'आउँथ्यो दसैं आउन त पहिले नि,
यस्तो मज्जा भा’थेन कहिले नि...।'
दसैं सुरू भएसँगै सामाजिक सञ्जालमा फेरि गुञ्जिन थालेको छ यो गीत। टिकटक होस् वा फेसबुक रिल्स, कतै बालबालिका नाचिरहेका छन् त कतै युवायुवती त कतै पाका उमेरका व्यक्तिहरू गीतमा रमाइरहेका छन्।
गायक हेमन्त शर्माको शब्द, संगीत र स्वर रहेको 'आउँथ्यो दसैं' दुई वर्षअघि सार्वजनिक भएको गीत हो। हेमन्त र मेलिना राईको स्वर रहेको गीतले दुई वर्षअघि खुबै चर्चा कमाएको थियो।
गीतले गत वर्ष पनि दसैंमा राम्रो स्थान पायो। यसपालि पनि दसैं सुरू हुनुअघिदेखि नै गीतको लोकप्रियता बढिरहेको थियो।
हेमन्तका अनुसार पछिल्ला दिनमा गीतले युट्युबमा दैनिक करिब ८० हजार भ्युज पाइरहेको छ। हालसम्म गीतको कुल भ्युज एक करोड ७७ लाख नाघिसकेको छ।
दुई वर्षअघिको गीतले त्यसपछिका दसैंमा पनि यसरी चर्चा पाउँदा हेमन्त दंग छन्।
'आजकल धेरैले यो गीत सुनेपछि दसैं आएको महसुस हुन्छ भनेर प्रतिक्रिया दिनुहुन्छ,' सेतोपाटीसँगको कुराकानीमा हेमन्तले भने, 'आफूले सिर्जना गरेको गीतले दसैंको माहोल बनाउन सहयोग गरेको देख्दा निकै खुसी लाग्छ।'
उनका लागि गीतको सफलता युट्युब भ्युजमा मात्रै सीमित छैन। आफ्नो सिर्जना दसैंको भावनासँग जोडिनु र हरेक उमेर समूहका श्रोताले अपनत्व महसुस गर्नु अझ ठूलो उपलब्धि मान्छन्।
'भ्युज पनि महत्त्वपूर्ण हो। तर, मेरो सिर्जनामा मानिसहरूले आफ्नै दसैं भेटेको पाउँछु। बालबालिकादेखि पाका उमेरका मानिससम्मले रूचाएका छन्। यी सबै कुरा मेरा लागि सफलताका आधार हुन्,' हेमन्तले भने।
रोचक कुरा त के छ भने, हेमन्तको आफ्नै प्रस्तुतिमा ल्याएको यो पहिलो दसैं गीत हो। यसअघि उनले अर्को एउटा दसैं गीतमा स्वर दिएका थिए। तर, आफ्नै सिर्जनामा दसैं गीत ल्याउने आँट जुटाउन सकेका थिएनन्।
दसैं गीत बनाउने रहर भने उनलाई पहिल्यैदेखि थियो। चित्तबुझ्दो सिर्जना नबन्नु एउटा कारण थियो भने अर्को कारण थियो, पर्व गीतको छोटो आयू।
'दसैं गीतको समय एकदमै छोटो हुन्छ। मुस्किलले एक महिना पाउँछ। पाँच–सात दिन गीत चलेन भने व्यावसायिक रूपमा लगभग खेर जान्छ,' उनी भन्छन्, 'बरू प्रेम गीत बनायो भने सदाबहार बन्न सक्छ भन्ने लोभले पनि दसैं गीत बनाउन आँट आएको थिएन।'
तर हरेक वर्ष दसैं आउँदा उनलाई आफू पछि परेजस्तो महसुस हुन्थ्यो। अन्ततः उनले आफ्नै बाल्यकालको दसैं सम्झिएर गीत बनाउने निर्णय गरे।
बाल्यकालदेखि दसैं उनको सबभन्दा प्रिय चाड हो। दसैंले उनलाई विगतका रमाइला दिन सम्झाउँछ। त्यही सम्झना गीतमा उतार्न चाहन्थे उनी।
गीत लेख्दा उनले कठिन शब्द रोजेनन्। सेलरोटी, फिनी, टीका, जमरा, दक्षिणा, खसी, लंगुरबुर्जा, साथीभाइसँगको रमाइलो जस्ता सामान्य नेपालीको दसैंसँग जोडिएका विषय समेटे।
'बाल्यकालमा हामीलाई टीकाभन्दा दक्षिणाको आकर्षण बढी हुन्थ्यो। एक रूपैयाँ दक्षिणा पाउँदा पनि निकै खुसी लाग्थ्यो,' उनी सम्झिन्छन्, 'मैले आफूले भोगेको दसैंलाई सरल शब्दमा उतार्ने प्रयास गरेको हुँ। सायद त्यसैले धेरैलाई आफ्नै गीतजस्तो लागेको होला।'
गीतको सुरूआती पंक्ति तयार गर्दाको कथा पनि रोचक रहेछ। सुरूमा उनले 'आउँछ दसैं आउन त जहिले नि, यस्तो मज्जा आउँदैन कहिले नि' भन्ने भावमा गीत लेखेका थिए। गाएर पनि हेरे। तर अन्तिम मिक्सिङका क्रममा शब्द परिवर्तन गर्ने निर्णय गरे।
