अग्लो कद। चौडा छाती। मिलेको ज्यान। अनुहारमा चमक। हावामा लहराइरहेको कपाल।
ऊ आउँदा पृष्ठभूमिमा संगीत चर्किन्छ। उसले एक मुक्का हान्दा पाँच जना हावामा उड्छन्।
ऊ प्रेम गर्छ, गीत गाउँछ। ऊ असल छोरा हो, असल साथी पनि। असल पिता पनि उही, असल पति पनि।
जिन्दगीमा लाख अप्ठ्यारा आओस्, जित सधैं उसैको हुन्छ। शत्रुहरूले जतिसुकै घेरून्, अन्त्यमा खलनायकलाई उसैले हराउँछ।
र, आखिरीमा दर्शकको ताली खाँदै ऊ पर्दाबाट बिदा हुन्छ।
ऊ हो, लामो समय हिन्दी सिनेमाको पर्दामा राज जमाएको 'हिरो'।
अनि आउँछ, एक आँधी — जसको चालढाल बलिउडका यी परम्परागत हिरोभन्दा बिल्कुलै भिन्न छ। उसको अनुहारमा न 'चक्लेटी' चमक छ, न आवाजमा प्रेमिल मिठास।
न आँखा स्थिर, न बोलीमा भावुकता।
ऊ न असल छोरा हुन्छ, न असल साथी। न असल पिता, न असल पति।
ऊ मानसिक समस्यामा छ। मनमा लाख पीडा छन्। दु:खकष्टसँग जुधिरहेको छ। शत्रुहरूबाट हारिरहेको छ।
तैपनि ऊ आखिरीमा दर्शकको ताली खाँदै पर्दाबाट बिदा हुन्छ।
बलिउडमा 'हिरो' को परिभाषा बदलेका उनी हुन् — नाना पाटेकर।
नायक हुन सुन्दर देखिनुपर्दैन, पटकथाको पात्रजस्तै देखिनुपर्छ भनेर नयाँ मानक स्थापित गरेका उनै नाना पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा निधन भएको छ। उनी ७५ वर्षका थिए।
हृदयाघातपछि अस्पताल पुर्याइएका उनलाई डाक्टरहरूले करिब ४५ मिनेटसम्म बचाउने प्रयास गरेका थिए। तर सकेनन्।
उनको निधनसँगै हिन्दी सिनेमाले एक कुशल कलाकार गुमाएको छ। तर उनको जीवनले हिन्दी सिनेमालाई 'हिरो' को नयाँ परिभाषा दिएर गएको छ।
जब पर्दामा एउटा 'हिरो' होइन, एउटा आममान्छे आयो
सन् १९७८।
नाना पाटेकरले 'गमन' बाट फिल्ममा पाइला राखे। कुनै भव्य लन्च थिएन। विशाल पोस्टरमा उनको अनुहार थिएन। स्टारडमको रातारात ढोका खुलेन। उनी मराठी रंगमञ्च र सिनेमाबाट बिस्तारै अघि बढिरहेका थिए।
सन् १९८४ को 'आज की आवाज' ले उनलाई हिन्दी सिनेमामा पहिचान दियो।
अनि सन् १९८६ मा आयो, 'अंकुश' जसमा नाना पाटेकरले एक यस्तो युवकको भूमिका गरे, जसमा आक्रोश थियो, बेरोजगारीको पीडा थियो, समाजप्रतिको असन्तुष्टि थियो। समग्रमा भन्दा, उनी त्यति बेला एक आम भारतीय नागरिक थिए।
चार बेरोजगार युवाको कथा बोकेको फिल्ममा नानाको बोल्ने शैली, रिस र आँखाको भावमा दर्शकले आफ्नै झझल्को देखे।
त्यो नायक फूल बोकेर गीत गाउँथेन। ऊ रिसाउँथ्यो। चिच्याउँथ्यो। असहमत हुन्थ्यो। बेचैन हुन्थ्यो।
र, दर्शकले आफ्नै प्रतिबिम्ब देखेका यी नायकलाई सहर्ष स्वीकार गरे।
