सान्नानी आज न हर्ष न विस्मात्, न खुसी न दुःखको अवस्थामा अँध्यारो शून्य आकाशमा नियालेर बसेकी छन्। उनको कोठामा न बत्ती नत चुलो नै बलेको छ। एकातर्फ उनको दिमाग शून्य छ भने अर्कातर्फ आफू के थिएँ, के भएँ र अब के हुन्छु भन्ने हिजो र आजको यथार्थ तथा भोलिको अनिश्चिततासहितको ज्वारभाटा चलिरहेको छ।
उनले ठुलो संघर्षपछि आज एउटा सफलता त प्राप्त गरेकी छन् तर यो सफलतामा खुसियाली मनाउने अवस्था भने उनको छैन। ठुलो रस्साकसी र संघर्षपछि आज पतिसँग सम्बन्धविच्छेदको फैसला त भएको छ तर उनकी एकमात्र छोरी उनको मुटुको टुक्रा उनीबाट खोसिएको छ। आज उनकी छोरी साथमा छैन। छोरी आफूले पाउन उनले के मात्र गरिनन् तर छोरी बालिग भएपछि बाबु वा आमासँग बस्ने उसैले छनोट गर्ने गरी बालिग नभएसम्मका लागि छोरी बाबुकै जिम्मामा राख्ने फैसला भयो।
छोरीलाई आफूबाट अलग नगरियोस् भनेर रोइन्, कराइन्, गिडगिडाइन् तर केही सीप लागेन बालिग नभएसम्म छोरी बाबुकै संरक्षणमा रहने फैसला भयो। हेर्दा हेर्दै छोरीलाई आफूबाट खोसेर सम्बन्धविच्छेद भइसकेको लोग्नेले लिएर गयो। एउटी विवश आमाकारुपमा उनले ‘किमकर्तव्यविमूढ’ भएर हेर्दै रुनु र चिच्याउनु बाहेक केही गर्न सकिनन्। लोग्नेले दिने भनेको केही सम्पत्ति लिन अस्वीकार गरेर आफूले छोरी लिएर घर छोडी पहिलेदेखि नै भाडामा बसेको कोठामा आएर डङ्ग्रङ्ग खाटमा पल्टिन्। अघिसम्म आफूसँगै भएकी छोरी अब थिइनन्। भावशून्य रुपमा केहीबेर पल्टेपछि उनी बाहिर निस्केर आफू शून्य भएर शून्य मैं नियालिरहिन्।
धेरैबेर त्यसरी नै बसेपछि अब शून्यबाट फर्केर उनको मनमस्तिष्कमा विगत घुम्न लाग्यो। उनको जन्म मधेशका पहाडे जिम्दारका घरमा भएको थियो। उनले थाहा पाउने भएदेखि नै दुःख भनेको केही उनलाई थाहा थिएन। ४ दाजुभाइ र ३ दिदीबहिनी मध्ये सबैभन्दा कान्छी उनी भएकाले सबैले उनलाई सान्नानी भन्दाभन्दै उनको नाम नै सान्नानी रहन गयो।
जिम्दारको घरमा नोकर चाकर घोडा र हात्तीसम्म थिए। पछि–पछि यता उता हिँड्न गाडी र खेत जोत्न ट्रयाक्टर समेत हुन्थ्यो। कतै जानुपरे अवस्था अनुसारका साधन प्रयोग गर्न पाइन्थ्यो। केही नभए पालकीमा राखेर ४ जनाले बोकेर लाने सम्मको व्यवस्था हुन्थ्यो। यस्तै सुखसयलमा उनी हुर्की–बढी गरिन् भने विद्यालयमा जाने उमेर भएपछि विद्यालय गइन् र विद्यालयको पढाइ पार गरिसकेपछि क्याम्पस पढ्न थालिन्।
उनका दिदीहरूको विवाह भइसकेको हुँदा क्याम्पस पढ्दै गरेकी सान्नानीका लागि उपयुक्त केटाको खोजी हुन थाल्यो। यसै क्रममा उनले प्रमाणपत्रतह सम्मको अध्ययन पनि पूरा गरिन्। अब स्नातक तहमा भर्ना हुनुपर्नेमा अब विवाह गर्ने हाल क्याम्पस भर्ना नगर्ने भनेर घरबाट दबाब हुन थाल्यो। तथापि स्नातक भर्ना भई अध्ययन गर्ने र विवाह गर्न केटो भेटिएको अवस्थामा बिहे गर्ने सर्तमा उनी स्नातकमा भर्ना भई पढ्न थाले तापनि काठमाडौँको सम्पन्न परिवारको एमए.पास भइसकेको केटो प्रस्ताव आएकोले घरमा छलफल हुन लाग्यो।
