काभ्रे, रोशी गाउँपालिकाका कान्छामान तामाङ पानीका मूल र पोखरी संरक्षणमा सक्रिय छन्।
रोशी–११ का बासिन्दा कान्छामानले सामुदायिक स्रोत व्यक्तिको भूमिकामा मिट्ठु आचार्यसँग मिलेर आफ्नै वडाका मूल र पोखरीको तथ्यांक संकलन गरेका थिए। त्यस क्रममा उनले गाउँका करिब ६ प्रतिशत स्रोत हराइसकेको देखे। बाँकीमध्ये एकचौथाइ स्रोत कमजोर हुँदै गएको पाए।
मूलमै पुगेर गरेको यो प्रत्यक्ष अनुभवले कान्छामानलाई गहिरो प्रभाव पार्यो। समुदायमा पानीका स्रोत सुक्दै गएको अवस्थाले उनलाई चिन्तित तुल्यायो।
यही कारण उनी तथ्यांक संकलन सकिएपछि पनि मूल संरक्षणमा केन्द्रित भए।
आफ्नो मेहनतलाई कागजमै सीमित नराखी उनले वडालाई जानकारी गराए। संकटग्रस्त स्रोतहरूको विस्तृत अध्ययन तथा पुनर्भरण संरचना निर्माणका लागि वडा र गाउँपालिकासम्म सक्रिय आवाज पुर्याउन सफल भए।
यसरी एक जनाले देखेको संकट सामुदायिक बहस र नीतिगत प्राथमिकतामा रूपान्तरण भयो।
अहिले रोशी गाउँपालिकाले मूल संरक्षण अभियानलाई अत्यन्त उपयोगी मानेर आफ्नो प्राथमिकतामा राखेको छ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार, समुदायका स्रोत–व्यक्ति परिचालित गरेर संकलन गरिएको मूल तथा पोखरीको तथ्यांकले स्थानीय स्रोतहरूको वास्तविक अवस्था बुझ्न र पालिकालाई योजना बनाउन प्रत्यक्ष आधार दिएको छ।
रोशी गाउँपालिका पानीको मूल संरक्षणमा सक्रिय काभ्रेका सात र धनकुटाका दुई पालिकामध्ये एक हो, जसले मूल संरक्षणलाई वार्षिक कार्यक्रममै प्राथमिकता दिँदै अघि बढेको छ र सामूहिक प्रतिबद्धतामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ।
पानीको मूल संरक्षण किन गर्ने त?
मूल भनेको हाम्रा लागि पानीको धार मात्र होइन; संस्कृति, पहिचान र अस्तित्वसँग जोडिएको जीवनदायिनी स्रोत हो। पहाडी समुदायको जनजीविकाको मेरूदण्ड नै मूल र पोखरी हो।
पशुपालन, सिँचाइ, पिउने र घरायसी प्रयोगका लागि हाम्रो जीवन मूलसँग गाँसिएको छ। तर पछिल्ला वर्ष जलवायु परिवर्तन र बिनायोजनाका विकास गतिविधिका कारण वर्षौंदेखिका मूल सुक्दै गएका छन्।
२०८१ सालमा काभ्रेका सात पालिकामा गरिएको एक सर्वेक्षणले ५,६८९ स्रोतमध्ये एकचौथाइ र करिब आधा पोखरी सुकिसकेको देखाएको छ। उक्त अध्ययनले अहिले चलिरहेकामध्ये आधाभन्दा बढी पानीका स्रोतमा बहावको स्तर क्रमशः घट्दो क्रममा रहेको पनि देखाएको छ।
यी तथ्य हेर्दा समयमै मूल संरक्षण नगरे सुकेका मूलहरूको संख्या झनै बढ्न सक्ने सम्भावना नकार्न सकिँदैन।
यो प्राकृतिक मात्र नभई सामाजिक संकट पनि हो। पानी सुक्दा खेतीपाती, पशुपालन, स्वास्थ्य र संस्कृति सबै प्रभावित हुन्छन्। त्यसैले मूल संरक्षण अब विलासी विषय मात्र होइन, सामुदायिक जीवनरक्षाको प्रश्न पनि हो।
