गुड फ्राइडे सिनेमा
इरानमा महिलाले सार्वजनिक ठाउँमा गीत गाउन पाउँदैनन्। तर सेतीको मनभित्र भने सधैं एउटा धुन गुन्जिरहन्छ। उनलाई गाउन मन छ, आफ्नो स्वर कसैले सुनोस् भन्ने चाहना छ।
एक दिन उनी सडकमै गाउन थाल्छिन्। बाटो हिँड्नेहरू रोकिन्छन्, कसैले मोबाइलमा भिडिओ खिच्छ। त्यही सानो भिडिओ सामाजिक सञ्जालमा डुल्दै जान्छ, र हेर्दाहेर्दै सेती चिनिन थाल्छिन्।
तर चर्चाको त्यो लहरसँगै उनको जीवनमा खतरा पनि आउन थाल्छ।
इरानी स्वतन्त्र फिल्म 'बिदाद' को कथा यहीँबाट सुरू हुन्छ।
सन् २०२५ मा बनेको यो फारसी भाषाको फिल्म एउटी गायिकाको संघर्षमा मात्र सीमित छैन। सेतीको यात्रामार्फत यसले महिलाको स्वतन्त्रता र अभिव्यक्तिमाथि समाजले लगाउने बन्देजको कथा पनि भन्छ।
सामान्यतया गीत गाउनु भनेको रमाइलो र कलाको एउटा रूप हो। तर जुन समाजमा महिलाको स्वर नै निषेधित मानिन्छ, त्यहाँ त्यही साधारण गीत प्रतिरोधको भाषा बन्छ।
सेतीको आवाज जति टाढासम्म पुग्दै जान्छ, उनको व्यक्तिगत सपना पनि त्यति नै ठूलो सामाजिक प्रश्नमा परिणत हुँदै जान्छ— आफ्नो प्रतिभा देखाउने अधिकार कसले तोक्ने हो? परम्परा र अनुशासनको नाममा महिलाको उपस्थितिमाथि लगाइने नियन्त्रण कति जायज हो?
'बिदाद' को कथा पर्दामा मात्र सीमित छैन, यसको वास्तविकता पर्दाबाहिर पनि उत्तिकै गहिरो छ।
फिल्म बनाउने क्रममा निर्देशक शोहेल बेइरागी पनि जोखिमबाट अछुतो रहेनन्। इरानी अधिकारीले उनीमाथि अनुसन्धान चलाइरहेको खबर सार्वजनिक भएको थियो, जसले फिल्मले उठाएको अभिव्यक्ति स्वतन्त्रताको प्रश्नलाई झनै गाढा बनाइदिन्छ।
यही साहसका लागि होला, फिल्मले सन् २०२५ को कार्लोभी भ्यारी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विशेष जुरी पुरस्कार पनि जित्यो।
राजनीतिक गहिराइ र मुख्य पात्रको भित्री संघर्ष— यी दुवै कुराले फिल्मलाई बलियो बनाउँछन्।
सेतीको यात्रासँगै दर्शकले पनि आफैसँग एउटा प्रश्न सोध्नुपर्छ— आफ्नो आवाज सुनाउनु नै जोखिम बन्ने ठाउँमा, स्वतन्त्रताको साँचो अर्थ के हुन्छ?
'बिदाद' ले यही प्रश्नलाई मन छुने गरी उठाउँछ। यहाँ गीत केवल गीत रहँदैन, स्वतन्त्रताको हाँक बन्छ।