भारतीय फिल्म 'ककटेल २' को बक्स अफिस कमाइमा दोस्रो सोमबार उल्लेख्य गिरावट आएको छ।
शाहिद कपूर, कृति सेनन र रश्मिका मन्दना अभिनीत फिल्मले सोमबार भारतमा १.७५ करोड भारू नेट कमाइ गरेको हो। योसँगै जुन १९ देखि प्रदर्शनमा आएको फिल्मले भारतमा कुल ८४.९० करोड भारूको व्यापार गरेको छ।
ट्रेड वेबसाइट स्याक्निल्कका अनुसार यसअघि फिल्मले दोस्रो शनिबार ४.२५ करोड र आइतबार ४.४० करोड भारू कमाएको थियो। पहिलो सातामा ७०.५० करोड भारू कमाएको फिल्मले दोस्रो शुक्रबार ४ करोड भारूको व्यापार गरेको थियो।
'ककटेल २' ले शाहिद कपूरको 'ओ रोमियो'को लाइफटाइम कमाइ (७२.९९ करोड भारू) लाई उछिनेको छ। यद्यपि, शाहिद र कृति अभिनीत 'तेरी बातों में ऐसा उल्झा जिया' (८५.१६ करोड भारू) को कमाइलाई पार गर्न भने अझै बाँकी छ।
होमी अदजानियाको निर्देशनमा बनेको 'ककटेल २' सन् २०१२ मा प्रदर्शनमा आएको 'ककटेल' को आध्यात्मिक सिक्वेल हो।
फिल्ममा शाहिद, रश्मिका र कृतिको मुख्य भूमिका रहेको छ। आधुनिक सम्बन्ध, प्रतिबद्धता र प्रेमको बदलिँदो स्वरूपलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ।
'ककटेल २' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शन भइरहेको छ।