सन् १९५० को दशकको उत्तरार्धतिर मेरो बुवा बैतडी जिल्लाको पाटनस्थित स्थानीय विद्यालयमा पढ्नुहुन्थ्यो। सभ्यताभन्दा धेरै टाढा दुर्गमको त्यो विद्यालयमा ग्रामीण परिवेश थियो। शिक्षक, विद्यार्थी र कर्मचारीहरू स्थानीय स्तरमै उपलब्ध सामग्रीहरू प्रयोग गर्थे। विद्यार्थीहरू र शिक्षकहरू प्रायः ढाका टोपी लगाउने गर्थे।
एक दिन त्यो ग्रामीण परिवेशभित्र एउटा आधुनिक पहिरनयुक्त विद्यार्थीको आगमन हुन्छ- सफा र चिटिक्क परेको लुगा, मिलाएर काटिएको कपाल र टाउकोमा ट्याप्प मिलेको क्याप टोपी। अन्य विद्यार्थीहरूभन्दा बेग्लै स्वरूप थियो उसको। धेरै जनाले त उसले लगाएको क्याप-टोपी पहिलो चोटि देखेका थिए। स्थानीय बैतडेली भाषा बोल्ने विद्यार्थीहरूबिच उसको लवज पनि बेग्लै थियो। अंग्रेजी भाषा त झन् शिक्षकहरूभन्दा पनि राम्रो बोल्थ्यो। उसको नाम पनि अरू विद्यार्थीहरूभन्दा फरक थियो, विदेशीको जस्तो- माइकल चन्द।
केही दिनमै माइकल अरू विद्यार्थीहरू माझ राम्ररी घुलमिल भयो। मेरो बुबा र माइकलको विद्यालय आउने जाने बाटो एउटै भएको हुनाले उनीहरू दुई जना छिट्टै राम्रा साथी भए। कुरा गर्दै जाँदा थाहा भयो माइकल मेरो बुबाको छिमेकी गाउँ मेल्तडाका रहेछन्। उनका बुबा रोजगारको सिलसिलामा तत्कालीन समयमा बर्मा गएका रहेछन्। माइकलको जन्म बर्मामै भएको रहेछ र उनले प्रारम्भिक शिक्षा बर्मामै कन्भेन्ट स्कुलमा प्राप्त गरेका रहेछन्। तसर्थ उनको अंग्रेजी असाध्यै राम्रो भएको रहेछ। कन्भेन्ट स्कुलमा पढेको हुनाले उनको नाम पनि माइकल राखिएको रहेछ।
ग्रामीण परिवेशको विद्यालयमा माइकलको पढाइ राम्रो नहुने ठानेर उनका बुबाले केही समयपछि नै माइकललाई काठमाडौँको फर्पिङस्थित त्रिभुवन आदर्श आवासीय विद्यालयमा भर्ना गरिदिनुभयो। त्रिभुवन आदर्श आवासीय विद्यालय त्यो समयमा नेपालकै अग्रणी विद्यालयमध्ये पर्थ्यो। त्यो काठमाडौँका साथै नेपालभरिका सम्पन्न व्यक्तिका छोराछोरीहरू पढ्ने विद्यालय थियो।
त्रिभुवन आदर्श आवासीय विद्यालयबाटै प्रवेशिका उत्तीर्ण गरेपछि उनी त्रिचन्द्र कलेजमा समाजशास्त्र संकायमा भर्ना हुन्छन्। उनको अङ्ग्रेजीमा त असाध्यै राम्रो दखल छँदै थियो, कलेजमा उनले वक्तृत्वकलामा पनि महारत हासिल गर्छन्। कलेजमा हुने विभिन्न कार्यक्रमहरूका उद्घोषक निर्विकल्प रूपमा माइकल नै हुन्छन्।
