देशभित्र द्वन्द्व भयो भने त्यस देशका अधिकांश जनताले दुःख पाउँछन्। नेपालमा जनयुद्ध हुँदा अधिकांश नेपालीलाई दुःख पीडा थियो। सुरक्षा चुनौती थिए, घुमघाममा प्रतिबन्ध, चोरी, लुटपाट, शारीरिक हमला आदि। जोखिमबाट बच्न सतर्कता अपनाउनु पर्थ्यो। त्यस्तैत्यस्तै पूर्वी टिमोरमा पनि २००२ देखि २०१० सम्म आन्तरिक द्वन्द्वले देश अस्तव्यस्त थियो, युएनले देश चलाएको थियो। त्यो बेला म एक नेपाली, विदेशी भूमिमा एक्स्प्याट (विदेशबाट काम गर्न आएका विज्ञलाई सम्बोधन गर्ने अंग्रेजी संज्ञा) को हैसियतले सात वर्ष काम गर्दाको अनुभव वर्णन नै यो लेख हो। इन्डोनेसियाली भाषामा पूर्वी टिमोरलाई टिमोर टिमुर भनिन्छ। टिमुर भनेको पूर्व हो। टुजु भनेको सात र टाहुन भनेको वर्ष हो।
अफिस बाइरोसेन्ट्रलबाट घर कुलुहुनसम्म जाँदा असंख्य मिनी-टाटा जत्रा ट्रकमा आफ्नो घरको टेबल, कुर्सी, दराज, लुगाफाटो, पंखा, खाट, ओछ्यानहरूले भरिएका थिए बेमोरी र कुलुहुन टोलमा। उनीहरू असुरक्षित महसुस भएर आ-आफ्नो गाउँतिर जान तयारी गर्दै थिए। सायद उनीहरूलाई ठुलै गडबडी हुन्छ भनेर थाहा थियो होला। यो २००६ मे महिनाको पहिलो हप्ताको दृश्य थियो पूर्वी टिमोरको राजधानी सहर दिलीको। पूर्व निर्धारित कार्यक्रम अनुरूप मे १६ देखि बैंककमा हाम्रो अफिसको क्षेत्रीय मिटिङमा सहभागी हुनलाई जानु पर्ने अन्तिम तयारीमा जुटेको थिएँ म। केही गडबडी हुन्छ भन्ने त मलाई पनि लाग्यो नै तर कुन मात्रामा हुन्छ र यसको असर के हुन्छ भन्ने अडकल आफूलाई थिएन।
म आएको पनि त जम्मा ४ महिना मात्र त भएको थियो। मलाई लाग्यो यस्तो अनिश्चित अवस्थामा मैले सृजना र नुरलाई दिलीमा छोडेर बैंकक जानु उपयुक्त हुन्न। त्यसअनुरूप १५ मेमा हामी तीनै जना डेन्पसार हुँदै बैंकक उड्यौँ। म बैंककमै मिटिङको लागि बसेँ, सृजना र नुर सोझै थाई एयरकै कनेक्टिङ फ्लाइटबाट काठमाडौँतिर लागे। म पनि बैंककको तीन दिनको मिटिङ सिध्याएर मे २० तारिख काठमाडौँ उडेँ- चार दिनपछि फेरि टिमोर नै फर्कने गरी।
२३ मे मा एउटा झडपमा एकजना सेनाको मृत्यु र पाँच जना सेना घाइते भएपश्चात् हिंसा भड्किएको रहेछ दिलीमा। मलाई टिमोर र अस्ट्रेलियाबाट खबर आयो। नेपालको टिभीमा पनि बेलुका देखियो। दिलीका बहुसंख्यक घर तथा व्यापारिक भवनहरू आगोले खरानी बनाएको देखियो। यो हिंसामा पूर्वी भेग र पश्चिम भेगको नाममा दिलीबासी विभाजित थिए। दिलीमा पश्चिम भेगका मानिसहरूको बाहुल्य भएकोले पूर्वी भेगका मानिसहरूका दिलीका घरहरू जलाइएका थिए। यो विभाजन इन्डोनेसियाको २५ वर्षसम्म अधीनमा रहँदा भएको मानिन्छ। पूर्वी भेगकालाई इन्डोनेसियाबाट स्वतन्त्रताका पक्षधर मान्छन् भने पश्चिमकालाई स्वतन्त्रता विरोधी मान्छन्।