सबैले काठमाडौँको सम्पन्न घर र केटो पनि पढेलेखेको हुँदा उम्काउन नहुने भन्ने तय भई केटा केटी हेराहेरसम्म गराउने र त्यसका लागि केटो र परिवार यतै बोलाउने कुराको टुङ्गो लगाउने निर्णय भयो। केटाकेटी हेराहेरको कार्यक्रमसँगै बिहेको कुरो छिनियो। तर हेराहेरबाट के कस्तो लाग्यो भनेर केटाकेटी कसैलाई सोध्नु आवश्यक ठानिएन र केटाकेटी भेटेर कुराकानी गर्ने अवसर पनि दिइएन। सान्नानीले केटातर्फ एक झलक हेरेकोसम्म हो, झलक्क हेर्दा केटो अनुहारले राम्रै देखिएको भएपनि एक हेराइमा राम्रो वा नराम्रो आनी बानी के कस्तो हो थाहा पाउने कुरो भएन। त्यसपछि धुमधामसँग विवाह भयो।
मधेशको प्रचलनअनुसार नै पर्याप्त दाइजो दिइयो र विवाहको विधि विधान पूरा भएपछि सम्पन्न घरकी बुहारी बनी नयाँ जिन्दगी रमाइलोसँग बिताउने सपना बोकी माइतीबाट अन्मिएर पतिका साथ सान्नानी काठमाडौँ आइन्। यता घरमा भित्रिने बेलामा पनि तामझाम धेरै नै थियो। बेहुली भित्र्याउने विधि विधान पूराभएपछि बेहुलो ‘एकछिन साथीभाइसँग रमाइलो गर्छु’ भनी गयो। बेहुली (उनी) एक्लै खाना खाई अन्य महिलाका सहयोगमा कोठामा गई बसिन्। बेहुलो अबेला राति केही लरबराउँदै कोठामा प्रवेश गर्यो र साथीहरूसँगको रमाइलोमा केही ढिला भएकोमा क्षमा माग्यो। अहिलेसम्म गह्रौँ रहेको सान्नानीको मन हलुङ्गो भयो। तर बेहुलो सामान्य अवस्थामा भने नरहेको थाहा पाएपछि भने मन केही अमिलियो।
एक/दुई दिनपछि दुल्हन फर्काउने कार्य भयो। दुवैजना गएर एक दिन माइतमा बसी तराईको रीति रिवाज अनुसार टन्न कोसेलीपात सहित सान्नानी कर्मघरमा भित्रिइन्। लोग्ने दिनभर घर नबस्ने र बेलुका केही धरमरिँदै घर आउने भए पनि केही दिन ठिकै चल्यो।
काठमाडौँको सम्पन्न घरकी बुहारी अनि आफू पनि सम्पन्न घरकै छोरी भए पनि छोरी हुनु र बुहारी हुनुमा आकाश जमिनको फरक थियो। माइतमा हुँदा उनले कुनै काम गर्नु पर्दैनथ्यो। सबै काम नोकरचाकरले गर्ने र भात भान्साको सामान्य काम पनि भाउजूहरूले नै गर्ने हुँदा उनले कुनै काम गरेको र जानेको पनि थिएन। तराईको भन्दा काठमाडौँको रीतिरिवाज नितान्त भिन्न थियो। नातागोता नन्द-आमाजूहरू आइरहने र उनीहरूलाई धेरै मान मनितो गर्नुपर्ने। काठमाडौँको सम्पन्न घर भएपनि भात भान्सा, लुगाधुने तथा सरसफाइको कामका साथै अवस्था अनुसार गाईवस्तु र खेतीपातीको काम समेत गर्नुपर्ने अवस्थाले गर्दा सान्नानी दिनभर र रातिसम्म पनि निकै नै व्यस्त रहन्थिन्।
माइतमा आफूले कुनै पनि यस्ता काम नगरेको हुँदा पहिले त त्यस्ता काममा अभ्यस्त हुन नै समय लाग्यो भने त्यस समयमा काम नजानेकी पाखे जस्ता आरोपका साथमा केही काम नजानेमा वा बिग्रेमा सासू, नन्द आमाजू लगायतले गाली गर्ने, जेठानीहरूले भरसक उनैलाई काममा पेल्ने र काम सिकाउनुको साटो गरेका कामलाई हाँसोमा उडाउने गर्थे। यति हुँदा हुँदै पनि लोग्नेको माया र सहयोग पाएको भए त उनलाई कुनै गुनासो हुने थिएन तर घरका अन्य महिलाको कुरा सुनेर लोग्नेले गाली गर्ने, कुनै काम त्यति पनि नजानेको भनेर खिसी ट्युरी गर्ने र अझ परिवारका अन्य महिलाहरूका सामनेमै ठुलो स्वरमा हकार्ने गर्न लाग्यो।