त्यहीँबाट नानाको आफ्नै 'भाषा' बन्न थाल्यो — छिटोछिटो आउने संवाद, अचानक चर्किने आवाज, गहिरो नजर, अनुहारमा जम्मा भएको रिस र शरीरको सानो हाउभाउबाटै चरित्रको मनोविज्ञान देखाउने शैली।
उनको अभिनयमा कुनै बनावट थिएन।
यस्तो लाग्थ्यो, सडकमा हिँडिरहेको एक नागरिक सर्लक्कै सिनेमाको पर्दामा उभिएको छ।
यही सजीव अभिनयको बलमा सन् १९८० दशकको अन्त्यसम्म आइपुग्दा उनी एक गम्भीर अभिनेताका रूपमा स्थापित भए।
मिरा नायरको 'सलाम बम्बे' मा उनको अभिनयले प्रशंसा पायो। सन् १९८९ को 'परिन्दा' ले उनलाई राष्ट्रिय चलचित्र पुरस्कार दिलायो।
पुरस्कार पाए पनि एउटा शब्द उनको पछाडि लागिरह्यो — सहायक अभिनेता।
उनी अभिनयका लागि प्रशंसा पाउँथे, तर ठूला फिल्मका पोस्टरमा अरू नै नाम अगाडि हुन्थे।
यहीँबाट नानाको अर्को लडाइँ सुरू भयो — आफ्नो अभिनयका लागि होइन, आफ्नो ठाउँका लागि।
सन् १९९१ मा 'प्रहार' निर्देशन गर्दै उनी आफै मुख्य भूमिकामा आए। अवकाशप्राप्त सैनिक अधिकृतको कथा थियो, जसले न्यायका लागि आफ्नै बाटो रोज्छ।
तर उनको करिअरको निर्णायक मोड अझै आउन बाँकी थियो।
त्यो आयो — 'तिरंगा' र 'क्रान्तिवीर'।
'तिरंगा' मा राजकुमारजस्ता स्थापित कलाकारसँग उभिएर पनि नानाले आफूलाई केन्द्रमा ल्याए। अनि 'क्रान्तिवीर' मा उनी त्यही नाना बने, जसलाई बलिउडले अब बेवास्ता गर्न सक्दैनथ्यो।
फिल्ममा उनको पात्र विद्रोही थियो। व्यवस्था र अन्यायसँग भिड्ने मान्छे।
संयोग कस्तो भने, पर्दाबाहिरका नाना पनि बलिउडको स्थापित व्याकरणसँग भिडिरहे जस्ता देखिन्थे।
'क्रान्तिवीर' ले उनलाई उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार दिलायो। अब उनलाई 'सहायक अभिनेता' भनेर चिनाउन गाह्रो थियो।
नाना पाटेकर अब बलिउडका हिरो थिए।
तर रोचक कुरा के थियो भने उनले हिरो बन्न परम्परागत हिरोको रूप धारण गरेनन्। उनी हिरो बने, तर हिरो जस्तो बनेनन्। उनले आफ्नो अनुहार बदलेनन्। आफ्नो आवाज नरम बनाएनन्। शरीरलाई परम्परागत एक्सन हिरोको ढाँचामा ढाल्न खोजेनन्।
यही नै नानाको सबभन्दा ठूलो विद्रोह थियो।
त्यसपछि उनी कहिले प्रहरी बने, कहिले सैनिक, कहिले खलनायक, कहिले समाजसँग लडिरहेको साधारण मान्छे।
उनी एउटा भूमिकाबाट अर्को भूमिकामा जाँदा स्टारको छवि बोकेर हिँड्दैनथे। पात्र बोकेर हिँड्थे।
'अब तक छप्पन' मा प्रहरी अधिकारीको भूमिकामा उनको संवादभन्दा मौनता बलियो थियो। 'राजनीति' मा उनको उपस्थिति अर्कै किसिमको थियो। 'नटसम्राट' मा उनी रंगमञ्चका वृद्ध कलाकार बने।
हरेक पटक अनुहार उही थियो। तर मान्छे फरक।
यही नै त हो, कलाकारको शक्ति!
