आकाशमा उडिरहने चरी देखेका छौ?
उनी कसका लागि भौँतारिरहेका हुन्छिन्?
उनी परालका त्यान्द्रा बटुलेर
परिवारका लागि घर बनाउँछिन्।
उनी सिकारीहरूबाट बच्दै उडिरहन्छिन्
उनी मुखमा आहार च्यापेर
आफू नभनी आफ्ना सन्तानलाई खुवाउँछिन्।
उनी आफ्ना सन्तानलाई गुँडबाट
उडान भरेर अगाडि बढ्न सिकाउँछिन्।
उनी सम्पूर्ण जीवन आफ्नो लागि नभई
अरूका लागि जिउँछिन्।
त्यसैले उनी आमा हुन्।
त्यसैले उनी संघर्ष हुन्।
त्यसैले उनी परिवारको मजबुत खम्बा हुन्।
यो संसारमा सबैभन्दा उच्च के छ भनेर कहिल्यै नसोध्नु
सृष्टि देखाउने आमा भन्दा ठुलो के नै हुन सक्छ र?
आफ्नो इच्छालाई मुठ्ठीभरि कैद गरेर परिवारको
चाहना पूरा गर्ने आमाभन्दा ठुलो के नै हुन सक्छ र?
आफ्नो पर्बाह नगरी सबैका लागि माया छर्ने
आमाभन्दा ठुलो के नै हुन सक्छ र?
परिवारमा आउने हरेक बज्रपात आफैँले सहेर
अरूलाई सुरक्षित बनाउने आमाभन्दा ठुलो के नै हुन सक्छ र?
जीवनका गोरेटोमा हार मानेर लडेको सपनालाई
नयाँ आकार दिने ऊर्जा थप्ने आमाभन्दा ठुलो के नै हुन सक्छ र?
दुई मुठ्ठी सास रहुन्जेल हजुरका आँखामा आँसु नदेखियोस्,
जीवनमा दुःख नआओस्।
आमाले देखाउनुभएको संसारमा आमालाई
खुसी र सुखले समेटेर राख्न पाऊँ।
सृष्टिकर्ता आमाभन्दा ठुलो के नै हुन सक्छ र?