‘अन्न फाल्न हुन्न, पाप लाग्छ। ढिडो पकाएर खाए भइहाल्छ नि!’ हजुरआमाले भन्नुभयो।
मेरी हजुरआमा अहिले उपचार गर्न काठमाडौं आउनुभएको छ र हामीसँगै बस्नु हुन्छ।
केही दिनअघि भान्सामा ब्रिगिएको मकैको पिठोमा पुतली घुमिरहेका थिए। मैले त्यो पिठो फोहोर लिन आउने गाडीमा फालिदिनू हजुरआमा भनेको थिएँ।
तर उहाँ मान्नुभएन। मान्नु पनि कसरी!
मेरा लागि पो त्यो बिग्रिएको पिठोमात्र थियो, हजुरआमाका लागि त्योसँग इतिहास जोडिन्थ्यो, भोक र अभाव जोडिन्थ्यो। त्यही भोक र अभावसँग पौंठेजोरी खेल्दै हाम्री हजुरआमाले छोराछोरी र नातिनातिना हुर्काउनुभएको थियो।
भौगोलिक विकटता र खासै उब्जनी नहुने ठाउँमा हाम्रो घरबारी थियो। सोलुखुम्बुको लिखुपिके गाउपालिका-२ को मेस्की गाउँमा हजुरआमाले खेतीपाती गरेर छोराछोरी र नातिनातिनाहरू खुवाएरमात्र पुग्दैनथ्यो, फारू फारू गरेर जोगाएको अन्नपात बेचेर अरू घरायसी खर्च पनि चलाउनु पर्थ्यो।
‘तेरा हजुरबाको जागिर थिएन। झन् खुट्टाको बिरामी भएदेखि त गाईवस्तु, बोकाबाख्रा बेचेर आम्दानी गर्न पनि सकिएन। अनि त्यही अन्नपातले नै सबै चिज गर्नु पर्थ्यो,’ हजुरआमाले भावुक हुँदै भन्नुभयो,‘चामलको भात त महिनामा एकचोटी खाइन्थ्यो होला।’
हिमाली भेगमा धान नै फल्दैनथ्यो। रहर गरेर धान फलाउन खेत बनाउनुभएको रैछ। तर रहरले मात्र धान फलेन वातावरण नपाएपछि।
धान नफलेपछि खेतमा पनि मकै, बारीमा पनि मकै।
त्यो बेला गाउँसम्म सडक पुगेको थिएन। कयौं दिन लगाएर भरियाहरूले चामल बोकेर ल्याउँथे। धेरै पैसा नहुने हजुरआमाले त्यो चामलको किनेर भात पकाउन सक्नुहुन्नथ्यो।
‘त्यही मकैको च्यांख्ला र ढिडो खाएर पेट भर्नुपथ्यो। त्यो पनि अझ कहिलेकाहीं त त्यही पिठोको पनि हुन्नथ्यो,’ हजुरआमाले भन्नुभयो।
मैले फाल्न लागेको पिठोको महत्व यति धेरै रैछ।
आज बेलुका ढिडो खानुपर्छ भन्दै हजुरआमा पिठो केलाउन थाल्नुभयो।
म पनि सँगै गएँ र भाडा राख्ने दराजभित्र पिठो राखिएको रहेछ। बाहिर निकालिदिएँ। दुबै जना मिलेर किरा र कसिंगर छ कि भनेर केलाउन थाल्यौं।
‘२०४५ सालतिर तिर होला। हाम्रो गाउँमा खडेरी पर्यो। खाने अन्न भएन। आफ्नो पेट खाली राखेर तिमीहरूलाई ख्वाएँ। त्यतिखेर यही पिठो भएको भए म कति रमाएर खान्थें होला,’ हजुरआमाले पिठो केलाउँदै भन्नुभयो।
हजुरआमालाई अचेल आधा पेट खाएर छाक टार्नु पर्दैन। तर अझै कति मानिस छन् जसलाई बिहान खाए साँझ के खाने होला भन्ने पीरले सताउँछ।
‘उता कर्णालीतिरका मान्छेलाई अहिले पनि खाना पुग्दैन रे। यही पिठो लगेर तिनीहरूलाई दिन पाए कति खान्थे होलान्?,’ हजुरआमाले सोध्नुभयो।
मैले उहाँको प्रश्नको जवाफ दिन सकिनँ।
भान्छाबाट निस्केर आफ्नो कोठातिर लागें।
म यत्रो पढेलेखेको मान्छे मेरी हजुरआमा त पढेलेखेको पनि हुनुहुन्न तैपनि अन्नपातको कति महत्व छ भनेर थाहा पाउनु भयो। पिठोमा एक दुई वटा किरा देख्दैमा मैले खान इन्कार गरें । आखिर किरानै खाए पनि के फरक पर्थ्यो होला र? चोखो अन्नभित्र हुर्किएको किरामा त्यस्तो शरिरलाइ हानी नै पुर्याउने के हुन्छ होला? मसिना किरा फाले भइहाल्थ्यो, सबै पिठो फाल्नुपर्ने त थिएन।
सोचेर आफैंदेखि दिक्क लाग्यो। केही वर्षअघि शान्ति सैनिकको रूपमा सुडानको डार्फर पुग्दा देखेको थिएँ दुई हात थापेर मलाई खानेकुरा देऊ भन्दै माग्न बसेकाहरू। मेरा आँखामा अफ्रिकाका ती दृश्य नाच्न थाले।
केही नउम्रिने मरूभुमिको काखमा द्वन्द्वको रापमा परेका कति मानिसहरू अहिले पनि खाना नपाएर मरिरहेका छन्। लाखौं बालबालिका कुपोषणले हाडाछालामात्र लिएर बाँचेका छन्।
केही समयअघि विश्व खाघ संगठनको एउटा रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त रिपोर्टअनुसार संसारका ८२१ मिलियन मानिस भोकमरीको चपेटामा छन्।
१५० मिलियनभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका छन्।
यो वास्तविकताले ग्रसित समग्र विश्वको दयनीय र चुनौतीपूर्ण अवस्थाबाट छुटकारा पाउन संयुक्त राष्ट्र संघले दिगो विकासका लक्ष्यमध्ये सन् २०३० सम्म संसारलाई भोकमरीबाट मुक्त गर्नेलाई पनि राखेको छ।
संसारको के कुरा नेपालमै कति मानिसले अझै दुई छाक राम्ररी खान पाउँदैनन्। अमेरिकी संस्था ‘द बोर्गन प्रोजेक्ट’ को सन् २०१६ को ग्लोबल हङ्गर इन्डेक्समा नेपालको जनसंख्यामध्ये ७.८ प्रतिशतले खानेकुराको अभाव झेलेको देखाउँछ।
एकातिर लाखौं नेपाली भोकमरीमा छन् अर्कातिर सहरका होटल, रेष्टुरा र पार्टी प्यालेसका भोजमा मानिसहरू कति धेरै खाना खेर फालिदिन्छन्। आधा प्लेट खान्छन्, आधा प्लेट छोडिदिन्छन्। दैनिक हजारौं टन खाना खेर जान्छ।
आत्मग्लानीले भरिएर म फेरि भान्छामा गएँ। हजुरआमालाई भने- अघि तपाईं के भन्नुहुँदो रहेछ भनेर खादिनँ भनेको। मलाई नि मिठो लाग्छ ढिडो। सानोमा पनि खुब रमाएर खान्थें नि!
मेरो कुरा सुनेर हजुरआमाको चाउरी परेको अनुहारमा चमक आयो। उहाँको त्यति खुसी अनुहार मैले बिरलै देखेको छु।