मेरा साथी नरेन्द्र जीकी श्रीमती त्यति बेला श्रीमान् भेट्न आउनु भएको थियो। यस्तो बेलामा नेपालीहरू नराम्रो अनुभव गर्छन्। किनभने न त हाम्रो दूतावासले केही गर्छ न त हाम्रो सरकारले। टिमोरको हवाईअड्डा तीन दिन पुरै बन्द थियो भने बालीबाट आउने हवाइजहाज सात दिनसम्म आएको थिएन। उहाँ सात दिन जति टिमोर हस्पिटलमा कार्यरत नेपाली डाक्टरको आवासमा शरण लिएर डार्विन हुँदै काठमाडौँ फर्केको त्रासदीपूर्ण अनुभव सुनाउनु हुन्थ्यो। जबकी फिलिपिन्स लगायतका नागरिकहरूलाई आफ्नै देशको प्लेन ल्याएर इभ्याकुएट गरेको थियो। म र मेरो परिवारले यो भयावह परिस्थिति भोग्नु परेन- एक सुखद संयोग।
दिलीमा ठुलै अशान्ति थियो रे। झन्डै एक लाखको हाराहारीमा स्थानीयहरू आन्तरिक शरणार्थी भएका थिए। दिलीका जनताहरू सुरक्षित स्थानहरूमा पाल टाँगेर बस्न थाले- जस्तै विमानस्थल, सेनाको ब्यारेक नजिक, बगैँचा इत्यादि सार्वजनिक स्थानमा। त्यहाँको सुरक्षा अवस्था अनिश्चित भएकोले म झन्डै दुई महिना काठमाडौँमै बसेँ। सेप्टेम्बरको पहिलो हप्ता म फेरि दिली नै फर्केँ- नुर र सृजना एक हप्ता पछाडि आए। केही समयको अन्तरालपछि दिली र टिमोर बिस्तारै सामान्य अवस्थामा फर्किए।
वाटर एडले सुरुमा एल्यु जिल्लामा खानेपानीको कार्यक्रम सुरु गरेको थियो। त्यसपछि लिकिसा र मानुफाही जिल्लामा विस्तार गरेको थियो। यो खानेपानी तथा सरसफाइमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो र विश्वको २२ वटा देशमा काम गर्दछ, पूर्वी टिमोर त्यसमध्ये एउटा देश हो। म २००६ बाट २०१३ सम्म कन्ट्री रेप्रिजेन्टेटिभ थिएँ।
वाटर एडमा हामी सानो टिम थियौँ। म, एकजना एक्स्प्याट इन्जिनियर, ६ जना स्थानीय कर्मचारी जसमा, खानेपानी, स्वास्थ्य, सरसफाइ, मर्मत सम्भार, लेखा तथा प्रशासन र पैरवी विधा हेर्ने छुट्टाछुट्टै कर्मचारी थिए। स्थानीय गैरसरकारी संस्थामार्फत कार्यक्रम गाउँ गाउँमा सञ्चालन हुन्थ्यो। यी स्थानीय कर्मचारीहरू अंग्रेजी बोल्दैनथे, त्यसैले मैले यहाँको भाषा- तेतुङ सिकेको थिएँ। मिटिङ तथा अरू संवाद सबै स्थानीय भाषामै गर्थेँ- रमाइलो अनुभव। सुरु सुरुमा मेरो