नेपाली बजारमा आर्थिक कारोबार सम्बन्धमा वस्तु वा सेवा अनुसारको चासो लगानीकर्ताहरूमा निकै हुने गरेको देखिन्छ। कोही लगानीकर्ता वा व्यवसायीहरूको ध्यान सुनको मूल्यमा भएको उतारचढावतिर हुने गर्छ भने कसैको घरजग्गा कारोबारतिर आकर्षित हुने गरेको पाइन्छ। त्यस्तै सेयर बजारको जानकारी तथा चासो सम्बन्धित व्यवसायीहरूले लिने गर्छन्। आ-आफ्ना चासो वा रुचि अनि आर्थिक स्रोतको आधारमा केमा लगानी गर्ने भन्ने बारे आफ्नो योजना तय गर्छन् व्यवसायीहरू।
त्यो तोलाको सत्र सय पचासको सुन
२०४० साल भदौमा मैले उच्चशिक्षा अध्ययनको सिलसिलामा रोल्पाबाट काठमाडौँ प्रवेश गरेपछि यसो पत्रपत्रिकाहरूमा नजर डुलाउँथेँ। पत्रिकामा समाचारहरूका साथसाथै सुनचाँदीको बजार भाउ बारे पनि लेखकले जानकारी लिने गर्थ्यो विशेष गरी आधिकारिक पत्रिका गोरखापत्रबाट। त्यसताका सुनको बजार भाउ एक हजार सात सय पचास थियो। त्यति बेला हाम्रो तलब साढे तीन सयको हाराहारीमा थियो। अतः एक तोला सुन किन्नका लागि पाँच महिनाको तलब बचत गर्नुपर्ने अवस्था थियो। अरू जिल्लाहरूको तुलनामा काठमाडौँको महँगी ज्यादै भएका कारण तलबले दुई छाक टार्न धौधौ नै हुन्थ्यो, सुन किन्ने नगद बचत त परै जाओस्। २०३९ सालको एसएलसी परीक्षा उत्तीर्ण गरेपछि पिताजीले मलाई काठमाडौँ ल्याउँदा उहाँको साथमा एक हजार मात्र नगद थियो, त्यो पनि उहाँले आफ्नो मामाबाट सापटी लिनुभएको। सो एक हजारले मलाई काठमाडौँ ल्याइपुर्याउनु भयो, मलाई केही दाम छोडेर त्यही एक हजार नगदमध्येको बचेको रकमले बसको टिकट काटेर दाङ फर्कनुभयो, त्यति बेला एक हजार रुपियाँले धेरै काम गर्दथ्यो।
सुनभन्दा कम छैन हराएमा डर छैन
सायद दुई दशकअघिदेखि होला ‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ भन्ने नारा उल्लेख गरेर धेरै सुनचाँदी व्यवसायीहरूले आफ्नो व्यवसायलाई सफल बनाएका थिए। झट्ट हेर्दा सुन झैँ देखिने ती गरगहनाहरू मिल्दोजुल्दो पहेँलो धातुबाट तयार हुन्थे। धनीमानीले सुन नभै अर्कै धातुबाट बनेका ती गहना लगाउँदा सुन नै ठानिन्छ भने गरिबले सुनकै गहना लगाए पनि कसै-कसैको नजरमा सो गहना पितल जस्तो देखिन सक्छ। यी कुरा आआफ्ना दृष्टिकोणका विषय हुन्छ।
सुनले गर्दा ज्यान जोखिम
पछिल्ला घटनाहरूले सुनको मूल्य जति बढ्यो अनि सुन संग्रह गर्यो उति मान्छेको ज्यान खतरामा रहेको कुरा प्रस्ट देखाउँछ। सुनका गहना पहिरिनेहरूको ज्यान खतरामा रहेको कुरालाई खासै वास्ता गरिँदैन। गत पुसको एक समाचार अनुसार ललितपुरमा औँठी लुट्ने नियतले चक्कुले घाँटी रेटेर ८३ वर्षीय एक वृद्धको हत्या गरेकोमा एक जना पक्राउ परेका थिए। गत कात्तिकको अर्को समाचारअनुसार ललितपुरमै स्कुटर दुर्घटना गराएर एघार लाख बराबरको सिक्री लुटिएको थियो। गत कात्तिकको अर्को समाचारअनुसार कपिलवस्तुमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका लुटेराले पैसठ्ठी वर्षीय एक महिलाको सिक्री लुटेर फरार भएको समाचार पनि प्रकाशन भइसकेको छ। मुन्द्रा, सिक्री, औँठी लगायतका गरगहनाहरू लुट्ने मात्र होइन, गहनाकै कारण व्यक्ति हत्या समेत गर्ने क्रम रोकिएको छैन। सुरक्षाका दृष्टिले गरगहना प्रदर्शन गर्नु घातक अर्थात् जोखिम ठानिन्छ।
