कविता
सोध्नेहरू बिनासंकोच सोधिदिन्छन्,
‘तँ बिहे कहिले गर्छस् ?’
म हाँसिदिन्छु बाहिरबाट,
र भित्रभित्रै
तिमीलाई सम्झिन्छु
एकान्तमा टोलाउँदा
म आफैसँग होइन,
तिमीसँग कुरा गरिरहे जस्तो लाग्छ,
सहरका चोक, गल्ली होस् वा गाउँ,
हरेक मोडहरूमा
तिमी नै भेटिन्छ्यौ झैं लाग्छ
सपनाको गहिरो अँध्यारामा,
तिम्रो अँगालो नै
मेरो एक्लो आश्रय बन्छ
जहाँ म आफूलाई होइन,
तिमीलाई मात्रै भेट्छु
विपनी निर्दयी हुन्छ,
आँखा खोल्नासाथ
तिमी हराइसकेकी हुन्छ्यौ
र म,
तिम्रो अनुपस्थितिको भारी बोकेर
फेरि बाँच्न बाध्य हुन्छु, निर्निमेष
यो कस्तो लत बस्यो मनमा,
आफूलाई हराएर पनि
तिमीलाई खोजिरहने,
आफ्नै अस्तित्व बिर्सिएर
तिम्रै सम्झनामा बाँचिरहने
अब त यस्तो लाग्छ,
म सपनामा होइन,
तिम्रो यादमै बाँचिरहेको छु,
र विपनी...
मेला, जात्रा, पर्व
यत्रतत्र, सबैतिर
तिम्रै प्रतिविम्बले सताउँछ मलाई
मुनामदनको भाव झैँ,
नारायणगोपालको ‘एउटा मान्छेको माया’ जस्तै,
मनको गहिराइमा बगिरहन्छ तिम्रो सम्झना
रामकृष्ण ढकालको ‘बाँचुञ्जेलीलाई’ को पीडा झैँ
सत्यस्वरूपको ‘नलाएको माया’ जस्तै
अझै पनि अधुरो कथा बनेर बाँच्छ
यी गीतका दृश्यहरूमा,
हरेक धुन, हरेक शब्दभित्र
तिम्रै छाया देख्छु म
जब गीतहरू बज्छन्,
धुनसँगै, शब्दसँगै
फेरि फेरि
तिम्रै छाया प्रतिविम्ब बनेर उभिन्छ
हृदयका कुनामा
मठमन्दिर जाँदा
भगवानसँग म केही माग्दिन
बस् यत्ति भन्छु,
‘जहाँ भए पनि,
मेरो मनको मान्छे खुसी होस् ।’
जात्रा–पर्व आउँदा
म भिडले घेरिएको हुन्छु,
मन भने खाली हुन्छ
त्यस भिडमा
तिमी छैनौ
आजभोलि किन किन, जिन्दगीको हरेक मोडमा
तिम्रो अभाव महसुस गर्छु
यति मात्रै कहाँ हो र,
उफ्, अब त
बाइक चलाउँदा पनि
पछाडिको सिटमा
तिमी बसेकी कल्पना गर्छु,
र कहिलेकाहीँ त
धेरै टाढा पुगिसक्छु,
अनि लाग्छ,
मलाई अचेल तिम्रो नशा लागेको छ
फेरि सताउँछ तिम्रो यादले
अनि यस्तो पनि कल्पना गर्छु,
जहाँ हामी दुवै मात्र हुन्छौंँ
कहिलेकाहीँ त यस्तो पनि सोच्छु—
यदि तिमी साथमै हुन्थ्यौ भने,
हुन्थ्यो हाम्रो सानो संसार,
‘ऊनको स्विटर’ को जस्तै सुन्दर घर,
आँगनमा हाँसिरहेका
हाम्रा लालाबाला
तिमीले काखमा बोकेकी एउटी छोरी,
मेरो औंला समातेको एउटा छोरो,
र उनीहरूको हाँसोमा
हामी दुबै हराएको
म आफैंले
आजसम्म थाहा पाउन सकेको छैन,
तिमी कहाँ छौ
विश्वविद्यालयका गल्लीहरूमा,
हरेक अनुहारमा तिमीलाई खोज्छु,
यत्रतत्र, सर्वत्र
तिमी नै देख्छु—
त्यो केवल
मेरो अधुरो मायाको प्रतिबिम्ब हो
कहिलेकाहीँ दुख्छ मन अनि
तिमीलाई औधी सम्झिन्छु,
जस्तो तिमी नै
मेरो पीडाको औषधि हौ
ए भन न,
तिमी कहाँ छौ ?
नदेखेरै, नभेटेरै पनि
म तिमीलाई यति माया गर्छु—
कि हाम्रो नदेखिएको भविष्य,
हाम्रो नजन्मिएको सन्तान,
सबै तिम्रै नाममा
सपना बुन्छु
साँच्चै भन न, तिमी कहाँ छौ?