'मेलिना राईको स्वर राख्ने बेलातिर मैले विगतको भाव ल्याउने निर्णय गरेँ,' हेमन्त सुनाउँछन्, 'दसैंमा गाउँघर पुग्दा हरेक वर्ष यसपालिजस्तो रमाइलो कहिल्यै भएको थिएन भन्ने लाग्थ्यो। त्यही भावबाट आउँथ्यो दसैं आउन त पहिले नि भन्ने पंक्ति राखेको हुँ।'
गीतलाई पूर्ण रूपमा परम्परागत मात्रै बनाउँदा युवा पुस्तासम्म नपुग्ने जोखिम पनि उनले देखेका थिए। त्यसैले दसैंको संस्कृति र युवापुस्ताको रमाइलोलाई सँगसँगै अघि बढाए।
'एकातिर टीका, जमरा, रोटी र खानपिनका कुरा छन्। अर्कोतिर युवायुवतीको प्रेम, नाचगान र फोटो खिच्ने रमाइलो पनि छ,' उनी भन्छन्, 'दुवै पक्षलाई सँगसँगै लैजाँदा गीत सबैको दसैं बन्न सकेजस्तो लाग्छ।'
नयाँ गीत तयार भए पनि ल्याएनन्
'आउँथ्यो दसैं' सफल भएपछि हेमन्तलाई नयाँ दसैं गीत ल्याउन सुझाव दिनेहरू धेरै छन्।
सहकार्यका प्रस्ताव पनि आइरहेका थिए। तर उनले गत वर्ष नयाँ दसैं गीत ल्याएनन्। यसपालि पनि नल्याउने निर्णय गरे।
नयाँ गीत नभएर भने होइन। उनका अनुसार दुइटा दसैं गीत तयार अवस्थामा छन्। ती गीत दुई वर्षअघि नै लेखिएका थिए।

यसपालि त उनी नयाँ गीत रेकर्ड गरेर सार्वजनिक गर्ने सोचमा समेत पुगेका थिए। तर अन्तिम समयमा रोकिए।
किन?
यसको जबाफमा उनले भने, 'नयाँ गीत ल्याउने लोभ गर्नुभन्दा यही गीतलाई अझै हुर्किन दिनुपर्छ भन्ने लाग्यो। नयाँ गीत ल्याउँदा श्रोताको ध्यान यता दिने कि उता दिने भन्ने हुन्छ। आर्थिक लाभका लागि धेरै गीत ल्याउन हतार गरेजस्तो पनि देखिन सक्छ।'
हेमन्त चाहन्छन्, आउँथ्यो दसैं अझै हुर्कियोस् र वर्षौंसम्म नेपालीको दसैंसँग जोडिइरहोस्।
हरेक वर्ष नयाँ गीत ल्याउनैपर्छ भन्ने सोचमा उनी हुँदैनन्। बरू एउटा राम्रो सिर्जनाले लामो समयसम्म श्रोताको मन जितिरहोस् भन्ने उनको चाहना छ।
'२८ वर्ष भयो, काठमाडौंमा दसैं मनाएको छैन'
दसैं गीतमार्फत धेरैलाई चाडपर्वको रौनक बाँडेका हेमन्त आफ्नै दसैं भने गाउँमै मनाउन रूचाउँछन्। यसपालि पनि उनी जन्मथलो नवलपरासीको त्रिवेणी र रूपन्देही भैरहवास्थित घर जाने तयारीमा छन्।
दसैंमा गाउँ पुग्नु उनका लागि वर्षभरिको थकान मेटाउने अवसर समेत हो।
'गाउँ पुग्दा वर्षभरिका लागि ऊर्जा पाएजस्तो लाग्छ,' हेमन्त भन्छन्, 'पुराना साथीहरू भेटिन्छन्। कोही जागिरमा छन्, कोही विदेशमा। अरू बेला सबैसँग भेट हुँदैन। दसैंमा भने सबै गाउँ आइपुग्छन्।'

दसैंप्रतिको उनको लगाव कति गहिरो छ भने काठमाडौं बसेको २८ वर्ष भइसक्दा पनि उनले यहाँ दसैं मनाएका रहेनछन्।
'२८ वर्ष भयो काठमाडौं बसेको। तर एउटा दसैं पनि काठमाडौंमा मनाएको छैन,' उनले सुनाए, 'बीचमा केही वर्ष टीका नभए पनि गाउँ जान छाडिनँ।'
त्यति मात्रै होइन, दसैंका बेला विदेशमा कार्यक्रम राख्न पनि उनी रूचाउँदैनन्। विदेशमा हुँदा दसैं सुरू हुनुअघि नै फर्किएका अनुभव उनीसँग छन्।
'एक पटक अमेरिकामा हुँदा दसैं आउन दस दिन बाँकी थियो। टिकट अगाडि सारेर फर्किएँ,' उनी भन्छन्, 'मलाई दसैंमा गाउँघर र पुराना साथीभाइसँग भेटघाट गर्न असाध्यै मनपर्छ।'
उनका लागि दसैं भनेकै बाल्यकालका सम्झना, पुराना साथीहरूसँगको भेटघाट र गाउँघरको आत्मीयता हो।
सायद त्यही गहिरो लगावकै कारण उनले सिर्जना गरेको 'आउँथ्यो दसैं' मा पनि धेरैले आफ्नै बाल्यकाल, आफ्नै गाउँ र आफ्नै दसैं भेटिरहेका छन्।