तेतुङ भाषा त्यति राम्रो थिएन तर उनीहरूले ५०% सम्म बुझ्ने भइसकेको थियो, जबकि मैले अंग्रेजी राम्रो बोले पनि उनीहरूले २५% मात्र बुझ्दथे। त्यसकारण मैले तेतुङ नै बोल्ने गर्थेँ। स्थानीय गैरसरकारी संस्थामा हाफुन टिमोर लोरोसाय र नरोमन टिमोर फाउन्डेसन दुईटा प्रमुख थिए। यिनका डाइरेक्टरमा क्रमशः माउन भेलाइन्तेन कोको र माउन असला थिए। यहाँ नामको पछाडि 'जी' लगाए जस्तै त्यहाँ नामको अगाडि 'माउन' भनेर सम्बोधन गरिन्थ्यो।
२००६ को अशान्तिको बादल मडारिइ नै रह्यो। फेब्रुअरी २००८ मा मेजर अल्फ्रेदो रेइनादोले तत्कालीन राष्ट्रपति जोसे रामोस होर्ता र तत्कालीन प्रधानमन्त्री सानाना गुस्माओलाई हत्या गरी सैनिक विद्रोह गर्न खोज्दा फेरि केही अशान्ति भएको थियो। त्यो बेला राष्ट्रपतिलाई नजिकैबाट गोली लाग्दा पनि उनलाई बचाउन सफल भए भने प्रधानमन्त्री जंगल जंगल भागेर विद्रोहीको आक्रमणबाट बचेका थिए। उनी इन्डोनेसियाको शासन ताका टिमोरका विद्रोही कमान्डर थिए। अल्फ्रेदो रेइनादोलाई राष्ट्रपतिका सुरक्षा गार्डले तत्कालै हत्या गरेपछि सैनिक विद्रोह असफल बनाइयो। म र मेरो परिवार तत्कालै बालीको राजधानी देन्पसारमा इभ्याकुएट भएका थियौँ। एक हप्ता पछि स्थिति सामान्य भएपछि फेरि दिली नै फर्केको थिएँ।
यस्ता छिटपुट घटना भई नै रहेको हुन्थ्यो। तर मलाई यस्ता घटनाले खासै विचलित बनाएको थिएन। मेरो जीवन रमाइलो बितिरहेको थियो परिवारसँगै भएको यसको मुख्य कारण हो भन्ने मेरो ठम्याइ छ। मेरो सानो छोरी नुर त सातै वर्ष मसँगै थिई भने ठुलो छोरी प्रगतिले एसएलसीपछि दुई वर्ष दिलीमै बसेर डिस्ट्यान्स लर्निङ गरेकी थिई। बिहान घरबाट निस्केर दिउँसोको खाना घरमै खान आउँथेँ अनि बेलुका पनि घरकै खाना परिवारसँग। एक्स्प्याटहरूमा म मात्र एक्लो परिवारवाला थिएँ।
मेरो घरमा झन्डै झन्डै प्रत्येक हप्ता जसो भेटघाट कार्यक्रम भइरहेको हुन्थ्यो। सृजनाले नेपाली दालभात लगायत मालपुवा, हल्याण्ड चिकेन, मासको बारा आदि पकाएर ख्वाएको धेरैले अहिलेसम्म सम्झन्छन् र हामीप्रति कृतज्ञ हुन्छन्। खाना जीवनमा कत्तिको महत्त्वपूर्ण हुन्छ भन्ने कुरा घर-परिवार छोडेर बाहिर गएकालाई मात्र थाहा हुन्छ। उहाँहरूले काठमाडौँ आउँदा बडो सम्मानका साथ घरमा खाना खान बोलाउनुहुन्छ। केही महानुभावहरूको नाम यहाँ उल्लेख गर्न चाहन्छु- सानुजी, सुष्माजी, डा. अमिता, डा. ओके. ध्रुवजी आदि। सुष्माजी जीआईजेडमा