कलाकारहरूको सोसल मिडिया म्यानेजरका रूपमा सक्रिय सन्तोष सापकोटा पछिल्लो समय गीतकारका रूपमा चिनिन थालेका छन्।
दुई वर्षअघि उनले लेखेको पहिलो गीत 'बस्यौ अलक्कै' नै हिट भयो। त्यसपछि उनले लेखेको अर्को गीत 'दुख साटम्ला' पनि निकै रूचाइयो। त्यसयता सन्तोषको लेखनमा 'मनै मरी गो', 'धुरू धुरू मन', 'रूमाल किरेमिरे', 'सोल्टिनी उखुमै मनपर्यो', 'झलिको', 'बाँचेकै छु रे' लगायतका थुप्रै गीत बजारमा आइसकेका छन्। यीमध्ये गत महिना सार्वजनिक 'झलिको' ले पछिल्लो समय निकै चर्चा पाइरहेको छ।
रिलिजको एक महिनामै अर्जुन सापकोटा, मेलिना राई र समीक्षा अधिकारीको स्वर रहेको यो गीतको भिडिओलाई युट्युबमा १ करोड ७० लाखभन्दा बढीपटक हेरिएको छ।
सन्तोषका अनुसार उनको गीत लेखन यात्रा योजनाबद्ध होइन्। उनी यसलाई रूचि र आत्मसन्तुष्टिको उपज बताउँछन्।
'सुन्ने रूचि पहिल्यैदेखि थियो। बाल्यकालदेखि नै', उनी भन्छन्, 'गीत सुन्दा-सुन्दै टुक्काहरू बटारेर 'म भए यस्तो बनाउँथे होला' भन्ने सोच आइरहन्थ्यो।'
गीतकारका रूपमा उनको पहिलो औपचारिक पाइला गायक अर्जुन सापकोटासँगको सहकार्यबाट सुरू भयो।
सन्तोषले सम्झिँदै भने, 'उहाँले एउटा टुक्कासहित 'बस्यौ अलक्कै' को फ्रेम बनाएर पठाउनुभयो। 'यो सुन अनि लेख' भन्नुभयो। सोसल मिडियामा साहित्यिक स्टाटसहरू लेखिरहन्थेँ। सोहीकारण उहाँलाई सायद म गीत लेख्न सक्छु भन्ने विश्वास थियो।'
अर्जुनको विश्वासमा सन्तोषले लेखेको गीत 'बस्यौ अलक्कै' जब रेकर्ड भएर बजारमा आयो, स्रोता/दर्शकको मन जित्यो। सन्तोषले लेखेको पहिलो गीत नै करोड क्लबमा प्रवेश गर्न सफल भयो।
'त्यो सफलताले झन ऊर्जा दियो। लेखिरहन प्रेरित गर्यो', सन्तोष भन्छन्, 'हालसम्म दुई दर्जन हाराहारी गीत लेखेँ होला। केही सार्वजनिक हुन बाँकी छन्।'
गीत लेख्दा उनी न धेरै दबाब लिन्छन्। न उनलाई बजारको हतार छ। केवल सिर्जनाको आनन्द लिने बताउँछन्। गीत लेखनले आफूलाई आनन्द र आत्मसन्तुष्टि मिल्ने सन्तोषको भनाइ छ।
उनले भने, 'म व्यवसायिक हिसाबले गीत लेखिरहेको छैन। गीत लेख्दा मन हलुका हुन्छ। आत्मसन्तुष्टि मिल्छ। गीत-संगीत मभित्र पहिल्यैदेखि थियो। सोहीकारण लेख्दा रमाउँछु।' उनले अगाडि थपे, 'यो नै व्यवसाय हो भनेर लेखेको होइन।'
सन्तोषले सोचेका थिएनन् 'झलिको' यति हिट होला भन्ने। 'रूचाउनुहुन्छ भन्ने थियो। तर यो स्तरसम्म रूचाइएला भन्ने थिएन। यो सफलताले अझ उत्साह थलेको छ', उनले भने, 'आगामी दिनमा पनि राम्रा गीतहरू ल्याउन प्रेरित गरेको छ। त्यो कोसिस जारी रहन्छ।'
सन्तोषको सोसल मिडिया म्यानेजरका रूपमा करिअर आफ्नै दाइ पर्ने अर्जुन सापकोटाकै पेजबाट सुरू भएको थियो।
अहिले सन्तोषले अर्जुनसहित साइग्रेस पोखरेल, देवी घर्ती, एलिना चौहान, शिरीष देवकोटा, पशुपति शर्मा, फुटबलर अनिल गुरूङ लगायतको सोसल मिडिया व्यवस्थापन सम्हालिरहेका छन्।