समय क्रमसँगै उनको उद्घोषण कला कलेजको सीमित घेराभन्दा माथि उठेर राष्ट्रिय रूपमा प्रस्फुटन हुन्छ। विशेषतः अंग्रेजी भाषामा कार्यक्रम आयोजना गर्दा उद्घोषकको रूपमा पहिलो छनौट माइकल नै हुन्थे। यसै क्रममा सन् १९७२ मा तत्कालीन युगोस्लाभियाका राष्ट्रपति माइकल जोसेफ टिटोको नेपालको राजकीय भ्रमणको बेलामा उनको सम्मानमा राष्ट्रिय सभागृहमा एउटा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। त्यो कार्यक्रमको मास्टर अफ सेरोमनी माइकल चन्द थिए। विदेशी राष्ट्राध्यक्षको अगाडि उनको उत्कृष्ट प्रस्तुति नै माइकलको जीवनको कोसेढुङ्गा बन्न पुग्यो।
त्यो सांस्कृतिक कार्यक्रमको दर्शकदीर्घामा रेडियो नेपालका तत्कालीन महाप्रबन्धक रामराज पौडेल पनि उपस्थित थिए। एउटा जौहरीले असली हिराको पहिचान गरेजस्तै पौडेलले माइकल चन्दको उद्घोषणकलाको प्रतिभा तुरुन्तै पहिचान गरिहाले। कार्यक्रम सिद्धिएपछि पौडेलले चन्दलाई व्यक्तिगत रूपमा भेटेर अर्को दिन आफूलाई रेडियो नेपालमा भेट्न आउन आमन्त्रण गरे। अर्को दिन जब माइकल चन्द उनलाई भेट्न रेडियो नेपालमा गए रामराज पौडेलले उनलाई रेडियो नेपालमा काम गर्न आग्रह गरे र उनलाई तुरुन्तै अङ्ग्रेजी समाचार सम्पादक र प्रस्तोताको नियुक्ति पत्र हस्तान्तरण गरे।
तत्पश्चात् माइकल चन्द अङ्ग्रेजी समाचार वाचकका साथै शनिबार मध्य दिनमा प्रसारण हुने अंग्रेजी गीतको कार्यक्रम म्युजिकल आवरको प्रस्तोताको रूपमा तेत्तीस वर्षसम्म रेडियो नेपालमा आबद्ध भए। आफ्नो वाचनकलाले उनले धेरै वटा पुस्ताहरूलाई प्रभावित गरे। माइकल चन्द पछिका श्रव्य-दृश्य माध्यमहरूका अंग्रेजी भाषाका प्रस्तोताहरू कुनै न कुनै रूपमा उनीबाट नै प्रभावित भएका छन्। तसर्थ नेपालमा अंग्रेजी प्रसारणको पितामहको रूपमा उनलाई सम्मान गर्दा अतिशयोक्ति हुँदैन होला।
अङ्ग्रेजीमा कार्यक्रम उद्घोषण गर्ने क्रममै उनको भेट नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापासँग हुन जान्छ। विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा जम्काभेट भइरहने क्रममा उनीहरू दुवै जनाको मन मिल्छ र सन् १९७६ मा माइकल चन्द र भुवन थापा परिणय बन्धनमा बाँधिन्छन्। विवाहको दोस्रो दिन नै माइकल चन्द जर्मन राष्ट्रिय प्रसारण संस्था डइचे वेल्लेमा फेलोसिप गर्न जर्मनी उड्छन्। त्यही दिन भुवन थापा एउटा सांस्कृतिक कार्यक्रमको सिलसिलामा तत्कालीन सोभियत सङ्घतर्फ लाग्छिन्। केही महिनापछि यो युगल जोडीको भेट जर्मनीमै हुन्छ। जर्मनीमा बस्दा माइकल चन्दले जर्मन भाषामा पनि महारत हासिल गर्छन्।
