दरबार रोधी क्लबले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा सांगीतिक उत्सवसँगै सामाजिक सेवालाई पनि प्राथमिकतामा राख्दै कार्यक्रम आयोजना गर्ने भएको छ।
दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको दरबार रोधी घरमा यही जेठ २९, ३० र ३१ गते तीनदिने विशेष सांगीतिक उत्सव आयोजना हुने भएको हो।
उत्सवमा चर्चित गायक राजु परियार, गायक तथा मोडल दुर्गेश थापादेखि गायिका टीका सानुसम्मका थुप्रै लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
वार्षिकोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी क्लबले दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूको सहयोगका लागि हरेक वर्ष आर्थिक सहायता प्रदान गर्ने घोषणा पनि गरेको छ। सोही अभियानअन्तर्गत क्लबका सञ्चालक सुनिल कुँवरले हालै इन्द्रेणी कार्यक्रममा सहभागी भई दृष्टिविहीन कलाकारहरूको संस्थालाई ५० हजार रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
कलाकार र कर्मचारीहरूको अथक मेहनतले १८ औं वर्षसम्म आइपुग्न सफल भएको बताउँदै कुँवरले भने, 'अबदेखि हरेक वर्ष वार्षिकोत्सवको अवसरमा क्लबले कमाएको केही हिस्साबाट न्यूनतम ५० हजार रूपैयाँ सडकदेखि संघर्षरत र दृष्टिविहीन कलाकारहरूलाई सहयोग गर्नेछौं।'
तीन दिनसम्म सञ्चालन हुने सांगीतिक उत्सवको पहिलो दिन जेठ २९ गते प्रेमराजा महत, राजु परियार, दुर्गेश थापा, कृष्ण कँडेल, श्याम राना, दीपिका बयम्बु र सञ्चिता बोलाखेको प्रस्तुति रहनेछ। दोस्रो दिन जेठ ३० गते रामजी खाँण, प्रीति आले र शान्ता रानी परियारले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। त्यसैगरी अन्तिम दिन जेठ ३१ गते विश्व दोङ र टीका सानुले आफ्नो प्रस्तुति दिनेछन्।
आयोजकका अनुसार कार्यक्रम तीनै दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म सञ्चालन हुनेछ। उत्सवका सहभागी दर्शकहरूले सांगीतिक मनोरञ्जनसँगै विभिन्न विशेष छुट तथा सहुलियतको सुविधा पनि प्राप्त गर्नेछन्।
विगत १८ वर्षदेखि नेपाली लोकसंगीत र संस्कृतिको संरक्षण, नयाँ प्रतिभाको पहिचान तथा प्रवद्र्धनमा सक्रिय दरबार रोधी क्लबले धेरै कलाकारलाई व्यावसायिक मञ्च उपलब्ध गराउँदै नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।