लोग्ने बिहान घरबाट निस्केपछि एकैचोटी राति हल्लिँदै घर आउने र सुरु सुरुमा जथाभावी माइतीको समेत नाम लिएर गाली गर्ने गरेकोमा पछि त कुटपिट पनि गर्न थाल्यो। विवाह अघि पढ्दै गरेको हुँदा पढाइ पूरा गर्ने छुट चाहिँ दिनुपर्छ भनेर बाबुमार्फत प्रस्ताव राख्दा जति पढे पनि पढ्न दिने भनेका थिए तर पढ्ने भन्ने त कहाँ हो कहाँ अब त उनको स्थान त नोकर्नी बराबरको भन्दा गए गुज्रेको हुन लाग्यो।
परिवारका सबैले पालैपालो यो भएन त्यो भएन भनेर गाली गर्ने अनि बेलुका लोग्ने आएपछि सबैले कुरा लाउने। हल्लिँदै आएको लोग्ने ती कुरा सुनेर जहाँ भेट्यो त्यही गाली गलौज, कुटपिट गर्न लाग्ने। त्यस्तो अति नै भएको र अरूसँग भन्दा केही सीप नलागेपछि ससुरालाई यस्ता घटना सुनाई आफूलाई साह्रै गाह्रो भएको भनेपछि उनले आराम गर्न १ हप्ताका लागि माइत जान अनुमति पाइन्। त्यस बेला उनी दुईजीउकी भइसकेकी थिइन्।
माइतमा पुग्नासाथ उनलाई देखेर सबै छक्क परे। दुईजीउकी हाड र छाला मात्र उनी अनुहार लगायत शरीरका विभिन्न स्थानमा चोटपटक समेत थियो। किन यस्तो भयो भन्दा रुने बाहेक केही नभनेपछि उनीहरूले पनि त्यति खोतल्ने आँट गर्न त सकेनन् तर सबैले ‘जसरी पनि घर गर्नुपर्छ। तँलाई त्यहीँ दिएको हो, हाल जे जस्तो भएपनि पछि सबै ठिक हुन्छ’ भनेर अर्ति उपदेश दिन थाले।
उनले ससुराबाट एक हप्ताको बिदा पाएको हुँदा एक हप्तापछि घर जाने तयारी भयो। दाजु उनलाई पुर्याउन जाने र त्यहीबेला बहिनीको घरमा के कस्तो अवस्था बुझेर पनि आउने सल्लाह भएपछि दाजुबहिनी काठमाडौँ आए। माइतबाट आएकी बुहारी धेरै कोसेली–पात नलिई सामान्य दुईचार पोका मात्र कोसेली ल्याएको देख्नासाथ सासू आगो भइन्। दाजुले नमस्कार गर्दा नमस्कार समेत नफर्काई सान्नानी ढोग्न जाँदा पर्दैन ढोग्नु भनेर कोठाभित्र पसिन्। सान्नानी त भित्र पसिन् तर बुहारीका साथमा को आएको हो? के हो? कुनै वास्ता नभएपछि दाजु ज्वाइँ भेटेर कुरा गर्न बाहिर बसिरहे। पछि ससुरा आएर औपचारिकताका २/४ कुरासम्म गरेर हिँडे। ससुरा गएपछि एकजना महिलाले चिया ल्याएर राखिदिइन्। चिया खाई ऊ ज्वाइँ भेट्न बसिरह्यो, अरू कसैले वास्ता गरेनन्।
राति ज्वाइँ मातेर हल्लिँदै आई कुनै औपचारिकताका कुरा समेत नगरी श्रीमती आफूसँग नसोधी माइत गएकी भन्दै श्रीमतीका कमी कमजोरी भनेर जथाभावी फलाक्न थाल्यो। जेठानले सम्झाउँदा उल्टै जथाभावी भन्दै भित्र पसी माइत गएर अनेक कुरा लगाएर दाजुलाई समेत लिएर आएकी भन्ने बहाना पारी बाहिर दाजुले सुन्ने गरी नै गाली गलौज गर्दै सान्नानीलाई कुटपिट गर्न लाग्यो। आफ्नै उपस्थितिमा बहिनीलाई कुटपिट गरेपछि दाजुलाई सह्य भएन र बहिनीलाई लिएर जाने प्रयास गर्यो तर उनले जान मानिनन्।