सन् १९८२ मा नेपाल फर्किएपछि उनी जर्मन भाषा प्रशिक्षणको लागि स्थापना गरिएको गोथे इन्स्टिच्युटमा जर्मन भाषा प्रशिक्षकको रूपमा आबद्ध हुन्छन्। सन् १९९७ मा गोथे इन्स्टिच्युटको विघटनपछि त्यही स्थानमा गोथे सेन्टरको पुनर्स्थापना गर्नमा माइकल चन्दले अग्रणी भूमिका खेल्छन्। तत्पश्चात् उनी सन् २०१५ मा सेवा निवृत्त नहुन्जेलसम्म गोथे सेन्टरको निर्देशकको रूपमा जर्मन भाषालाई नेपालमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। उनको यो निस्वार्थ कर्मको लागि सन् २००८ मा तत्कालीन जर्मन राष्ट्रपति होर्स्ट क्योहलरले उनलाई जर्मनीको सर्वोच्च नागरिक पदकद्वारा सम्मानित गर्दछन्।
व्यक्तिगत रूपमा माइकल चन्दसँगको मेरो अप्रत्यक्ष संलग्नता सन् १९८० को दशकको उत्तरार्धतिरबाट सुरु हुन्छ। स्कुलमा पढ्ने हामी केटाकेटीहरू रेडियो नेपालबाट प्रसारण हुने अंग्रेजी समाचार र शनिबारको अंग्रेजी गीतहरूको कार्यक्रम म्युजिकल आवरबाट असाध्यै प्रभावित हुन्थ्यौँ। हामीलाई यी कार्यक्रमहरू कुनै विदेशी नागरिकले प्रस्तुत गर्छन् भन्ने लाग्थ्यो। नेपालीले पनि यस्तो राम्रोसँग अङ्ग्रेजी कार्यक्रम प्रस्तुत गर्न सक्छन् भन्ने हाम्रो कल्पना पनि हुँदैनथ्यो।
हाम्रो मनस्थिति बुझेर एक दिन बुबाले भन्नुभयो- राति अंग्रेजी समाचार वाचन गर्ने हरिश चन्द र शनिबार म्युजिकल आवर प्रस्तुत गर्ने माइकल चन्द एउटै व्यक्ति हुन्। बुवाले अझ प्रस्ट्याउनु भयो- यिनी त हाम्रै गाउँले हुन् जो अङ्ग्रेजी मात्र होइन बैतडीको भाषामा पनि धाराप्रवाह रूपमा कुराकानी गर्न सक्छन्।
विश्वासै लागेन यस्तो क्लिष्ट अङ्ग्रेजी बोल्ने व्यक्तिले हाम्रो भाषा पनि बोल्न सक्छन्। एक दिन हाम्रो भ्रम निवारण गर्न बुवाले राति ८ बजेको अंग्रेजी समाचार सिद्धिने बित्तिकै रेडियो नेपालमा फोन गरेर भर्खरै समाचार वाचन गर्ने व्यक्तिसँग बैतडीको भाषामा कुरा गर्नुभयो। त्यसपछि विश्वास भयो उनी त विदेशी होइनन् रहेछन्, नेपाली नै रहेछन्, अझ हाम्रै जिल्ला बैतडीका रहेछन्। त्यसपछि केही छिटपुट सामाजिक समारोहहरूमा माइकल चन्दसँग भेटघाट भइरह्यो। बुबासँग भने उनको नियमित सम्पर्क भइरहन्थ्यो।
ब्याचलर लेभलको अन्तिम वर्षतिर बुवाको माइकल चन्दसँगको सम्पर्कका साथै उनको भाषिक विद्वताबाट प्रभावित भएर मैले पनि गोथे सेन्टरमा जर्मन भाषा सिक्ने निर्णय गरेँ। त्यसपछि माइकल चन्दसँगको मेरो प्रत्यक्ष, प्रेरणादायी सङ्गत सुरु भयो। त्यही समयमा मैले उनलाई नजिकबाट चिन्ने र बुझ्ने मौका पाएँ उनको सानिध्यमा जर्मन भाषाको ज्ञान मात्र होइन, जीवन र जगतको बारेमा पनि उनको नजरबाट बुझ्ने मौका पाएँ। आफू सक्षम भएको हुनाले उनी असाध्यै आत्मविश्वासी र स्वावलम्बी थिए।
