नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित कर्णबहादुर बुढा डोल्पाका प्रभावशाली नेता हुन्।
उनलाई विशेष महाधिवेशनले 'पिछडिएको' क्लस्टरबाट सहमहामन्त्री चयन गरेको हो।
बुढा २०७६ सालमा कांग्रेस प्रवेश गरेका थिए। त्यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य थिए। उनी २०४८ सालदेखि राप्रपामा लागेका थिए।
उनी राप्रपामा तीन पटक निर्वाचित केन्द्रीय सदस्य र एकपटक सहमहामन्त्री मनोनीत भएका थिए। उनले राप्रपाबाटै तीन पटक प्रतिनिधिसभा चुनाव लडेका थिए। तर तीनै पटक पराजित भए।
उनी २०५१ मा कांग्रेसकै बागी उम्मेदवार मोतिप्रसाद पहाडीसँग पराजित भएका थिए। त्यसपछि २०५६ मा एमालेका नरबहादुर बुढाथोकी र २०६४ मा तत्कालीन माओवादीका रामबहादुर बोहरासँग पराजित भएका थिए।
२०७४ मा राप्रपाले थ्रेसहोल्ड नकटाएपछि राष्ट्रिय दल हुन सकेन। त्यसपछि आफूलाई पार्टीमा बसिरहन उपयुक्त नलागेको उनले बताए।
'खेलाडी हुँ। मैदान त चाहियो भनेर कांग्रेसतिर लागेँ,' बुढाले बिहीबार सेतोपाटीसँग भने।
२०७६ मा कांग्रेस प्रवेश गरेपछि उनी केन्द्रीय सदस्य मनोनीत भएका थिए। १४औं महाधिवेशनबाट हृदयराम थानीलाई एक मतान्तरले पराजित गर्दै बुढा केन्द्रीय सदस्य चयन भएका थिए।
संस्थापनतर्फकै भनेर चिनिने बुढा नेतृत्व परिवर्तनको बहस हुन थालेपछि गगन थापा र विश्वप्रकाश शर्मासँग नजिक हुन पुगे।
'केन्द्रीय कार्यसमिति बैठकमा बारम्बार नेतृत्व परिवर्तनको पक्षमा आफ्नो धारणा राख्दै आएको थिएँ। राणा र पञ्चायतविरूद्ध लडेको पार्टीभित्रै यस्तो हुनु हुँदैन भन्दै आएको थिएँ,' उनले भने।
कर्ण बुढालाई डोल्पाबाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस गरिएको थियो।
उनका भाइ धनबहादुर बुढा नेपाली कम्युनिस्ट पार्टीका नेता हुन्। धनबहादुर तीन पटकसम्म डोल्पाबाट निर्वाचित भएका थिए। यसपालि पनि धनबहादुरलाई नेकपाले उम्मेदवार सिफारिस गरेको छ। उनी उम्मेदवार भए डोल्पामा दाजुभाइको भिडन्त हुने पक्का छ।
'परिवारको हिसाबमा भ्रातृत्व कायम नै रहन्छ, तर वैचारिक हिसाबमा परिस्थितिले त्यस्तै अवस्था ल्यायो भने दाजुभाइबीच प्रतिस्पर्धा हुन सक्छ,' उनले भने।
यी पनि पढ्नुहोस्: