दुई वर्षअघिको दसैं सनिशा भट्टराईका लागि विशेष थियो।
कारण— म्युजिक भिडिओमा राम्रो पहिचान बनाइसकेकी उनी त्यही दसैंमा प्रदर्शनमा आएको फिल्म '१२ गाउँ' बाट अभिनेत्रीका रूपमा ठूलो पर्दामा डेब्यू गरेकी थिइन्।
उनको पहिलो फिल्म नै सुपरहिट बन्यो।
सनिशा दुई वर्षपछि फेरि दसैंकै अवसरमा नयाँ फिल्म लिएर दर्शकमाझ आउँदैछिन्।
फिल्म हो— दीपेन्द्र लामा निर्देशित 'छ माया छपक्कै २'।
दीपकराज गिरी र दीपाश्री निरौलाको यो फिल्म असोज ३१ गते (फूलपाती) देखि प्रदर्शन तयारीमा छ।
रोचक संयोग के छ भने, सनिशाको डेब्यू फिल्म '१२ गाउँ' र दीपकराज गिरीको 'छक्का पञ्जा ५' एकसाथ प्रदर्शनमा आएका थिए। अहिले उनी दीपकराजकै फिल्मकी अभिनेत्री बनेकी छन्।
उता उनको डेब्यू फिल्म '१२ गाउँ'को सिक्वेल पनि दसैंमा प्रदर्शन हुँदैछ।
सनिशा यो संयोगलाई आफ्नो अभिनय यात्राको एउटा सुन्दर मोड मान्छिन्।
भन्छिन्, 'दुई वर्षअघिको दसैं मेरो जीवनको निकै विशेष समय थियो। त्यति बेला म फिल्म क्षेत्रमा प्रवेश गरेकी थिएँ। अहिले फेरि दसैंकै माहोलमा नयाँ फिल्म लिएर आउँदैछु। पहिले काम गरेको फिल्मको सिक्वेल पनि आउँदैछ। र, यस पटक दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी लगायतसँग काम गर्ने अवसर पाएकी छु। यसलाई सुन्दर संयोग र मेरो यात्राको अर्को महत्वपूर्ण चरणका रूपमा लिन्छु।'
सनिशाका अनुसार उनका लागि '१२ गाउँ' पछिको यात्रा सिकाइ र अनुभव बटुल्ने अवसर बन्यो। उनी आफूलाई अझै सिक्दै गरेकी कलाकार मान्छिन्। चर्चा पाउनुभन्दा दर्शकको विश्वास जितिरहनु महत्वपूर्ण रहेको उनको बुझाइ छ।
'एउटा फिल्मबाट दर्शकको ध्यान आकर्षित गर्न सकिएला, तर लामो समयसम्म उहाँहरूको मनमा रहन निरन्तर राम्रो काम गर्नुपर्छ,' उनी भन्छिन्, 'मेरो चाहना केवल चर्चामा रहनु होइन, दर्शकले मेरो अभिनय सम्झिनु र एउटा कलाकारका रूपमा मेरो काममाथि विश्वास गर्नु हो।'
'छ माया छपक्कै २' मा काम गर्दाको अनुभव पनि उनका लागि विशेष रह्यो।
विशेषगरी दीपकराज गिरी र केकी अधिकारीजस्ता अनुभवी कलाकारसँग काम गर्दा अभिनयसँगै अनुशासन, समयको महत्व र टिममा मिलेर काम गर्ने तरिका सिकेको उनी सुनाउँछिन्।
फिल्ममा आफ्नो भूमिका कस्तो छ भन्नेबारे भने सनिशा धेरै खुल्न चाहँदिनन्।
उनको चाहना छ— दर्शकले पर्दामै आफ्नो पात्रको नयाँपन अनुभव गरून्।
'अहिले नै सबै कुरा भनिदिएँ भने दर्शकको कौतूहलता घट्न सक्छ,' उनी भन्छिन्, 'मैले आफ्नो भूमिकालाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रयास गरेकी छु। बाँकी कुरा फिल्म हेरेपछि थाहा पाउनुहुनेछ।'
सनिशा यो फिल्मबाट निकै आशावादी छिन्। फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सम्बन्ध र भावनासँग जोड्ने उनको विश्वास छ।
विशेषगरी दसैंमा परिवारसहित हल पुग्ने दर्शकले राम्रो समय बिताउन पाऊन् भन्ने चाहन्छिन्।
यस पटक दसैंमा तीन ठूला नेपाली फिल्मबीच प्रतिस्पर्धा हुँदैछ। असोज ३० मा '१२ गाउँ २' र 'आबाट आमा २' रिलिज हुँदैछन् भने त्यसको भोलिपल्टदेखि 'छ माया छपक्कै २' प्रदर्शनमा आउँदैछ।
आफ्नै डेब्यू फिल्मको सिक्वेलसँग समेत प्रतिस्पर्धा गर्नुपर्ने अवस्थालाई सनिशा भने सहज रूपमा लिन्छिन्।

'हरेक फिल्म आफ्नै कथा, सोच र मेहनतका साथ बनेको हुन्छ। अरू फिल्मभन्दा हाम्रो फिल्म राम्रो छ भनेर तुलना गर्न चाहन्नँ,' उनी भन्छिन्, 'राम्रा फिल्महरू प्रदर्शन हुँदा समग्र नेपाली फिल्म क्षेत्रलाई नै फाइदा पुग्छ भन्ने लाग्छ। सबै फिल्मले राम्रो गरून् भन्ने चाहन्छु।'
दुई वर्षअघि नयाँ अभिनेत्रीका रूपमा दसैंमा दर्शकमाझ आएकी सनिशा यस पटक केही अनुभव र बढ्दो अपेक्षासहित फर्किंदैछिन्।
दर्शकको अपेक्षालाई उनी दबाबभन्दा पनि अझ राम्रो काम गर्ने प्रेरणा मान्छिन्।
'दुई वर्षअघि फिल्म क्षेत्रमा आफ्नो ठाउँ बनाउन खोजिरहेकी थिएँ। अहिले अझ राम्रो काम गर्ने जिम्मेवारी महसुस गरेकी छु,' उनी भन्छिन्, 'दर्शकले दिनुभएको माया र विश्वासलाई सम्मान गर्दै अघि बढ्न चाहन्छु।'