यसरी निस्केर गएत सधैँको लागि जानु पर्छ, फर्केर आउने बाटो बन्द हुन्छ भन्ने सोचेर तै टिक्न सकिन्छ कि भन्ने आशामा उनी दाजुसँग नफर्किने अडानमा रहिन्। लोग्नेले पनि ‘जाने भए जा तर फर्केर नआउने गरी जा’ भन्दै कुट्न झम्ट्यो। घरका अन्य मान्छे नसुने जस्तो गरेर कोठा-कोठामा बसिरहे। दाजु अब यहाँ बस्न सम्भव थिएन, ऊ निस्केर कतै होटलमा गएर बस्यो।
यसरी नै दिनहरू बित्दै गए। सान्नानीले कुटाइ नखाएको कुनै दिन भएन। उनलाई कुटाइ त अब सामान्य लाग्ने भयो। मार्छु भनेर लडाएर घाँटी समाउने र पेटमा, ढाडमा लगायत जथाभावी लात्ताले हान्ने गर्दा पेटको बच्चालाई असर गर्ने उनलाई डर थियो र भरसक यस्तो कुटाइबाट बच्ने प्रयास गर्थिन्। यस्तै बिचमा उनले छोरीलाई जन्म दिइन्। बच्चा भएपछि लोग्ने सुध्रेला कि भन्ने सान्नानीको सोचाइ पनि गलत भयो। छोरीलाई उसले हेर्दै हेरेन यद्यपि सासू लगायत घरका अन्य महिलाहरूले भने बच्चीलाई राम्रै गरे। सुत्केरी उम्केपछि सान्नानी दिन भर घरको भान्सा र अन्य काममा लाग्नुपर्ने हुँदा बच्चीलाई अरूले राम्रै हेरचाह गरे। यसले गर्दा छोरीका लागि भए पनि यस घरमा टिक्नु पर्छ भन्ने इच्छा अझ दृढ भएको थियो।
आफू बिहानदेखि रातिसम्म काममा व्यस्त हुनु पर्ने हुँदा केही समय निकालेर छोरीलाई दूध चुसाउनु बाहेक उनले छोरीलाई समय दिन सकिनन्। छोरी पनि हजुरआमा र घरका अन्य महिलाहरूकै रेखदेख र स्याहारसुसारमा रमेकै थिई, राम्रैसँग हुर्कँदै थिई। आमा र भाउजूहरूसँग रहेका बेला लोग्नेले पनि छोरीलाई रेखदेख गर्ने, बोक्ने, माया गर्ने गरेको देख्दा उनी प्रसन्न हुन्थिन् र छोरीका कारणले लोग्नेसँग आफ्नो पनि सम्बन्ध सुधार हुने कुरामा आशावादी हुन्थिन्। तर उनले सोचे जस्तो कहिल्यै भएन, बरु लोग्नेको अत्याचार अरू बढ्दै गयो।
साना-साना कुरामा निहुँ खोजेर जतिखेर पायो त्यतिखेर, जहाँ पायो त्यहीँ गाली गलौज गर्ने, कुट्ने, घोक्य्राउने, मुन्ट्याउने गर्न लाग्यो। कुटाइ नखाएको र चोटपटक नलागेको दिन भएन। कुटाइ र घोक्य्राइ मुन्ट्याइ त सामान्य नै भइहाल्यो भरसक हातखुट्टा भाँचिने र थलै पर्ने गरी ठुलो घाउचोट चाहिँ नलागिदिए हुन्थ्यो भन्ने मात्र उनको सोच हुने गर्थ्यो। लोग्नेले यस्तो यातना दिँदा पनि सासू र घरका अरू महिलाहरू देखेको नदेख्यै गर्ने, कहिले रमित हेरेर बस्ने र कहिलेकाहीँ त हाँस्ने समेत गर्थे। जीउभर चोट पटक र नीलडामले कतै खाली थिएन।
यो कुरा ससुरालाई पनि थाहा नभएको होइन तर उनीले पनि थाहा नपाए जस्तो गरेकाले असह्य भएर एक दिन मौका पारेर ससुरालाई सबै बेली विस्तार लगाइन्। ससुराले सबै कुरा धैर्यतापूर्वक सुने र भने- ‘यो सबै कुरा मलाई थाहा छ, मैले कतिपटक यसो नगर्न भनेर सम्झाएँ पनि तर रक्सीले बौलाहा बनाइसकेको छ, कसैले भनेको मान्दैन व्यवहार केही गरे सुध्रेन। अब तिमी बस्न सक्छ्यौ बस नभए आफू खुसी गर। छोरी हजुर आमासँग रतिएकै छ यहीँ छोडेर माइत जान्छ्यौ भने जाऊ म केही भन्दिनँ र घरका अरूले पनि केही भन्दैनन्, तिम्रो पीडा हामीले बुझेका छौँ। जसले सम्झाउन खोज्यो उसैसँग आइलाग्छ, के गरौँ?’