कामको सिलसिलामा ३ महिनाको लागि दिलीमा आउनु भएकाे थियाे। संयोगबस उहाँको बसाइ दौरानमै एक रात पुरै बैरोपितेमा दुईटा समूह बिचमा गोली चलेको थियो सन् २०१० ताका। उहाँ त्यतिबेला कार्ला मेन्सन भन्ने होटेलमा बस्नुहुन्थ्यो जुन बैरोपितसँगै थियो। भोलिपल्टको बिहानै उहाँ हामी बसेको ठाउँ कुलुहुनमा आउनुभयो अलि आत्तिएको मनस्थितिमा। उहाँ तीन दिन जति हामीसँगै बस्नुभयो। टिमोरको कुरा सम्झँदा उहाँ भन्नुहुन्थ्यो- 'तपाईँहरू नभएको भए म टिमोरमा तीन महिना बस्न सक्दिन थिएँ।'
मैले तीन जना आफ्नै नेपाली साथीहरू र दुई जना इन्डोनेसियाकालाई डलर कमाउने इन्जिनियरको जागिर दिएको सम्झँदा अहिले पनि आफैँलाई धन्य सम्झन्छु। छोटो समयको तालिम दिन लगाउने काम पनि ६ जना नेपालीलाई दिएको थिएँ। यो पनि मेरो टिमोर बसाइको अमूर्त सम्पत्ति हुन् जसबाट म आत्मसन्तुष्टि लिने गर्छु। एकजना क्यानडाकी महिला इन्जिनियर चाहिँ मसँग टिकेर जागिर खान सकिनन्, त्यसको लागि म अलिकति प्रायश्चित गर्ने गर्छु।
म एउटा देशबाट फर्केर आएको भोलिपल्टै इन्डोनेसियाको प्रख्यात सहर डेनपसार स्थित ट्राभल एजेन्टकी रत्ना हरियाडीलाई मेरो अर्को भ्रमणको तालिका दिएर फ्लाइट बुकिङ गर्न लगाउँथेँ। डेनपसार र अस्ट्रेलिया त म ठमेलमा बस्ने मानिसलाई असन गए जस्तै नै थियो। पूर्वी टिमोर जान डेनपसार भएरै जानु पर्थ्यो। अस्ट्रेलियाको मेलबर्न मेरो अफिस नै भइहाल्यो। डेनपसार एउटा रमणीय सहर हो- इन्डोनेसियाको एउटा मात्र हिन्दु बाहुल्य भएको सहर। यहाँ असंख्य हिन्दु मन्दिर छन्। एउटा कुरा रोचक लाग्यो - कुनै मन्दिरमा पनि देउता चाहिँ नभएको।
कारण के भनेर बुझ्दा यो महाभारत कथासँग जोडिन्छ जुन यस प्रकार छ। राम १४ वर्षको वनवासको सिलसिलामा यहाँ पनि आएका रहेछन्। यसै अवधिमा रामलाई भगवान् नै मानिसकेका थिए यहाँका मानिसहरूले। वनवास सिद्धिएपछि राम फर्कने भए। डेनपसारबासीहरू अति नै दुःखी भए। रामको सम्झनामा मन्दिर त बनाए तर भगवान् बिनाको (भगवान् रामले छोडेर गएको भन्ने सांकेतिक भाव)। समुद्री तट पनि भएकोले दृश्य अति नै रमाइलो। कहिले लन्डन, कहिले कम्बोडिया, लाओस, गोवा त कहिले बैंकक पुगिरहन्थेँ। त्यो बाहेक, वर्षको दुई पटक बिदामा कहिले नेपाल त कहिले जापान, चीन गइन्थ्यो। २००५ को नोभेम्बर देखि २०१३ को मार्च महिनासम्मको अवधि मेरो व्यावसायिक तथा व्यक्तिगत जीवनको दृष्टिकोणबाट रामराज्य सरह नै थियो- आफूलाई जे मन लाग्यो त्यही गर्न पाएको। विलासिताको सीमा हुन्न भने जस्तै म पटक पटक प्लेन चार्टर गरेर सामे जिल्लाको मानुफाई भन्ने सहरमा योजना अवलोकन गर्न जान्थेँ। यो बाटो गाडीमा सात घण्टा लाग्थ्यो, प्लेनमा २५ मिनेट।