उनले भन्थे- म योग्यतावादमा विश्वास गर्छु न कि चाकरी, चाप्लुसीमा। उनको जीवनशैलीमा यो कथन अक्षरशः लागु हुन्थ्यो।
विभिन्न समयमा देशका कयौँ प्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू तथा उच्चपदस्थ अधिकारीहरू उनका विद्यार्थी थिए। तर आफ्नो अनुग्रहको लागि उनले कहिल्यै कसैको दैलो टेकेनन्। सम्बन्धित निकायमा उनको एक बचनले मात्र पनि उनी रेडियो नेपालमा स्थायी हुन सक्थे अथवा रेडियो नेपालकै नेतृत्वमा पुग्न सक्थे। योग्यताको हिसाबले उनी यसका लागि उपयुक्त पात्र पनि थिए तर पक्षपातपूर्ण र चाकरी चाप्लुसीमा आधारित हाम्रो समाजमा हक्की र स्वावलम्बी माइकल चन्दको योग्यताको उचित कदर नहुनु स्वाभाविक नै थियो। उनलाई कसैप्रति कुनै गुनासो पनि थिएन किनकि उनको आवाज जस्तै उनको नैतिकता पनि बुलन्द थियो।
व्यक्तिगत रूपमा उनको असाध्यै सादा जीवनशैली थियो। आफ्नो परिवारलाई असाध्यै माया गर्थे। उनी जीवनसंगिनी भुवन थापा चन्दका हरेक उपलब्धिहरूमा असाध्यै गौरवान्वित हुन्थे, छोरीहरूको प्रगतिमा पुलकित हुन्थे। माइकल चन्दको सान्निध्य पाउनको लागि भाषा सिक्दा म मिल्यो भने कक्षा सुरु हुनुभन्दा अलि अगाडि नै गोथे सेन्टरमा जान मन पराउँथेँ। उनले मलाई उनको जीवन कथाका साथै जीवन र जगतका बारेमा आफ्ना अनुभूतिहरू सुनाउँथे। उनी भन्थे- जेसुकै होस्, जस्तोसुकै होस्, म चाकरी, चाप्लुसी आडम्बर गर्दै गर्दिनँ। जुन आदर्शमा उनी आफ्नो जीवनपर्यन्त कटिबद्ध रहे।
बैतडीको ग्रामीण भेगबाट उदाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो मौलिक पहिचान बनाउन सफल त्यो क्याप टोपी लगाउने केटो अनन्तमा विलीन भएको छ। मृत्युपछि मात्र सम्मान गर्ने हाम्रो समाजमा माइकल चन्दले प्रसारण र उद्घोषणको क्षेत्रमा पुर्याएको योगदान र उनको भाषिक विद्वताको कदर उनको जीवनकालमै हुनुपर्थ्यो। अपसोच! जुनसुकै व्यवस्था भए पनि, जुनसुकै सरकार आए पनि उनी सधैँ मूलधारबाट किनाराकृत भइरहे। सायद अब ढिलै भए पनि उनको देहावसानपछि भने उनको योगदानको कदर हुन्छ कि? जेसुकै भए पनि उनका प्रशंसकहरू र शुभचिन्तकहरू माझ उनको गर्विलो व्यक्तित्व सधैँ अमर रहिरहनेछ। अझ उनका प्रारम्भिक दिनका सहपाठीहरूलाई त्यो अंग्रेजी बोल्ने, क्याप टोपी लगाउने, सुकिलो केटोको ओजपूर्ण विरासतले गौरवान्वित बनाइरहनेछ।
जीवन र जगतको व्यावहारिक ज्ञान प्रदान गर्नु भएकोमा र यो नश्वर लोकमा आफ्नो जिम्मेवारी उत्कृष्ट रूपमा निभाउनु भएकोमा धन्यवाद, माइकल सर। सधैँ प्रेरित भइरहने छौँ, श्रद्धाञ्जली!
(लेखक उप-प्राध्यापक हुन्।)