म मरेपछि मेरो लासको पोस्टमर्टम गर्न नदिनू है प्रिय
मुटुमा तिम्रो नाम भेटिँदा अनुसन्धानमा फसौली...!
*
जुनेली रातमा, स्टेयरिङ छ हातमा,
रमाउन पाउँदिनँ म परिवारको साथमा...!
खासगरी मालवाहक ट्रकको पछाडि थोरै शब्दमा मनोभाव पोखिएका यस्ता सिर्जनात्मक अभिव्यक्ति हामी धेरै देख्छौं। यस्ता अभिव्यक्ति देशको राजनीतिदेखि सामाजिक बेथिति, जीवनमा आइपर्ने सुखदुःख, प्रेम, वैंस र आफ्ना इच्छाहरूमाथि केन्द्रित हुन्छन्।
यति मात्र होइन, ट्रक चालकहरू आफूले चलाउने गाडी घरजस्तै सजाएर राख्छन्। कतिले स्टेयरिङ र गियरमा रंगीचंगी धजा बाँधेका हुन्छन् भने कतिले आकर्षक रंगरोगन गरेर चिटिक्क पारेका हुन्छन्।
ट्रकको सजावट र त्यसमा लेखिएका सिर्जनात्मक अभिव्यक्ति जम्मा गरेर तयार पारिएको छोटो फिल्म हो – सवारी साहित्य।
निर्देशक तरंगले सन् २०१८ देखि सार्वजनिक सवारीमा लेखिएका रचनाको फोटो खिचेर यो सर्ट फिल्म बनाएकी हुन्।
उनी महिनाको तीनदेखि चार वटा त्यस्ता फोटा खिच्थिन्। करिब पाँच वर्षमा उनको मोबाइलमा तीन सयभन्दा बढी फोटा जम्मा भए।
त्यसैबीच सन् २०२३ मा मिडिया स्टडिज पढ्दै गर्दा उनलाई पाँच मिनेटको फिल्म बनाउन भनिएको थियो। त्यसै निम्ति उनले आफूसँग भएका सवारी साहित्यका फोटा समेटेर सर्ट फिल्म बनाउने निधो गरिन्।
धेरैजसो निर्देशक सर्ट फिल्ममा दुःख र बेथिति झल्काउन चाहन्छन्। तरंगलाई भने आफूले बनाउने फिल्ममा केही नयाँपन आओस् भन्ने चाहना थियो।
जसरी ट्रक चालकहरू आफ्नो गाडी सजाउँछन्, उनी पनि आफ्नो फिल्म त्यसरी नै सजाउन चाहन्थिन्। जसरी ट्रकमा थोरै शब्दमा ठूलो कुरा भन्ने अभिव्यक्ति लेखिन्छ, उनी पनि आफ्नो छोटो फिल्मले ठूलो कुरा भनोस् भन्ने चाहन्थिन्।
'यही सोच राखेर मैले ट्रककै स्टाइलमा यो फिल्म बनाएकी हुँ,' तरंगले भनिन्, 'यसमा मैले प्रशस्त रङ भरेकी छु। चालकहरूले आफ्नो रमाइलोका लागि लेख्ने भावपूर्ण शायरीहरूलाई उही भाव र उही रमाइलोका साथ प्रस्तुत गरेकी छु।'
सर्ट फिल्म बनाउनुअघि उनले गत वर्ष जेठमा सिद्धार्थ आर्ट ग्यालेरीमा 'सवारी कथाहरूः आर्ट इन मोसन' शीर्षकको प्रदर्शनी गरेकी थिइन्। त्यसमा ७० भन्दा बढी सवारी साहित्यका तस्बिर राखिएका थिए। उक्त प्रदर्शनी धेरै दर्शकले मन पराए। त्यसैबाट सर्ट फिल्म बनाउने प्रेरणा पाएको उनले बताइन्।
तरंगले यो फिल्म बनाउन किम्फको टोनी हेगन अनुदान पाएकी थिइन्। उक्त अनुदानले फिल्म बनाउन ठूलो सहयोग पुर्याएको उनको भनाइ छ।
-1749377503.jpg)
फिल्म निर्माण क्रममा उनले सबभन्दा पहिला किन ट्रक ड्राइभरहरू पैसा तिरी तिरी आफ्नो गाडीमा शायरी लेखाउँछन् भनेर खोजी गरिन्। यसका लागि उनले सवारी चालक सुनिल पौडेलसँग सम्पर्क गरिन्। सुनिल युट्युब च्यानल पनि चलाउँछन्। उनी आफूले गाडी हाँकेका भिडिओहरू युट्युबमा राख्ने गर्छन्।
सुनिलले फिल्म छायांकन गर्न एकदम सहयोग गरेको तरंग बताउँछिन्। यो फिल्मको छायांकन भैरहवामा गरिएको हो। पाँच दिन छायांकन गरिएको सर्ट फिल्म सम्पादन गर्न दुई महिना लागेको थियो।
फिल्मको सुरूआत एउटा गीतबाट हुन्छ। उनले त्यो गीत रेडियोमा बजिरहेको शैलीमा प्रस्तुत गरेकी छन्।
'मेरो निर्माण टिमले ट्रकमा गीत बजिरहन्छ, त्यही स्टाइलमा राखौं भन्ने सुझाव दियो,' उनले भनिन्, 'मलाई सुझाव मनपर्यो। यो गीत म र मेरी बहिनी स्मारिकाले मिलेर तयार पारेका हौं।'
तरंगको यो सर्ट फिल्म जेठ १४ देखि १८ गतेसम्म काठमाडौं भएको अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२औं संस्करणमा प्रदर्शन गरिएको थियो। यो फिल्मबाट उनले आफ्नो नयाँ नाम पनि जुराएकी थिइन्।
उनको खास नाम ऊर्जा आचार्य हो। फिल्म निर्माण लगायतका सिर्जनशील कामहरू तरंगको नाममा गर्ने उनले निर्णय गरेकी छन्।
'मलाई बाल्यकालदेखि नै फिल्ममा रूचि थियो। फिल्म भनेको मनोरञ्जनको साधन मात्र होइन, आफ्नो सिर्जना प्रस्तुत गर्ने राम्रो माध्यम हो भन्ने मलाई लाग्छ,' उनले भनिन्, 'यो सर्ट फिल्म बनाएर मैले सानैदेखिको आफ्नो धोको पूरा गरेकी छु। यसले मलाई शान्ति र सन्तुष्टि दुवै दिएको छ।'
उनी अब फिल्म निर्माणलाई निरन्तरता दिन चाहन्छिन्। उनीसँग अहिले दुइटा फिल्मको कथा तयार छ।
'कथाहरू दिमागमा उडिरहेका छन्,' उनले भनिन्, 'दुइटा कथा भने निरन्तर दिमागमा घुमिरहेको छ। यीमध्ये कुन फिल्म बनाउने, त्यो निधो गर्न सकेकी छैन।'
***