यस्तो परिस्थितिमा सुकेका मूलहरूको पुनरूत्थानका साथै हामीसँग भएका चलनचल्तीका स्रोतको संरक्षण र संवर्द्धन गर्नु आजको आवश्यकता हो।
मूल संरक्षण कुनै एक व्यक्ति, संस्था वा कुनै एक तहको एकल प्रयासले सम्भव हुँदैन। सम्पूर्ण समुदायको सक्रिय सहभागिता अपरिहार्य हुन्छ। सामुदायिक ज्ञान, विज्ञान र नीतिगत पहलको त्रिपक्षीय साझेदारीमार्फत् यसलाई प्रभावकारी बनाउन सकिन्छ।
योजनाबद्ध संरक्षणका लागि स्रोतहरूको वास्तविक अवस्था थाहा पाउनु अनिवार्य छ। त्यसैले मूल संरक्षण गर्न मूल, पोखरी तथा अन्य जलस्रोतको अवस्थाबारे तथ्यांक संकलन र नक्सांकन गरेर टोल, गाउँ र स्थानीय तहलाई स्पष्ट जानकारी गराउनु अत्यन्तै आवश्यक छ।
सँगसँगै, समुदायमा 'हाम्रो आवश्यकता यही हो' भन्ने चेतना विकास हुनु र नीति–निर्माताहरूले त्यसैअनुरूप कार्यक्रम तथा बजेट प्राथमिकतामा राख्नु अत्यावश्यक छ। यसका लागि ज्ञान र चेतना, सहभागिता र नीतिगत समर्थन एकसाथ अघि बढे मात्र संरक्षण अभियानले मूर्तरूप लिन सक्छ।
तथ्यांक संकलन भन्ने शब्द सुन्नासाथ प्रायः हाम्रो मस्तिष्कमा कागज, कलम, अंकहरूको पहाड र जटिल प्राविधिक प्रक्रियाको छवि आउँछ। यो काम धेरैका लागि खर्चिलो, जटिल र सामान्य जनताको पहुँचभन्दा बाहिरको लाग्छ।
यो धारणा पूर्ण रूपमा गलत होइन। प्रायः जलस्रोत तथ्यांक विशेषज्ञहरूको सीमित अध्ययनमै संकलन हुन्छ। समुदायको सहभागिता न्यून रहन्छ। त्यस्ता तथ्यांक प्रायः रिपोर्ट वा अनुसन्धनात्मक लेखमै सीमित रहन्छन्। यसले वास्तविक समुदाय विकासमा प्रत्यक्ष योगदान दिन सक्दैन। स्थानीय सरोकारवालाका लागि प्रयोगयोग्य पनि हुँदैन।
अध्ययन र तथ्यांक संकलनलाई समुदायमा उपयोगी बनाइयो भने यसको प्रभाव अत्यन्तै ठूलो हुन सक्थ्यो। यही सोच राखेर अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) स्थानीय निकायको नेतृत्वमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्दै नागरिक विज्ञानको प्रक्रियाबाट मूल तथा पोखरी संरक्षणमा कार्यरत छ।
यसको उद्देश्य तथ्यांक संकलनमा जनसहभागिता बढाउनु, समुदाय र नीति–निर्मातामा जलस्रोत संरक्षणको जनचेतना अभिवृद्धि गर्नु र तथ्यांकलाई कागजको ढड्डाबाट निकालेर समुदायको पहुँचमा पुर्याउनु हो।
यसका लागि स्थानीय जनप्रतिनिधि र सामुदायिक स्रोत–व्यक्तिको क्षमता अभिवृद्धिका काम भइरहेका छन्। दुई वर्ष अन्तरालमा झन्डै १८२ जनप्रतिनिधि र १८२ स्रोत–व्यक्तिले ७,५०० भन्दा बढी मूल तथा पोखरीको तथ्यांक संकलन गरेका छन्। रोशी गाउँपालिकाका कान्छामान १८२ स्रोत व्यक्तिमध्ये एक हुन्।
