भारतीय अभिनेता अक्षय कुमार अभिनीत कमेडी-एक्सन फिल्म 'वेलकम टु द जंगल'ले बक्स अफिसमा बलियो सुरूआत गरेको छ।
शुक्रबार सामान्य ओपनिङ गरेको फिल्मले शनिबार र आइतबार व्यापारमा वृद्धि गर्दै पहिलो सप्ताहन्तको अन्त्यसम्म विश्वव्यापी रूपमा ९३.४५ करोड भारू कमाउन सफल भएको हो।
ट्रेड ट्रयाकर स्याकनिल्कका अनुसार फिल्मले आइतबार भारतमा २४.७५ करोड भारू नेट कमाउँदै तीन दिनमा कुल ६३.७५ करोड भारू नेट कलेक्सन गरेको छ। भारतमा यसको ग्रस कमाइ ७६.५० करोड भारू पुगेको छ भने विदेशी बजारबाट १६.९५ करोड संकलन गर्दै विश्वव्यापी कमाइ ९३.४५ करोड भारू पुर्याएको हो।
पहिलो सप्ताहन्तको उत्कृष्ट व्यापारसँगै फिल्म यस वर्षको ठूलो ओपनिङ गर्ने बलिउड फिल्ममध्ये एक बनेको छ। अब फिल्म एक सय करोड क्लब नजिक पुगेको छ।
अहमद खान निर्देशित 'वेलकम टु द जंगल' मा अक्षय कुमार, सुनील शेट्टी, परेश रावल, दिशा पटानी, ज्याकलिन फर्नान्डिस, अरशद वारसी, ज्याकी श्राफ, रवीना टण्डन, लारा दत्ता, फरिदा जलाल, जोनी लिभर, श्रेयस तलपडे, तुषार कपूर, राजपाल यादव, कृष्णा अभिषेक, किकु शारदालगायत कलाकारहरूको अभिनय छ।
'वेलकम टु द जंगल' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शन भइरहेको छ।