पूर्वी टिमोरको छोटो परिचय दिनु पर्दा, पोर्तुगाली भाषामा टिमोर-लेस्टे भनिन्छ। यो देशलाई पोर्चुगालीले ४५० वर्षसम्म उपनिवेश बनाउँदै सन् १९७५ मा स्वतन्त्रता प्रदान गरेको थियो। कफी यहाँको प्रमुख नगदे बाली हो। मैले यहीबाटै अर्गानिक कफी पिउन सिकेको हो। स्वतन्त्रताको सास फेर्न नपाउँदै, १९७५ देखि इन्डोनेसियाले बलजफ्ती कब्जा गरे। यस अवधिमा इन्डोनेसियाको क्रुर शासकले अमानवीय दमन गरेको र पूर्वी टिमोरका जनताले स्वतन्त्रता आन्दोलन छेडेको थियो। फलस्वरूप २००२ मा यो देशले स्वतन्त्र हुने अवसर पायो। त्यसपश्चात् पनि आन्तरिक द्वन्द्व भई नै रह्यो स्वतन्त्रताका पक्ष र विपक्षका बीच। त्यसैकारण शान्ति स्थापनार्थ युएनले अस्थायी शासन बागडोर सम्हालेको अवस्था थियो। युएन स्पेसियल रेप्रिजेन्टेटिभमार्फत पुलिस र स्थानीय प्रशासन सञ्चालन हुन्थ्यो। नेपालीहरू पनि युएनको जागिर खाएर आउने निकै थिए। शान्ति बहालीको संकेत देखिएकोले मे २००६ सम्म युएनको मिसन अन्त्य गर्ने तयारीमा लागिसकेको थियो। अचानक मे २००६ मा दिलीमा घटेको घटनाले युएनको मिसनलाई थप लम्ब्यायो। पूर्वी टिमोर शान्ति उन्मुख भएकोले वाटर एडले २००५ को अन्त्यतिरै यहाँ खानेपानी तथा सरसफाइको कार्यक्रम सुरु गर्ने नीति अनुरूप जनवरी २००६ को पहिलो हप्तामा म, सृजना र छोरी नुर पूर्वी टिमोर गएका थियौँ।
२०१० तिर दिली लगायत टिमोरको सुरक्षा अवस्था सामान्य भइसकेको थियो। यसै बीच मेरो घरमा सुरक्षाको लागि भनी १००० युएसडी प्रति महिना खर्चेर गरिआएको प्रबन्धलाई पनि निरन्तरता नदिने निर्णय गरेँ। यो सुरक्षा प्रबन्धअन्तर्गत एकजना सुरक्षा गार्ड २४सै घण्टा मेरो घरमा पहरा दिने व्यवस्था थियो। घरमा सुरक्षा गार्ड नहुँदा एकपटक मेरो घरको मुख्य ढोका झन्डै झन्डै तोडेर रातको २ बजे चोर/डाका पस्न लागेको थियो। यो समयमा म, सृजना र नुर घर भित्रै थियौँ। भोलिपल्टको बिहान मात्र थाहा भयो कि रातमा के भएको भनेर। राति २ बजेको समयमा डाकाहरूले घरभित्र पसेर लुट्न काठको फलेकबाट बनेको मूल ढोका फोड्न खोज्दै थिए। यही सिलसिलामा साराक सुरुक आवाज आएछ। नुर चाहिँ त्यो दिन आफ्नो कोठामा नसुती टिभी