नानाको करिअरमा तीनवटा राष्ट्रिय चलचित्र पुरस्कार, चारवटा फिल्मफेयर पुरस्कार र पद्मश्रीजस्ता सम्मान आए। 'परिन्दा' र 'अग्निसाक्षी' का लागि सहायक अभिनेताको राष्ट्रिय पुरस्कार र 'क्रान्तिवीर' का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार उनले जिते।
पुरस्कारको सूचीमा सबभन्दा ठूलो थियो — उनले अभिनेताका रूपमा बनाएको फराकिलो ठाउँ।
त्यसै क्रममा एकदिन उनले आफ्नो गम्भीर छवि बदले र दर्शकहरूलाई हँसाउन आए।
सन् २००७ मा रिलिज भएको 'वेलकम' मा नानाले खेलेको उदय शेट्टीको भूमिकाले कमेडीको मानक पनि बदलिदियो।
उनको आवाज त उस्तै गम्भीर आवाज थियो। अनुहारमा रिस पनि झल्किन्थ्यो। धम्की दिने शैली उही। तर यसपटक दर्शक उनीसँग डराएनन्।
बरू हाँसे।
धेरै हाँसे।
'वेलकम' को उदय शेट्टीले नानाको अर्को ढोका खोलिदियो। उनले आफूलाई गम्भीर भूमिकामा मात्र सीमित राखेनन्। उनले फेरि एकचोटि आफ्नो छवि भत्काए।
जो पर्दामा अन्यायविरूद्ध चिच्याउँथ्यो, त्यही मान्छे केही वर्षपछि दर्शकलाई पेट मिचीमिची हँसाइरहेको थियो।
यसबाट नानाले आफ्नो अभिनयको दायरा अझ फराकिलो पारे।
'क्रान्तिवीर' को आक्रोश होस् वा 'वेलकम' को उदय शेट्टी, 'अब तक छप्पन' को प्रहरी होस् वा 'नटसम्राट' को वृद्ध रंगकर्मी — नाना पर्दाबाट बाहिर आएपछि पनि दर्शकको स्मृतिमा बाँचिरहे।
उनको अभिनयमा एउटा कुरा सधैं थियो — पूर्ण नियन्त्रणमा रहेको अराजकता।
उनी कराउँदा पनि अभिनयजस्तो लाग्दैनथ्यो। चुप लाग्दा पनि दृश्य खाली हुँदैनथ्यो।
उनको अनुहारमा संवादभन्दा पहिले कथा सुरू हुन्थ्यो।
पर्दाभन्दा बाहिरको अर्को अध्याय
नानाको जीवन केवल फिल्मको सफलताको कथा थिएन।
उनको व्यक्तित्व विवादबाट पनि मुक्त रहेन। तनुश्री दत्ताले २००८ मा 'हर्न ओके प्लिज' को छायांकन क्रममा उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्।
नानाले आरोप अस्वीकार गरे। २०१८ मा यो विषय भारतको 'मीटू' बहससँगै पुनः चर्चामा आयो।
पछि यो आरोप पुष्टि भएन।
तर विवादहरूभन्दा अलग, उनको सिनेमाको प्रभाव अस्वीकार गर्न कठिन छ। उनी त्यस्तो समयका अभिनेता थिए, जब बलिउडमा 'हिरो' बन्न निश्चित ढाँचा चाहिन्थ्यो। उनले त्यो ढाँचामा आफूलाई फिट गरेनन्। ढाँचा नै बदलिदिए।
आज गोवाको एउटा घरमा नानाको शरीर शान्त छ।
बिहान उनको निधनको खबर फैलिँदै गर्दा भारतीय सिनेमाले आफ्नो एउटा अनौठो आवाज गुमाएको छ।
तर हिन्दी सिनेमाको पर्दा र दर्शकहरूको सम्झनामा उनी सधैं जीवित रहने छन्।
कहिले 'क्रान्तिवीर' बनेर।
कहिले 'अब तक छप्पन' को सादु बनेर।
कहिले 'नटसम्राट' को गणपत बेलवलकर बनेर।
अनि कहिले 'वेलकम' को उदय शेट्टी बनेर।
नाना पाटेकरले बलिउडलाई एउटा ठूलो गुन लगाएका छन् — नायक हुन नायकजस्तो देखिनुपर्दैन।
सायद, उनको जीवनले हामी सबैलाई लगाएको गुन पनि यही हो — नायक हुन नायकजस्तो देखिनुपर्दैन।
***