काठमाडौंका सुवान्स शाह अस्ट्रेलियाको राजधानी सिड्नीमा बस्छन्। उनी अस्ट्रेलियन इन्टरनेसनल एकेडेमीका सञ्चालक हुन्।
यो कलेजमा बाल हेरचाह, सामुदायिक सेवा, आतिथ्य व्यवस्थापन, सिभिल निर्माण तथा डिजाइन, नेतृत्व व्यवस्थापन, व्यवसाय, सूचना प्रविधि (आइटी) र अंग्रेजी लगायत दस वटाभन्दा बढी विषय पढाइन्छ।
'यहाँ विभिन्न देशबाट अंग्रेजी पढ्न पनि विद्यार्थी आउँछन्,' सुवान्सले भने।
उनका अनुसार यस प्रकारको शिक्षालाई भोकेसनल एजुकेसन भनिन्छ। यसलाई रोजगारीसँग प्रत्यक्ष जोडिएको सीपमूलक शिक्षा मानिन्छ। यस अन्तर्गत विद्यार्थीलाई किताबीय ज्ञानभन्दा बढी व्यावहारिक सीपमा दक्ष बनाइन्छ।
भोकेसनल एजुकेसनले छोटो समयमै रोजगारी वा स्वरोजगारको अवसर बढाएको छ। यस प्रकारको शिक्षालाई अस्ट्रेलियन सरकारले मान्यता दिएको उनले बताए।
विश्वविद्यालयमा पढ्न महँगो हुने भएकाले धेरै विद्यार्थी यस्ता कलेजमा भर्ना हुन्छन्। कक्षा १२ पूरा गरेपछि उनीहरू भोकेसनल एजुकेसन पढ्न आउने सुवान्स बताउँछन्।
'विश्वविद्यालय पढ्न महँगो हुन्छ, कलेज सस्तो हुन्छ,' सुवान्सले भने, 'विषय अनुसार पाठ्यक्रम दुईदेखि साढे दुई वर्षसम्मको हुन्छ। आवश्यक सीप हासिल गरेपछि कतिले कमाउँदै विश्वविद्यालयमा थप पढाइ अगाडि बढाउँछन्।'
अहिले नेपाल, पोल्यान्ड, भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, भियतनाम, ब्राजिल, जर्मनी, जापान, चीन, इन्डोनेसिया, फिजी, फिलिपिन्स लगायत १५ देशका विद्यार्थी अस्ट्रेलियन इन्टरनेसनल एकेडेमीमा पढ्न आउँछन्।

यहाँ पढ्न विद्यार्थीलाई विषय अनुसार वर्षको १० देखि १२ हजार अस्ट्रेलियन डलर खर्च लाग्छ। त्यसबाहेक कलेजले विद्यार्थीको आर्थिक र शैक्षिकस्तर हेरेर पूरा तथा आंशिक छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
कलेज पढ्दै जाँदा विद्यार्थीका लागि कलेजले नै पढाइ अनुसार जागिर पनि खोजिदिने सुवान्सले बताए।
'यो चाहिँ इन्टर्नसिप जस्तै हो। पैसा पाइँदैन। तर राम्रो काम गर्दै गयो भने कम्पनीले जागिरमै पनि राख्छन्,' उनले भने।
अस्ट्रेलियन इन्टरनेसनल एकेडेमी पहिले तीन ठाउँमा थियो। विद्यार्थी संख्या घटेपछि एक वर्षदेखि एक ठाउँमा मात्र सञ्चालित छ। सरकारले प्रवासी विद्यार्थी हटाउने नियम ल्याएपछि विद्यार्थी कम भएको उनले बताए।
'सरकारको नियमका कारण प्रवासी विद्यार्थी घटे, त्यसको असर कलेजमा पर्यो,' उनले भने।
सुवान्स अस्ट्रेलिया गएको २७ वर्ष भयो। उनको जिन्दगीको अधिकांश समय पढ्न र पढाउनमै बित्यो।
अस्ट्रेलिया जानुअघि उनी काठमाडौं विमेन्स कलेजमा रसायनशास्त्र (केमेस्ट्री) विषय पढाउँथे। काठमाडौंका ट्युसन र कोचिङ सेन्टरमा पनि कक्षा लिन्थे। त्यही क्रममा उनको एक जना विद्यार्थीका अभिभावकसँग भेट भयो। तिनै अभिभावकले उनलाई विदेश जान प्रेरित गरे।
'उहाँ भर्खरै विभिन्न देश घुमेर आउनुभएको रहेछ। तपाईं विदेश जानु राम्रो हुन्छ भन्नुभयो,' उनले सुनाए।
त्यति बेला अहिले जस्तो विद्यार्थी भिसामा विदेश पठाउने धेरै संस्था थिएनन्। ती व्यक्तिले नै उनलाई शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) लगिदिए।
आवश्यक प्रक्रिया पूरा गरेर उनी सन् १९९९ अगस्टमा अस्ट्रेलिया उडे। अस्ट्रेलिया गएपछि एक विश्वविद्यालयमा सूचना प्रविधि (आइटी) विषय पढ्न थाले। उनी कलेज पढ्दै होटल, रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरमा पार्ट–टाइम काम गर्थे। त्यसले उनको खर्च पुग्थ्यो।

सुवान्सले स्नातकोत्तरमा विश्वविद्यालय टप गरे। त्यसपछि त्यहीँ जागिर पनि पाए। सन् २००५ देखि २०१२ सम्म विश्वविद्यालयमै बिजनेस विभाग प्रमुख भएर काम गरे। उनलाई विश्वविद्यालयले भाइस चान्सलर अर्वाडबाट सम्मान पनि गर्यो।
त्यसपछि सुवान्सले जागिर छाडेर एमबिए गरे। त्यो बेला पनि उनी विद्यार्थीहरूलाई सहजीकरण गर्थे। विद्यार्थीबाट सोधपुछ बढी हुन थालेपछि उनले आफै काउन्सिलिङ तथा सहजीकरण कम्पनी सुरू गरे।
'विद्यार्थीले नै कम्पनी खोल्न सुझाव दिएका थिए मलाई,' उनले भने।
एक दिन उनले साथीमार्फत एउटा कलेज बिक्रीमा भएको सूचना पाए। त्यसपछि चार वर्ष चलाएको काउन्सिलिङ कम्पनी बेचेर सन् २०१७ बाट कलेज चलाउन थालेका हुन्।
कलेज सुरू गरेको एक वर्षमै थप दुई ठाउँमा खोले पनि पछि बन्द गर्नुपर्यो।
सुवान्सका अनुसार अस्ट्रेलियामा शिक्षा उद्योग अस्ट्रेलियन सरकारको नीतिमा भर पर्छ। सरकारले आप्रवासीलाई कडाइ गर्यो भने कलेजमा विद्यार्थीको संख्या कम हुन्छ।
'आप्रवासी नीति सहज भएका बेला बर्सेनि १४ देखि १५ हजार विद्यार्थी थपिन्छन्,' सुवान्सले भने।