यो प्रक्रियामा स्थानीय निकायको नेतृत्वमा समुदायलाई मुख्य भूमिकामा राखिन्छ। यसले जलस्रोतहरूको संरक्षणलाई दिगो र सशक्त बनाउँछ। स्थानीय जनतालाई तथ्यांक संकलन, नक्सांकन र विश्लेषणको प्रशिक्षण दिएर आफ्नो क्षेत्रका जलस्रोतहरूको अवस्था मापन गर्न सक्षम बनाउँछ।
प्राविधिक जटिलतालाई सरल बनाई सामान्य नागरिकको पहुँचमा पुर्याउनु यसको विशेषता हो। यसमा प्राविधिक ज्ञान नभएका व्यक्तिलाई पनि सहज रूपले सहभागी गराइन्छ। संकलित तथ्यांक प्रत्यक्ष रूपमा समुदाय र स्थानीय नीति–निर्मातासम्म पुग्ने भएकाले पारदर्शी र जबाफदेही निर्णय प्रक्रियालाई समेत सुदृढ बनाइन्छ।
यसबाट सामान्य समुदायले पनि प्रशिक्षण लिएर आफ्ना मूलहरूको अवस्था मापन गर्न, नक्सा बनाउन र जानकारी सुरक्षित राख्न सक्षम भएका छन्।
यसरी संकलित तथ्यांक सिधै समुदाय र स्थानीय सरकारको हातमा पुग्छ। यसले पारदर्शिता बढाउँछ, नीति निर्माणमा दबाब सिर्जना गर्छ र समुदायलाई आफ्नै स्रोतबारे जिम्मेवार बनाउँछ।
रोशी गाउँपालिका जस्ता स्थानीय तहले नागरिक विज्ञान उपयोग गरी मूल तथा मूलाधार संरक्षणको कार्यलाई आफ्ना नीति तथा कार्यक्रममै समेट्ने जमर्को गरेका छन्। यो कार्यले स्थानीय तथ्यांक अब कागजका ढड्डामा सीमित छैन। समुदाय तथा नीति–निर्माता तहमा स्थानीय स्रोत संरक्षणको चेतना अभिवृद्धि गराउने, समुदायलाई सशक्त बनाउने र दिगो विकासको मार्गप्रशस्त गर्ने एक बहुआयामिक उपायका रूपमा काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको छ।
यो प्रक्रियालाई विस्तारित रूपमा आत्मसात् गर्न सके देशभर नै समुदायले मूल र मूलाधार संरक्षणको पहलमार्फत जलवायु उत्थानशीलताको क्षेत्रमा अग्रणी भूमिका खेल्न र संरक्षणका प्रयास प्रभावकारी र दीर्घकालीन बनाउन सक्ने देखिन्छ।
मूल मूलाधार संरक्षण केवल सरकार वा कुनै संस्थागत मुद्दा होइनन्। आजको बदलिँदो परिवेशमा यो हरेक समुदायको आवश्यकता हो। यसले समुदाय, विज्ञान र नीति–निर्माणको त्रिपक्षीय साझेदारीमा आधारित दिगो समाधानको मार्गप्रशस्त गर्छ। यो मूल बचाउने मात्र नभई त्यससँग जोडिएका हाम्रा पहाडी सभ्यताको अस्तित्व र भविष्य संरक्षण गर्ने महत्त्वपूर्ण कदम हो। त्यसैले यहाँ प्रत्येक नागरिकले आ–आफ्ना स्थानबाट मूल र मूलाधार संरक्षणको यस ऐतिहासिक अभियानमा योगदान दिन जरूरी छ।
संक्षेपमा भन्दा, नेपालका पहाडी समुदायहरूले आफ्नै हातले मूल र पोखरीको नक्सा बनाएर यी जीवनदायी स्रोत बचाउन सक्छन्। यो एउटा विकल्प मात्र होइन, आजको जलवायु संकटको युगमा हाम्रो अस्तित्वको आवश्यकता पनि हो।
***