्देशित 'ककटेल २' लभ रञ्जन र तरूण जैनले सह-लेखन गरेका हुन्। दिनेश विजन, लभ रञ्जन र अंकुर गर्गले म्याडक फिल्म्स र लभ फिल्म्सको ब्यानरमा निर्माण गरेको यो फिल्म सन् २०१२ मा प्रदर्शन भएको सुपरहिट 'ककटेल' को स्पिरिचुअल सिक्वेल हो।
फिल्मको कथाले कलेजदेखि प्रेम सम्बन्धमा रहेका कुणाल (शाहिद कपूर) र दिया (रश्मिका मन्दना) को जीवनलाई पछ्याउँछ। विवाहप्रति दुवैको फरक धारणा रहेको अवस्थामा उनीहरूको सिसिली भ्रमणका क्रममा दियाकी साथी एली (कृति सेनन) सँगको भेटले सम्बन्धमा नयाँ मोड ल्याउँछ। त्यसपछि उत्पन्न हुने प्रेम, प्रतिबद्धता र सम्बन्धका जटिलताहरू फिल्मको मुख्य कथावस्तु बनेका छन्।
'ककटेल २' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शन भइरहेको छ।