‘हाम्रा लाागि आवाज उठाइदिन्छ भनेर कसैको बाटो कुर्नुभन्दा समाज परिर्वतनको संवाहक आफैं बन्नुपर्छ।’
पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी कार्यकर्ता मलाला युसुफजईको यो भनाइले मलाई अहिले प्रेरित गरिरहन्छ। हिन्दु नेपाली महिलाको महान् चाड तीज नजिकिँदै गर्दा मलाई झन् यो भनाइ सान्दर्भिक लागेको छ। महिला भएको नाताले मैले पनि युट्युब र टेलिभिजनमा तीजका गीत घन्काएँ, नाच्ने जमर्काे गरेँ। तर, बिडम्बना एकाधबाहेक अधिकांश गीत सुन्दा मलाई नाच्न छोडेर हामी महिला कता लम्कँदैछौं? भन्ने प्रश्नले उथलपुथल पारेको छ।
गीत पूरै सुन्न र नाच्न मन लागेन। मनमनै ग्लानी महसुस भयो। बिडम्बना, अधिकांश गीतमा केवल सारी, गहना धपक्कै लगाउने तथा मीठो–मीठो खानसँग र विसंगतियुक्त शब्द प्रयोग भएको पाएँ। मन चसक्क भयो। अनि गीत बन्द गरेर बसेँ। यतिसम्म कि एउटा गीतमा त दामै तोकेर पचास हजारको सारी चाहिने भनेर भन्दै थिइन्, गायिका। अर्काे एक गीतमा भने गहनाले धपक्कै शरीर ढाक्ने कुरा हुँदै थियो। अन्य सुनेका धेरै गीतमा त्यही दर खाने, माइत जाने, गहना लगाउने कुरा थिए।
केटाकेटीजस्तो बयस्क महिलाले फलानोले यो लगायो, मलाई पनि त्यही चाहियो भनेर गीत गाउँदै बुरुक्क–बुरुक्क उफ्रिएको देखियो, सुनियो। यी सबै गीत सुनेर तथा साथीभाइ आफन्तहरूले सोसल मिडियामा राख्नु भएको भिडियो हेर्दा मलाई लाग्यो – के हामीले तीज साँच्चिकै परम्परा धान्न तथा महिला दिदीबहिनीका पिर र व्यथाका मर्मस्पर्शी गीत घन्काउनका लागि प्रयोग गरिरहेका छौं त? कि भड्किलो बनाउँदै एक–अर्कासँग प्रतिस्पर्धा गर्दै महंगा–महंगा सारी तथा धपक्कै बल्नेगरी सुनका गहना, सिंगारमा मात्र सीमित भएका छौं?
ब्रतको एक दिन अगाडि खानुपर्ने दर महिना दिन अघिदेखि खाने पेशा नै बनाउनु पनि एउटा विकृति नै हो। यसले आफू–आफूमा रमाइलो गर्ने माहोल त बनाउला। तर, अनावश्यक खर्च बढाएको छ। तडकभडक छ। चाडपर्व त सबैले आफ्नो हैसियतअनुसार नै मनाउने हो। बजारमा आएका गीत र सामाजिक सञ्जालमा राखिएका तस्बिर हेर्दा मलाई यो त धनी र पैसा हुने महिलाको मात्र चाड होजस्तो लाग्यो।
तीजका गीतमा सुनिने र देखिने भिडियोमा श्रीमानलाई यतिको दामको सारी गहना देऊ भन्दै घुर्क्याइएको छ। हाम्रो समाजमा प्रेम सम्बन्धको मानक मंहगा उपहार मात्र हुने त होइन? यसले समाजलाई थप विकृतितिर त धकेल्ने त होइन? श्रीमती तथा प्रेमिका खुसी पार्ने एक मात्र सूत्र मंहगा सारी र गहना मात्र हो? विश्वभरि छरिएर बसेका हामी नेपाली महिलाको चाहना तथा प्रतिस्पर्धा भनेको यही लाउन र लर्काे लगाएर भ्याइनभ्याइ दर खान हिँड्नु मात्र हो? यस सम्बन्धमा हामी सबैले चिन्तन मनन् गर्नैपर्छ।
गीत–संगीत समाजका प्रतिबिम्ब हुन्। अहिलेका अधिकांश तीज गीत सुन्दा हामी नारीको मूल आवश्यकता अन्यत्रै मोडिन थालेको लाग्छ। माइतमा बाबा–आमा राम्रा सारी किन्दिनु, घरमा श्रीमानले गर्ने प्रेम पनि पनि मंहना कपडा, शरीर नै ढाक्ने गरी सुन–चाँदीका गहना उपहारले नै टार्नु! खुसी हुन मंहगा लुगा गहना लगाउनै पर्छ भनी हामी आफैंले संस्कार बसाउँदै लैजाने? यस्तै गीतले हाम्रो समाजको प्रतिनिधित्व गर्दै गएमा विकृति भयावह हुनसक्छ। मैले सानैदेखि सुने, बुझे तथा पढे अनुसार तीजका गीतमा महिलाका दुखः–सुखका कथा–व्यथा गुन्जिन्छन्। अहिलेका कथा–व्यथा फलानोले जस्तो मंहगो लुगा लगाउन पाइनँ, गहना देखाउन पाइनँ भन्ने मात्र हो त?
