भव्य उपस्थिति र उत्साही दर्शकको सहभागितामा सम्पन्न नेपथ्य कन्सर्टलाई गान्तोकवासीले 'ऐतिहासिक' संज्ञा दिएका छन्।
'यति विशाल जमघट सिक्किममा आजसम्म देखिएको थिएन,' गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखेका छन्, 'नेपाली संगीत मन पराउने सबैका लागि नेपथ्य कन्सर्ट ऐतिहासिक क्षण बन्न पुगेको छ।'
सिक्किमकै मुख्य रंगशालामा अन्य समयमा प्यारापिटमा बसेर मैदानका खेल हेर्ने दर्शक आइतबार राति भने नेपथ्यको लोकरकमा झुमेका थिए। रंगशालाभित्र प्रस्तुति भइरहँदा बाहिर प्रवेशद्वारमा पस्न खोज्ने दर्शकको पनि उत्तिकै भीड थियो। त्यस क्षेत्रमा सवारी आवागमन बन्द गर्दा पनि भीड नियन्त्रण गर्न कठिन भएपछि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
लेप्चाका अनुसार कन्सर्ट सकिएपछि पनि उनी झन्डै एक किलोमिटर टाढा रहेको घरसम्म गाउँदै र नाच्दै अघि बढिरहेका दर्शकको भीडमा धकेलिएरै पुगेका थिए। 'भीडसँगै बगेजस्तो भयो, हिँड्नै परेन,' उनले भने।
गान्तोकमा कन्सर्ट शनिबार आयोजना गर्ने गरी महिनौंअघि नै तय गरिएको थियो। तर, बंगालको खाडीमा विकसित ‘चक्रवात अर्नव’ को प्रभावले वर्षाको जोखिम देखिएपछि एक दिनअघि नै स्थगित गरी आइतबारका लागि सारिएको थियो।
अन्तर्राष्ट्रिय ख्याति कमाएका सिक्किमेली लेखक प्रज्वल पराजुलीले भने यति भव्य कन्सर्ट हुने अनुमान पहिल्यै गरेका थिए। 'केही सातायता गान्तोकमा जताततै कुराकानीको विषय नै नेपथ्य बनेको देखिन्थ्यो,' यसअघि लन्डन र काठमाडौंमा नेपथ्यको प्रस्तुति अनुभव गरिसकेका पराजुलीले भने, 'यो कन्सर्ट भव्य भयो।'
निर्धारित समयमै सुरू भएको कन्सर्टमा नेपथ्यका नयाँ तथा पुराना गीत प्रस्तुत गरिएका थिए। दर्शकले पनि गीतअनुसार भरपूर साथ दिएका थिए।
'अस्ति रसुवामा बाढी आउँदा सिक्किमले माया गरेर राहत पठाएको क्षण हामी सम्झिरहेका छौं,' गायनकै क्रममा नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरूङले भने, 'सुखदुःखको हाम्रो यो सम्बन्ध सदैव कायम रहोस्।'
कार्यक्रमकै बीच अमृतले सिक्किममा नेपाली भाषाको प्रयोग व्यापक भए पनि नयाँ पुस्तामा नेपाली लेख्ने र पढ्ने प्रवृत्ति घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे।
'सिक्किममा नेपाली भाषा आम प्रचलनमा छ। तर, अहिलेको पुस्तामा नेपाली लेख्ने र पढ्ने प्रवृत्ति घट्दो छ। यसको लेखपढलाई पनि उत्तिकै प्राथमिकता दिइए हामीबीचको भाइचारा सदियौंसम्म कायम रहनेछ,' उनले भने। अमृतको भनाइलाई दर्शकले गडगडाहट ताली बजाएर स्वागत गरेका थिए।
कन्सर्टमा सबै उमेर समूहका दर्शक रमाइरहेका देखिन्थे। मञ्चको अगिल्लो लहरमा उभिएका केही पाका महिलाको उत्साह झनै रोचक थियो।
'यताका सबै उमेर समूहमा हाम्रा गीत यति लोकप्रिय होलान् भन्ने लागेको थिएन,' अमृतले भने, 'यस्तो माया पाएर म भावुक बनेको छु।'
कन्सर्ट हेर्न सिक्किमभन्दा टाढाका दर्शकको पनि उल्लेख्य उपस्थिति थियो। नेपथ्यको प्रस्तुति हेर्नकै लागि मिजोरमको लाछेबाट गान्तोक पुगेका साथीहरूको समूहमा आशिष क्षेत्री पनि थिए।
'पोहोर सिलिगुडीमा नेपथ्यको कन्सर्ट हेरेर फर्किएकी दिदीको बयान सुनेपछि यसपालि मैले आफूलाई रोक्न सकिनँ,' उतैबाट आएका अन्य दुई साथीसहित उपस्थित आशिषले भने, 'नेपथ्यको यो मेरो पहिलो अनुभव नै जीवनभरका लागि मिठो सम्झना हुने भएको छ।'
संगीतका साथै यसको व्यवस्थित र भव्य प्रस्तुति शैली बुझ्न पनि नेपथ्य कन्सर्ट महत्त्वपूर्ण लागेको आशिषले बताए।
कन्सर्ट हेर्नकै लागि भुटानको चिराङबाट १४ घण्टाको मोटरयात्रा गरेर लोकी खरेल पनि गान्तोक आइपुगेका थिए।
'आफूभन्दा धेरै जेठो ब्यान्डको कन्सर्टबाट मलाई आजसम्मकै सर्वाधिक ऊर्जा मिल्नेछ भन्ने कल्पनै गरेको थिइनँ,' आधा दर्जनभन्दा बढी नेपाली सांगीतिक प्रस्तुति अनुभव गरिसकेका २६ वर्षीय लोकीले सोमबार गान्तोकबाट फर्कने क्रममा भने, 'रातिको कन्सर्टको रन्कोले अझै छाडेको छैन।'
कन्सर्टको सफलताले आफूहरूलाई भावुक बनाएको स्थानीय आयोजक 'पोजिटिभ भाइब्स'ले जनाएको छ। 'नौ महिना लामो प्रयासले यसरी सिक्किमलाई सदाका लागि स्मरणीय साँझ दिएको छ,' आयोजकका तर्फबाट विकेस कायस्थले भने, 'यो सफलताका लागि सिक्किम सरकार र मातहतका निकायप्रति हामी आभारी छौं।'
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, गिटारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।
सिक्किमपछि नेपथ्य पूर्वी नेपालका दुई सहरमा प्रस्तुत हुँदै छ। यसै बुधबार (कात्तिक १८) ब्यान्डको प्रस्तुति इटहरीमा हुनेछ। इटहरी रंगशाालामा आयोजना हुने कन्सर्टका लागि कलाकार, प्राविधिक तथा व्यवस्थापन टोलीसहित नेपथ्य सोमबार नै सिक्किमबाट इटहरी पुगिसकेको छ। बुधबार साँझ ४ बजे कन्सर्टका लागि रंगशालाका ढोका खुला गरिनेछन्।
इटहरीपछि कात्तिक २१ गते झापाको चारआलीमा नेपथ्यको लोकरक गुञ्जिनेछ। त्यसपछि टोली काठमाडौं फर्कनेछ।
निर्धारित कार्यतालिकाअनुसार तिहारपछि ब्यान्डले चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुति दिनेछ। त्यसपछि नेपथ्यको अस्ट्रेलिया टुर सुरू हुनेछ।
यी सबै कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ।

