आलिया भट्ट र शर्वरी अभिनीत यशराज फिल्म्सको पहिलो महिला-प्रधान स्पाइ फिल्म 'अल्फा' ले बक्स अफिसमा सुखद् सुरूआत गर्न नसके पनि दोस्रो दिन कमाइमा सामान्य सुधार गरेको छ।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन भारतमा ९.२५ करोड भारू नेट कमाइ गरेको थियो। दोस्रो दिन २१ प्रतिशतको वृद्धि गर्दै करिब ११.२५ करोड भारू नेट कमाइ गरेको ट्रेड ट्र्याकर स्याकनिल्कले जनाएको छ।
यससँगै फिल्मको दुई दिनको कुल भारतीय नेट कमाइ २० करोड ५० लाख भारू पुगेको छ। यद्यपि, यशराज स्पाइ युनिभर्सका अन्य फिल्महरूको तुलनामा 'अल्फा'को प्रदर्शन निकै कमजोर देखिएको छ।
ऋतिक रोशन र जूनियर एनटीआर अभिनीत 'वार २'ले प्रदर्शनको दोस्रो दिन ५७.८५ करोड भारू कमाएको थियो।
शाहरूख खानको 'पठान'ले दोस्रो दिन ७०.५० करोड भारू कमाएको थियो भने सलमान खान अभिनीत 'टाइगर ३' ले ५९.२५ करोड भारू कमाइ गरेको थियो।
यी तथ्यांकले 'अल्फा'लाई यशराज स्पाइ युनिभर्सकै अहिलेसम्मको सबभन्दा कमजोर सुरूआत गर्ने फिल्म बनाएको छ।
शिव रवैल निर्देशित 'अल्फा'मा आलिया र शर्वरीसँगै अनिल कपूर र बबी देओलको पनि महत्वपूर्ण भूमिका छ। साथै, ऋतिक रोशनले पनि विशेष भूमिका निर्वाह गरेका छन्।
'अल्फा' नेपालका सिनेमा हलहरूमा समेत शुक्रबारदेखि नै प्रदर्शन भइरहेको छ।