ससुराका यति कुरा सुनि सकेपछि उनी अब यस घरमा नबस्ने र छोरी पनि नछोड्ने निष्कर्षमा पुगी एकदिन छोरीलाई दूध खुवाउने भनेर छोरी च्यापी दिउँसो सबैको आँखा छली घरबाट निस्किन्। घरबाट निस्केर सरासर बसपार्क पुगिन् र मधेश (माइत) जाने बस चढिन्। पिछा हुने डरले अर्कै बस चढी बस परिवर्तन गर्दै उनी भोलिपल्ट माइत पुगिन् र सबै बेलिबिस्तार लगाउँदै आफू घरबाट निस्केर आएको र माइतमा पनि नबस्ने, केही दिनपछि छोरी लिएर काठमाडौँमै गएर डेरा लिएर बस्ने अनि लोग्नेसँग सम्बन् विच्छेदको मुद्दा हाली आफू स्वतन्त्र हुने।
आफू कमाइ गरी छोरी पाल्न सक्षम नभएसम्म माइतबाट खर्च दिन आग्रह गरिन्। घरबाट खोज्न त्यहाँ पनि आउने डरले ३/४ दिनसम्म बाहिरै आफन्त कहाँ बसिन्। यस बिचमा सान्नानी माइत आए नआएका सम्बन्धमा घर तर्फबाट टेलिफोनमा कुरा भयो। आएको थाहा पाएपछि केही दिनपछि छोरी चाहिँ ल्याइदिनु पर्ने, सान्नानी त्यतै बसे पनि बसुन् वा आफू खुसी गरुन् भन्ने आशय घर तिरबाट प्रकट भएको भन्ने सुनेपछि उनी माइत आइन्। दाजुले उनको घरको सबै हालत देखेको हुँदा उनलाई सबैले अब माइतमै बस्न आग्रह गरे तर उनी यो कुरा मान्न तयार भइनन्।
‘सहयोग गर्ने भए ठिकै छ, नभए पनि म केही गरी आफ्नो र छोरीको ज्यान पाल्छु म हिँडे’ भनी हिँड्न थालेपछि केही दिन बसी आराम गरी जान सबैले आग्रह गरेकाले उनी केही दिन माइतमै बसी दाजुमार्फत काठमाडौँमा डेरा खोज्न लगाई एकसरो सबै लुगा फाटो, भाँडाकुँडा लिएर काठमाडौँ आई डेरामा बसी उनले सम्बन्धविच्छेदको मुद्दा हालेकी थिइन्।
बसेको ठाउँ थाहा पाएर घर तर्फबाट २–३ पटक छोरी खोस्ने प्रयास नगरेका होइनन् तर उनले हल्लाखल्ला गरी यो हुन दिएकी थिइनन्। तर आज कुनै जागिर नभएकी, अन्य कुनै आयस्रोत पनि नभएकी र डेरा गरी बसेकी आमाले छोरीको राम्रोसँग लालनपालन गर्न नसक्ने बहाना बनाई कानुनी रूपमै उनकी छोरी ऊबाट खोसिएकी छे। मुद्दा जिती जँड्याहा लोग्नेबाट छुटकारा पाएको भएता पनि उनको मन आज रोइरहेको छ। छोरीको विछोडमा उनले मुद्दा जितेर पनि हारे सरह भएको छ।