हेर्दाहेर्दै यही बैठक कोठाको लामो बेतको कुर्सीमा निदाइछ। आवाजले नुरलाई ब्युँझाएछ र के भो के भो भन्ने परेछ। उसले भने अनुसार हावाले झ्याल हल्लाए जस्तो लाग्यो रे, कुर्सीमा बसेरै ठ्याक्कै अगाडि रहेको मूल ढोकामा आधी निद्राको तालमा ट्वाल्ल एकटक हेर्दै थिइन रे। ठिक त्यही बेला ती चोरहरूले भित्र कोही जागेछन् कि भनेर ढोकाको भेन्टिलेटरबाट हेरेको मात्र के थियो नुर पनि एकसुरमा ट्वाल्ल परेर हेरेको देख्दा ती चोरहरूको के मनोविज्ञान भयो तिनीहरूले नै जानुन् तर भित्र पस्ने विचार त्यागेको देखियो।
नुरले के भयो पत्तो नै पाइनन् सायद उनी कन्फ्युज थिइन् होला- ९ वर्षकी बालिकाले यो सब प्रोसेस नै गर्न सकिनन् होला, त्यही भएर उनले हामीलाई राति उठाउन पनि आइनन्, आफू पनि त्यसपछि मस्त सुतिन्। बिहान ढोकाको अवस्था देखेर नुरसँग कुरा गरेपछि मात्र हामीले के भएको र के हुन सक्थ्यो भन्ने थाहा पाइयो। यो घटनामा ती चोरहरू ढोका फोडेर भित्र पसेको भए के हुन्थ्यो भनेर सम्झँदा अहिले पनि जीउ चिसो भएर आउँछ। यो पनि टिमोरको बसाइमा हुन सक्ने तर टरेको घटनाको रूपमा सम्झने गर्छु। यो भएन त्यो भएन भन्नेलाई जीवन भोगेकाहरूले भन्ने गरेको सुनेको छु- 'यो भन्दा अवस्था खराब हुन सक्थ्यो।' यी घटनाहरूलाई हेर्दा जे छ ठिक छ, त्यो भन्दा खराब हुन सक्थ्यो। मेरो यो जीवन दर्शन भएको छ।
अधिकांश टिमोरिज क्याथोलिक धर्म मान्छन्। टिमोरमा आफ्नो घर-परिवारमा कोही मर्यो भने आफ्नै आगनमा गाड्ने चलन रहेछ। मेरो घरमा पनि घरकै १० मिटर दुरीमा एकजना घरपतिको आफन्ती गाडेको रहेछ। सुरुमा त थाहै भएन तर घर सरेको दिन मात्र देखियो। धेरै घर जलाएकोले उपयुक्त घर तत्काल पाउन गाह्रो। एकजना अस्ट्रेलियन साथी तिम बजले खोज्दिएको घर। आफूलाई डरछेरुवा भन्ला भनेर पनि पिर। विदेशमा काम गर्न आएको र घर छेउमा सिमेट्री भएकोमा डराउने मानिसले के काम गर्ला भन्ने पनि पिर। आफूले त मन गह्रौँ गरेर सम्हाल्न खोजेँ तर सृजना र नुरको मानसिकता के होला भन्ने पनि त छ नि। मैले त त्यो खाली सांकेतिक मात्र हो खासै लास नै गाडेको होइन भनेर झुटो सान्त्वना दिएँ- वास्तविकता त आफूलाई मात्र थाहा थियो। मेरो कोठाको झ्याल त्यही लास गाडेको ठाउँ तिरै फर्केको थियो।
