फिदा थिएँ। दुनियाँकै अब्बल प्रेम जोडी जस्तो लाग्थ्यो मलाई। क्याम्पसका तीन वर्ष त्यसै गरी बिते। चौथो वर्ष लाग्दै गर्दा निसु रिसाउन थाली। बेला बेलामा झर्किन्थी। जागिर खान नसकेको, आम्दानी नभएको, कोठाभाडा लगायतका कुरामा अरूको भर परेको उदाहरण दिएर व्यंग्य गर्न थाली। 'माया र प्रेमले पेट भरिँदैन'। हुँदाहुँदै सम्झाउन थाली! उसको परिवर्तन सूक्ष्म रूपमा निहाल्दै थिएँ!
यस्तै यस्तै चल्दै गयो ५/६ महिना। झल्याक झुलुक विदेशको अप्रत्यक्ष कुरा सुनाइन्। रोक्न सक्ने कुनै सम्भावना देखिनँ मैले। अनुनय र विनयले कुनै काम गरेन। अन्ततः हरेश खाएँ। सुरू सुरूमा गाह्रो भयो तर कमजोरीमाथि बारबार प्रहार गर्न थालिन्। त्यसपछि आफ्नो मनलाई सम्झाएँ। मन दरियो बनाएँ।
विगतका शब्दवाण कानमा गुन्जिए। तिनले उसलाई बिर्सन बल पुर्यायो।
अब एक्लै भएँ। पढाइ सकेर केही गर्ने सोच थियो। जागिरै खान नसक्ने बुद्धु थिइनँ। 'तिमीले के गर्न सक्छौ?' भन्ने आरोप सुन्न सजिलो थिएन मलाई। केटाले मात्र कमाउनु पर्ने, केटाले नै पाल्नु भन्ने सोच समाजमा मात्र होइन, पढेलेखेकी निसुमा थियो। पैसा मोहमा थिई। त्यसको औधी हतारो थियो! सोच, विचार र व्यवहारमा अन्तर आयो ऊ र म बीच!
प्रेमको याचना गरिरहेँ मैले अन्तिमसम्म। तर जोगाउन सकिनँ। सम्बन्ध टुट्यो। टुट्नुमा मेरो बेरोजगारिता र अभाव प्रमुख थिए। अरू थिएनन्। सुरूमा सम्हालिन गाह्रो भयो। किनकि त्यो पहिले प्रेम थियो। सम्हालिन समय लागे पनि सम्हालिएँ म।
ग्रामीण विकासको स्नातकोत्तर सकेर कृषि उद्यममा लागें। कतिले सुरूमा खिस्याए। खेती गर्न पढ्नुपर्छ र? तिनलाई जबाफ थिएन मसँग। बिस्तारै चितवनको त्यो केरा खेती व्यवसाय बन्यो। राम्रै आम्दानी भयो। तर सबैभन्दा ठूलो कुरा निसुलाई बिर्सने बाटो बन्यो। काममा अल्मलिएँ। राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन योगदान गरेको ठानेँ। अन्ततः त्यसले सन्तुष्टि र दाम दुवै दिलायो मलाई।
कृषि कर्ममा लागेको केही वर्षपछि मेरो मागी विवाह भयो। श्रीमती जागिरे! म कृषि व्यवसायी। मायाको चिनो छोरा जन्मियो। बिस्तारै छोरा हुर्किँदै गयो। विगतको प्रेम सम्झना मनमा गढिरह्यो।
कृषि व्यवसायलाई हावा हुरी र खडेरीले अन्याय गर्थ्यो। सहनु बाहेक विकल्प थिएन। यद्यपि कृषि बीमाले केही राहत दिन्थ्यो। किसानका पीडा अरूका भन्दा बढी नै हुँदा रहेछन्। व्यवसायी भएपछि बल्ल चाल पाएँ। समाजले व्यवसायी भनेर चिन्न थाल्यो मलाई। कार्यक्रमहरूमा मान्छेले अतिथिको रूपमा बोलाउँथे। आफ्ना अनुभव सुनाउँथेँ। छोराले पनि कृषि इन्जिनियरिङ पढ्यो। त्यो मेरो जीवनको सबभन्दा ठूलो सन्तुष्टि थियो।
समय बितेको पत्तै भएन। श्रीमती आफ्नै जागिरमा रमाइन्। म मेरै व्यवसायमा। सामाजिक सञ्जाल र मिडियाहरूले मलाई धेरै चिनाए। कृषि कर्मका फोटोहरू, अन्तर्वार्ता, भिडियोहरू मान्छेले सेयर गर्थे। एक हिसाबले मिडियामा छाए। फेसबुक प्रोफाइलमा हजारौँ फलोअर्स थपिए। हजारौँ फलोअर्स भएपछि कस–कसले फलो गरे याद नहुने रहेछ। नचिन्ने र चिन्नेहरू दुवै थपिए। त्यसैमा थपिईछ निसु।
मान्छेहरूले बाटो हिँड्दा पनि चिन्न थाले। त्यसले अर्कै आनन्द दिन्थ्यो। कपाल सेतै भयो, तर काम गर्ने जोश बाँकी थियो।
अचानक एक दिन फेसबुकमा म्यासेज आयो। 'मलाई चिन्नु हुन्छ?' फोटो निहालेर हेरेँ। क्याम्पस पढ्दाको फोटो थियो निसुको। चिनेँ, तर जबाफ दिइनँ। धेरै दिनसम्म बेवास्ता गरिरहेँ। विगतमा रूवाएर गएको झल्झली सम्झिएँ। उसका म्यासेजहरू दिनै दिन आइरहे। रोकिएनन्।
अर्को दिन लामो फेहरिस्त आयो! विदेशका उतार–चढाव, श्रीमानसँगको कानुनी लडाइँ र त्यसमा पराजित भएपछि नेपाल डिपोर्टसम्मको संक्षिप्त विवरण थियो। अन्त्यमा लेखेकी थिई—'जीवनमा एकपटक भेट्न र केही कुरा भन्न मन छ।' प्रायश्चित गर्दै रूनु छ। त्यो अवसर पाउँछु? याचना गरी उसले मलाई।
म्यासेज पढेर खासै दया लागेन। लामो अन्तरालपछि भेट्न भने राजी भएँ। आई। वातावरण भने फरक थियो। हावा हुरी र बिजुली चम्किँदै थियो। मानौँ पृथ्वी रिसाएकी छन्। पहिलेभन्दा धेरै फरक भइछे ऊ। लामो कपाल काटेर थाई कट बनाइछे। दुब्ली थिई, मोटाइछे। बाटोमा अकस्मात भेटेको भए नचिन्ने रहेछु कालीलाई!
