नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताद्वय झलनाथ खनाल र वामदेव गौतमले फागुन २१ को प्रतिनिधि सभा चुनाव नलड्ने भएका छन्।
खनालले इलाममा आफूले लड्दै आएको निर्वाचन क्षेत्र युवाहरूलाई छाडेको बताए।
‘मैले इलाममा युवाहरूलाई छाडेँ। अन्यत्र पनि उम्मेदवार नलड्ने संयोजकलाई भनिसकेको छु,’ खनालले सेतोपाटीसँग भने।
खनाल इलाम–१ बाट लड्दै आएका थिए। खनालले इलामबाट २०४८ सालदेखि उम्मेदवार बन्दै आएका थिए। २०५६ र २०७९ सालमा खनाल पराजित भएका थिए। त्यसयता उनी निरन्तर चुनाव जितिरहेका छन्।
‘उमेर र कतिपय अरू कारणले म यसपटक उम्मेदवार नबन्ने भएँ,’ उनले भने।
इलाम–१ मा नेकपाले रणबहादुर राई र इलाम–२ ओमबहादुर गुरूङलाई उम्मेदवार बनाउने भएको छ।
नेकपाका अर्का नेता बामदेव गौतम पनि उम्मेदवार नबन्ने भएका छन्। गौतम बर्दिया र प्यूठानबाट समेत उम्मेदवार बन्ने गरेका थिए। नेकपाले बर्दिया–१ मा विष्णुप्रसाद थारू र बर्दिया–२ मा सुरेश पन्तलाई उम्मेदवार बनाएको छ।
प्यूठानमा कृष्णध्वज खड्कालाई उम्मेदवार बनाउने भएको छ।
नेकपा नेताहरूका अनुसार नेता गौतमले प्यूठानमा उम्मेदवार चित्त बुझाएका छैनन्। त्यसैको असन्तुष्टि स्वरूप पनि उनी यसपटक उम्मेदवार नलड्ने मनस्थितिमा पुगेका हुन्। प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नकै लागि उनले राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए। यद्यपि उनको कार्यकाल भने आगामी फागुन २० गतेबाट सकिँदै थियो।