समाजमा भएका कूरीतिलाई आँखा चिम्लेर लाउन र खानको विषयमा मात्र केन्द्रित हुन मिल्दैन। मंहगा गहना र सारीमा खर्च गर्ने पैसाले समाजमा महिला दिदी–बहिनीको शिक्षा, स्वास्थ्य र जनचेतनामूलक कार्यत्रममा खर्च गर्दा केही हदसम्म भए पनि त्यो पैसाले सार्थकता पाउला। त्यस्तो कार्यले समाजमा सानो परिवर्तन ल्याउला। हाम्रो परिवेश तथा समस्याहरूलाई चटक्कै बिर्सेर बाहिरी आवरण र खानमा मात्र तीजलाई सीमित राखिनु हँुदैन।
केही समययता त हाम्रो देशमा बलात्कारका घटना थुप्रै घटेका छन्। एक दैनिकका अनुसार वर्षमा चार हजार भन्दाबढी बालिकासहित महिला बलात्कृत हुने गरेका छन्। यो त बाहिर आएको तथ्यांक मात्र हो। तीजको मुखमा आम महिलाको चासो, चिन्ताको मुख्य विषय बलात्कारका घटना हुनुपर्ने हो। हामीले तीजको अवसरमा यसलाई मुद्दा बनाएर आफू र आगामी पिढीलाई अगाडि बढाउनुपर्ने हो। तर, मैले अहिलेसम्म कहीँ यसको बारेमा शब्द हालेको गीत गाएको सुनेको छैन। महिलाको शरीरको स्वामित्व उसकै हुन्छ। उसको अनुमतिबिना कसैले पनि छुन पाउँदैन। यसरी छुनु गैरकानुनी तथा दुर्व्यवहार हो भन्ने जनचेतनामूलक गीत गाउँदा पो तीजको सान्दर्भिकता उजागर हुने छ।
हुन त चाडपर्व मान्ने आ–आफ्नै शैली र तरिका होलान्। मनोरञ्जनबिनाको जीवन सार्थक नहोला। तर, अहिले जति समय कपडा किन्न र छिमेकीसँग खानमा प्रतिस्पर्धा गर्दै खेर फालेका छौं, त्यसको केही प्रतिशत समय र पैसा समाजमा हुने बालबालिका अपहरण, हत्या, हिंसा, बलात्कारविरुद्ध खर्चिन सके केही हदसम्म भए पनि हत्या, हिंसा र बलात्कारमा कमी आउने थियो कि!
केही महिनायता बलात्कारपछि निर्मम हत्या गरिएका घटना सुन्दा कहाली लाग्छ। यसरी दिनदहाडै आमा, दिदी, बहिनी, छोरीचेलीको अस्मिता, आत्मसम्मान तथा ज्यान नै जोखिममा पर्दा पनि हामी तीजजस्तो महिलाको कथा–व्यथा सुनाउने पर्वमा गहना सारीको गीत मात्रै गाउँछौं। नाच्दै रमाउँछौं। परिस्थितिअनुसार खुसी हुनु रमाउनु राम्रो हो। तर, हामी सबैको सामाजिक दायित्व छ, हामीले अन्यायको पक्षमा पनि आवाज उठाउनुपर्छ। दोषीलाई उन्मुक्ति दिने कार्यविरूद्ध दबाब सिर्जना गर्नुपर्छ। तीजको दरको अवसरमा गरिने कार्यक्रममा यस्ता विषय उठाउनुपर्छ।