प्रत्यक्ष भेट्नासाथ माफी मागी। पढाइअनुसारको व्यावसायिक प्रगति गरेकोमा बधाई दिई। आफ्नो लामो कथा व्यथा सुनाई। सारमा उसको म्यासेजमा ती कुरा पढिसकेको थिएँ मैले। खासै हलचल ल्याएन। त्यो भेटको अन्त्यमा भनी—'बाँच्न चाहन्छु! मिल्छ भने तपाईंकै भएर बाँच्न चाहन्छु उमेश। विगतलाई बिर्सेर दिलको कुनामा बस्न पाऊँ'!
'यसको मतलब तपाईंको जीवनमा सुनामी भने ल्याउन चाहन्नँ!' डर र भय मिश्रित स्वरमा सुस्तरी सुनाई।
'नमिले ठिकै छ तर फोन र अनलाइनमा कुरा गर्ने अवसर चाहिँ पाऊँ! त्यसैमा भाग्यमानी ठान्ने छु। एक पटक पूरै जिन्दगीको समीक्षा गर्छु।' उसका कुरा सुनेर बेस्सरी अल्मलमा परेँ म।
एक हिसाबले पग्लिएँ। केटा मान्छेको जातै नहुने? आफ्नै स्वभावको आलोचना गरेँ मैले! के गर्नु र कसो गर्ने भो! यता निसु हत्ते गर्छे उता श्रीमतीलाई झल्झली सम्झन्छु। फसादमा परेँ म।
श्रीमतीलाई काम छ भनेर कयौँ दिन झुक्याएर निसुलाई भेटेँ। एक दिन त साथीले देख्यो। मर्नु भयो! आफन्त भनेर ढाटिदिएँ।
मनभित्र व्यापक द्वन्द्व चल्यो। दुई वटा श्रीमती ....! के भन्लान् मान्छेले! हुन्न...। जे पर्ला पर्ला भोलि उसलाई प्रस्ट भन्छु। समस्या उहीँ, भोलिपल्ट फेरि केही भन्न सकिनँ। कयौं हप्ता यसरी नै गुज्रिएँ।
कोठामा एक्लै टोलाएर बसेछु। श्रीमतीले के भा छ तपाईंलाई आजभोलि भनेर प्रश्न गरिन्। झस्किएँ। उत्तरविहीन भएँ म। व्यापारको तनाव भनेर पन्छाएँ।
खाना मन छैन भनेर त्यसै सुतेँ।
'जहाँबाट छुटिएका थियौँ, अब त्यहीँ पुग्न सजिलो छैन निसु'। 'मेरो सुखी परिवार छ। परिवारलाई औधी माया गर्छु। तिमीले मागेको कुरा सानो जस्तो लाग्ला, तर अरू कसैलाई अन्याय गर्न सक्दिनँ', 'केवल तिम्रो विगत हुँ, सहारा होइन'....... के भो? के कुरा गर्या? श्रीमतीले झक्झक्याउँदा झसङ्ग भएँ। सपनामै बर्बराएछु। लाजले रातो भएँ म। श्रीमतीलाई भन्न सकिनँ।आफ्नो मनोदशा भन्नूँ कसरी?
भोलिपल्ट निसुले नभेटी सुखै दिइन। भेट्न गएँ।
'विगतलाई वर्तमान बनाउने कोसिस नगर्नू र अब ल्याङ पनि नगर्नू'। सम्झाएँ। तर मरे मान्दिन। अँध्यारो मुख लगाई। कुरा सुनेर रोई। जुरूक्क उठेर बाटो लागी। हेरिरहेँ। कतै . ..... नाम जोडेर आत्महत्या गरी भने? डर र त्रास भरिए मनमा।
कुराहरू खेलाउँदै घर फर्किएँ। आउन त ऊ आई, तर समय बदली सकेको छ। श्रीमतीले ढोका खोलिन् र सोधिन्—किन ढिला हजुर? काम परेकोले अल्मलिएँ! मुस्काइन् श्रीमती जी। त्यो मुस्कानले भित्रैदेखि सम्झायो। अब भेट्दा चाहिँ पक्का भन्छु उसलाई 'फर्केर आउनेलाई स्वागत गर्न सक्दिनँ'। भेट्यो कि कठोर हुन सक्दिनँ। यस्तो चाहिँ किन हुन्छ! फेरि घोत्लिए।
खासमा त्यो स्वार्थीलाई बदला लिनुपर्ने हो तर मन मान्दैन। जिन्दगीमा मोडहरू पनि के के आउँछन्,आउँछन्। यस्तो अनिर्णयको बन्दी कहिलेसम्म हुने हो अझै थाहा छैन मलाई।