ग्यास छैन सुनका कुरा
केही दिनयता सुनको भाउ ह्वात्त बढ्दै अनि ह्वात्त घट्दै गर्दा फेसबुकमा साथीहरूले सुनका बारेमा हाँसीमजाक गरिरहँदा मैले 'ग्यास नपाएको दुई महिना नाघिसक्यो, सुनका कुरा' भनेर टिप्पणी पनि गरिरहेँ। 'ग्यास भएन भने गाँस रोकिन्छ, सुन नभए केही फरक पर्दैन' भन्ने मैले धारणा पनि राख्दथेँ।
आडम्बर अर्थात् तडकभडक
कसै-कसैमा सुनका गहना प्रदर्शन गर्ने होडबाजी चलिरहेको पाइन्छ। कुनै भोज-भतेर वा पार्टीमा गएर हेर्ने हो भने ज्यानभरि पाँचदेखि दश तोलासम्मका सुनका गहना पनि देखिन्छ। वास्तवमा 'फलानाले धेरै गहना लगाएको देखेर म खुसी भएँ' भनेर कसैले पनि भन्दैन। बरु उसले कालो धन थुपारेर वा भ्रष्टाचार गरेर कमाएको अन्दाज गर्दछ। पैतृक सम्पत्तिको भरथेगले पनि धेरै गहना लगाउने गरेको पाइन्छ भने व्यवसायमा सफलता हासिल गरेका इमानदारहरूले पनि त्यसरी गहना लगाउन सक्छन्।
झसंगै पार्ने गरी सुनको एकै दिन बिस हजार पाँच सय मूल्य वृद्धि
पछिल्लो समय सुनको भाउले झन्डै साढे तीन लाख स्पर्श गरेको थियो। कसै-कसैको चाहना त अझै बढे हुन्थ्यो जस्तो लागेको थियो होला, तर धेरै नेपालीहरूका लागि त्यो चाहना पक्कै पनि होइन। चलिआएको चलनअनुसार छोराछोरीको बिहेका लागि मध्यम वर्गीय तथा निम्न वर्गीयहरूलाई सुनको जोहो गर्न गाह्रो हुन्छ। विकसित मुलुकहरूमा घर सजावटमा बढी प्रयोग हुने सुन एसियाली मुलुकहरूमा भने गहना प्रदर्शनमा बढी प्रयोग हुने गर्दछ। छोराको बिहे गर्ने सोच राख्दै गर्दा केही दिनअघि बजारमा सुनको भाउ एकै पटक बिस हजार पाँच सय बढेर ३ लाख ३९ हजार ३०० पुग्दा म मात्र होइन जो कोही पनि झसंग नहुने कुरा थिएन। एक किसिमले भन्नुपर्दा रकेट गतिको सुनको सो मूल्य वृद्धिका कारण बिहेको योजनामा रहेका मध्यम वर्गीयहरूलाई झस्काउनु स्वाभाविकै पनि थियो। सुनको त्यस प्रकारको मूल्य वृद्धिले उच्च वर्गीयकालाई खासै असर गर्दैन जति मध्यम वर्गीयमा पर्छ।
देश गरिब मान्छे धनी
मैले २०३५ सालदेखि नै साम्यवादका कुराहरू सुन्दै आएको हो। २०४६ सालअघि अर्थात् पञ्चायत कालमा कम्युनिस्ट समर्थकहरूले लुकीछिपी पर्चा र पमप्लेट बाँड्ने गरेका पनि थिए। देशमा साम्यवाद आएमा धनी र गरिब बराबर हुनेछन्, धनीको सम्पत्ति कब्जा गरेर गरिबहरूलाई बाँडिन्छ भनेको पनि सुनियो त्यसताका। पहिलेदेखि नै साम्यवादका कुरा धेरै आए तापनि अहिलेसम्म जनताले साम्यवाद कुन चराको नाम हो अत्तोपत्तो पाएका छैनन् अर्थात् महसुस गर्न सकेका छैनन्। कम्युनिस्ट पार्टीहरू उहिल्यैदेखि एकजुट भएर अगाडि बढेको भए सायद देशमा अटुट रूपमा उसकै शासन चलिरहन्थ्यो। विडम्बनाको कुरा यो छ कि कम्युनिस्टहरू झन् पछि झन् धुजाधुजा अर्थात् टुक्रा-टुक्रामा विभाजन हुँदै आएको देखिन्छ। हामीले यसरी बुझ्नुपर्दछ कि सबैलाई पद चाहिएको छ। गत डिसेम्बर ३ सम्मको तथ्यांक हेर्दा नेपालमा १४३ दल निर्वाचन आयोगमा दर्ता भएको देखिन्छ। लगभग डेढ सय दल रहेको हाम्रो मुलुकका नेताहरूले विकसित मुलुकमा कति वटा दल छन् भनेर बुझ्नुपर्दछ। मुलुक जति गरिब भयो त्यति धेरै दल भएमा त्यो अवस्थालाई असामान्य अवस्था भनिन्छ। आलिसान महल भएका मान्छे पनि यहीँ छन् झुप्रोमा बस्ने पनि यहीँ छन्, त्यस्तै डिलक्स अर्थात् सुविधाजनक गाडी चढ्ने पनि यहीँ छन् र बिस रुपियाँमा सार्वजनिक यात्रा गर्नेहरू पनि यहीँ छन्। बिस रुपियाँ जोगाउनका लागि एकुन्टा पैदल हिँड्ने पनि यहीँ छन्। पैदल हिँड्दैमा नराम्रो होइँदैन, बरु ज्यान बिग्रँदैन भनेर सोच्नुपर्दछ। प्रकृतिको नियम अनुसार जनइन्द्रिय र ज्ञानेन्द्रिय परिचालन गर्नेतर्फ पनि मनुष्यको सोच हुनु जरुरी छ। आराम गर्ने र मीठो-मीठो खानु मात्र जीवन होइन, दुःखसुखको संगम नै जीवन हो।
मैले बुझेको सुनको मूल्य
२०४० सालमा प्रतितोला एक हजार सात सय पचास रूपैयाँ रहेको सुनको मूल्य २०४६ मा मेरो बिहे हुँदा ३ हजार थियो। त्यति बेला दुई तोला सुनको छ हजार रुपियाँमा खरिद गरिएको सम्झना अझै ताजा छ मेरो मानसपटलमा। पछिल्लो समय सुनको भाउले छलाङ मारेको देख्दा अचम्म नमान्ने कुरै भएन। अरू वस्तु तथा सेवाको मूल्य सन्तुलित गतिमा बढ्छ भने सुनको मूल्य अस्वाभाविक किसिमले बढेको थाहा पाउँदा जसलाई पनि कौतुहलता वा जिज्ञासा हुन्छ नै।
सुनको मूल्य वृद्धिका केही कारण
सुनको भाउ तलमाथि हुनुका मुख्य कारणहरूमा अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्ति नै हो। कुनै पनि वस्तुको माग र आपूर्ति बढी प्रभावित भयो भने मूल्य पनि उच्च दरमा घटबढ हुने निश्चित हुन्छ, त्यसमा सुन पनि अछुतो रहँदैन। अमेरिकी केन्द्रीय बैंकको ब्याजदर, अमेरिकी डलरको प्रभुत्व, विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले सुनको खरिद बढाउनु, भूराजनीतिक द्वन्द्व र आर्थिक गतिविधिमा हुने सुस्तताले पनि सुनको मूल्यमा परिवर्तन हुन्छ।
अन्त्यमा, हामी नेपालीहरूका लागि सुनको मूल्य वृद्धिभन्दा पनि लसुन र नुनको मूल्य वृद्धि भएमा चिन्ता लाग्छ। किनकि यी वस्तुहरू नभएमा निश्चय पनि खाना खल्लो र बेस्वादिलो हुन्छ। सुन नहुँदैमा कसैको पनि दैनिकी रोकिँदैन। मैले अहिलेसम्म सुनको सिक्री र औँठी लगाएको इतिहास छैन। विकसित मुलुकहरूमा झैँ सुनलाई धेरै महत्त्व नदिनु नै उचित ठानिन्छ। सुनले ज्यान पनि लिन सक्छ भन्ने कुराको हेक्का कुनै पनि चेतनशील मान्छेमा हुनु जरुरी छ। आधारभूत आवश्यकताका वस्तुहरू मात्र खरिद गर्ने र सन्तुलित एवं व्यवस्थित किसिमबाट सङ्ग्रह गर्ने अनि उपयोग गर्ने गरेमा जीवन सन्तुलित हुन जान्छ। अनावश्यक वस्तु घरमा थुपार्नाले व्यवस्थापनमा समस्या आएर तनावको सामना गर्नुपर्ने हुन्छ। जीवन घरी धेरै खस्किने गरी र घरी धेरै उत्कर्षमा पुग्ने गरी कुनै पनि गतिविधि वा क्रियाकलाप गर्नुहुँदैन। जीवनलाई हल्काफुल्का किसिमबाट अगाडि बढाइएमा मानसिक र शारीरिक दुवै किसिमबाट उत्तम ठानिन्छ।