पहिलो हप्ता त रातभरि निद्रा लागेन। झन्डै झन्डै दुई हप्तासम्म त डरले अप्ठ्यारो नै पार्यो। अरू विकल्प नभएपछि सहेर बसियो। झन्डै ३ वर्ष बिताइयो यस्तो घरमा। नेपाली लगायत विदेशी पाहुना आउँथे। नेपालीहरूले त 'ए यस्तो रहेछ नि हगि' भनेर त्यो सिमेट्रीको कुरा कोट्याउँथे तर विदेशीलाई बाल मतलब थिएन। यसै बिचमा आफ्नो धैर्य त्यति बेला टुट्यो जब त्यो घरपतिको कुपाङ (पश्चिम टिमोरको प्रमुख सहर) मा मरेको आफन्तीलाई पनि त्यही पहिलो लास गाडिएकोसँग साटेर गाड्ने भनेर तयारीमा जुटे। मलाई त असह्य नै भयो। यो लास गाड्ने रिच्युलको अवधिमा हामी झन्डै ४ दिन त दिलीबाट बाहिर घुम्न निस्किएका थियौँ हेर्न नपरोस् भनेर। त्यसको एक दुई हप्तामै अर्को घर खोजेर बेमोरी टोलमा घर सरेँ।
आफ्नो जागिरको कुरा गर्ने हो भने अति नै आराम तथा सहजपूर्ण थियो। जागिरमा एकपटक मात्र असहज परिस्थिति आएको मेरो ठम्याइ छ। सन् २००७/२००८ तिर खुला दिसा मुक्त अभियानको निकै प्रसिद्धि थियो। मैले पनि यही अवधारणाबाट सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निधो गरेँ। नेपालमा काम गर्दा यो अवधारणाको सतही जानकारी त थियो नै। उता अस्ट्रेलियाले पनि चर्पीमा सहुलियत दिने पुरानो अवधारणाभन्दा खुला दिसा मुक्त अभियानकै अवधारणा उपयुक्त हुन्छ भनेर सुझाए र यही अवधारणा अनुरूप सञ्चालन गर्नु पर्छ भन्ने मेरो पनि मान्यता थियो नै। आफूले जाने अनुसार गरियो। यो अवधारणाको स्रोत व्यक्ति नै भएँ म टिमोर देशमा। एक वर्षको परीक्षणपछि टिमोर भरिका सरकारी तथा गैरसरकारी संस्थामा यसको अनुभव साझा गरियो। विदेशबाट यो कार्यक्रमको मूल्याङ्कन गर्न पनि आए। तर यसको मूल्याङ्कनको प्रतिवेदन सकारात्मक दिएनन्। बनेका शौचालय संरचनाको स्तरको आधार मात्र हेर्यो, व्यवहारमा परिवर्तनको आयामबाट हेरेन। तत्कालीन प्रधानमन्त्री सानाना गुस्माओले त शौचालयको स्तरलाई औँल्याउँदै 'यस्तो मेरो बाउबाजेले प्रयोग गर्ने स्तरको शौचालय अहिलेको अवस्थामा उपयुक्त हुन्न' भनेर ठाडै अस्वीकार गरे रे। यो अवधारणा ठिक हुँदाहुँदै पनि नयाँ देश नयाँ परिस्थितिमा प्रयोग गर्दा अवलम्बन गर्नु पर्ने प्रक्रियामा कमी कमजोरी हुँदा मैले अलिकति अप्ठ्यारो परिस्थितिको सामना गर्नु पर्यो। यो परिस्थितिमा मेलबर्नमा बस्ने मेरो हाकिम पिटर ड्वानले मलाई निकै सहयोग र हौसला दिएका थिए। मेरो लागि सिकाइ चाहिँ नयाँ अवधारणा होस् या प्रविधि, यसको परीक्षण गर्दा तयारी निकै गर्नु पर्छ।
पिटर ड्वानले त्यति सकारात्मक दृष्टिकोण नराखिदिएको भए सायद २०१० तिरै मैले टिमोर छोड्नु पर्थ्यो होला। त्यसैले पिटरलाई म यहाँ भित्री मनबाट सम्झन चाहन्छु। पिटरकी श्रीमती क्रिस्टिएन, एक छोरा ह्यारी तथा एक छोरी क्याथरिनका साथ मेलबर्नमा बस्छन्।
टिमोरमा जेम्स विकन, अलेन इथ्रिङ्गटन, ब्रेन्ट विल्ली, सिबेश चन्द्र रेग्मी, ग्रेग ह्वाइटसाइड जस्ता चिरपरिचित व्यक्तिहरूलाई पनि फेरि भेट्दा रमाइलो यादगार बस्यो।
विभिन्न भय, त्रास, अप्ठ्यारा परिस्थितिको बाबजुद टिमोरले मलाई धन, मान, सान त दिए दिए- त्यसबाहेक एउटा जीवन जिउने महत्त्वपूर्ण शौक (हब्बी) पनि दियो। यो शौक धारण गराउन मुख्य भूमिका खेल्ने तिम बज हुन्। उनी 'प्लान' भन्ने संस्थाका डाइरेक्टर हुन् र उनी अस्ट्रेलियाका हुन्। उत्तम व्यक्ति, अति नै प्रगतिशील विचारधारा। उनले मलाई साइकल चलाउन प्रोत्साहन गरेका थिए २००७ तिर। मैले पनि उनको हौसला बमोजिम काठमाडौँ आएको बेला ३०००० रुपैयाँमा ट्रेक ब्रान्डको साइकल किनेर पूर्व टिमोरमा उतारेँ हवाईजहाजमार्फत- सृजनाले ल्याएकी हुन् उनी आउँदा। साइकल चलाउँदा मैले रमाइलो मात्र गरिनँ कि विभिन्न संघ संस्थाका हाकिमहरूसँग पनि परिचित भएँ, त्यसमध्ये राइनर (जर्मन) सँग मेरो अहिले पनि संवाद हुन्छ र नेपालमा दुई पटक साइकल चलाउन आइसकेको छ। साइकलले गर्दा तत्कालीन अवस्थामा मलाई मेरो जिम्मेवारीलाई निभाउन नभई नहुने नेटवर्कलाई बढावा दिन पनि निकै मद्दत पुगेको थियो।
मैले अर्को एउटा दक्षता पनि हासिल गरेँ, त्यो हो स्कुबा डाइभिङ। यो समुद्रमा अक्सिजनको सिलिन्डर लिएर पौडिने कला हो। मैले ८-१० चोटि डाइभिङ गरेको छु, समुद्रको सतहभन्दा १८ मिटर तलसम्म पुगेर कोरलमा माछाको दृश्यावलोकन गरेको छु। अहिले झल्झल्ती याद आउने समुद्री माछामा सी-हर्स अथवा समुद्री घोडा हो। स्नोर्कलिङ त अनगिन्ती नै गरियो। श्रेय म टिमोरलाई दिन चाहन्छु।
निष्कर्षमा सात वर्षको टिमोर बसाइमा मैले मेरो व्यावसायिक सफलता मात्र होइन, भिन्न संस्कृति, भाषा, मौसममा आफूलाई समायोजन र आत्मसात् गर्ने क्षमता र गुण पनि सिकेँ। भिन्न प्रकृतिका मानिससँग काम गर्ने सिप र कला सिकेँ। अरूको भाषा, संस्कृति, रहनसहन प्रति समभाव दृष्टि राख्ने कला सिकेँ। भिन्न मानिसहरूसँगको नेटवर्कलाई कायम गरेँ र निरन्तरता दिएँ। यो संसार प्रतिको आफ्नो हेराइलाई व्यापक बनाएँ। लामो समयसम्म विदेशमा बस्दा स्वाभाविक रूपमा धैर्य, सहिष्णुता, समानुभूति र उन्नत समस्या समाधान गर्ने सीपहरूमा पनि बढावा भएको महसुस गरेँ।




