मसँग गर्वले देखाउन सकिने कुनै ठूलो उपलब्धि छैन। न त पदकहरू छन्, न त 'सफलता' भनेर सजिलै नाम दिन मिल्ने कुनै पद। तर मसँग जीवन छ—थाकेको, अलमलिएको, धेरै मोड र सम्झौताबाट गुज्रिएको, तर इमानदार जीवन।
बाल्यकालमा भविष्य खुला आकाशजस्तै लाग्थ्यो। जता मन लाग्यो, उतै उड्न सकिन्छ भन्ने विश्वास थियो। रोल्पाको त्यो गाउँ, ढुङ्गाको पुरानो घर, बिहान–साँझ घरको काम, अनि स्कुल पुग्न डेढ–दुई घण्टाको पैदल यात्रा। जीवन कठिन थियो, तर आशाविहीन थिएन। त्यतिबेला सपना साना थिए, तर चम्किला थिए। समयसँगै सपना ठूला हुँदै गए, तर म भने सानो हुँदै गएँ। जीवनले मलाई सानै उमेरमा बुझाइदियो—गरिबीमा बाल्यकाल पनि सधैँ बाल्यकालजस्तो हुँदैन।
कक्षा ७ मा पढ्दै गर्दा, १३ वर्षको उमेरमा, साथीहरूसँग म भक्तपुरको महेश्वरी इँटा उद्योग पुगेँ। त्यो उमेर किताब, कापी र खेलकुदको हुनुपर्ने थियो, तर मैले त्यही उमेरमा श्रमको कठोर अनुहार नजिकबाट देखेँ। इँटाको धुलो, चर्को घाम, शरीरभन्दा ठूलो जिम्मेवारी। सायद त्यही बेला मैले पहिलोपटक बुझ्न थालेँ—सपना केवल देखेर पुग्दैन, धेरैका लागि तिनको मूल्य पसिना र पीडाले तिर्नुपर्छ।
प्लस–टु पढ्न दाङ झर्दा मैले गाउँभन्दा बाहिरको संसारलाई अलि नजिकबाट देख्न थालेँ। त्यसभन्दा अगाडि पनि गाउँ छोडेको थिएँ, तर ती यात्राहरू पढाइका लागि मात्र थिएनन्; ती जीवन धान्ने संघर्षका यात्राहरू पनि थिए।
एसएलसी दिएपछि २०७१ सालमा म भारतको उत्तराखण्ड पुगेँ। त्यो यात्रा मेरो कुनै ठूलो योजना थिएन, केवल जीवनलाई अलिकति सहज बनाउने आशा थियो। त्यहाँ मैले लेबरको काम गरेँ—सिमेन्ट, बालुवा, फलामका रड, र ढुङ्गा, गिटी बोक्ने जस्ता काम। शरीर थाक्थ्यो, तर मनलाई थाक्ने छुट थिएन। कामको कठोरता, बसाइको असुरक्षा, र पराइ ठाउँमा आफूलाई टिकाइराख्ने तनावले मलाई छिट्टै परिपक्व बनायो। भारतले मलाई पैसा कमाउने ठाउँभन्दा बढी, श्रम र पराइपनको कठोर पाठ पढाउने ठाउँजस्तो लाग्यो।
कक्षा १२ को परीक्षा दिएपछि म फेरि भारततिरै लागेँ—यसपटक हिमाचल प्रदेश। जीवनमा कुनै स्पष्ट नक्सा थिएन। कहिले पढाइतिर फर्किन्थेँ, कहिले कामको खोजीमा बाहिरिन्थेँ। म जता पुगेँ पनि एउटै कुरा सँगै हुन्थ्यो—आफ्नो भविष्यलाई कुनै न कुनै ढङ्गले बचाइराख्ने बेचैनी। भारतका ती दिनहरूले मलाई एउटा कुरा सिकाए—आफ्नो देशमा दुःख हुँदा पनि एउटा अपनत्व हुन्छ, तर परदेशमा दुःख झन् ठूलो लाग्छ, किनकि त्यहाँ थकाइ बिसाउने आफ्नोपन पनि पराइ हुन्छ।
प्लस–टु सकिएपछि मनमा फेरि अर्को अन्योल आयो—अब के गर्ने? पढाइलाई निरन्तरता दिने कि विदेशतिर लाग्ने? त्यो बेला गाउँका दुई साथी र म विदेश जाने सोचमा काठमाडौँ पुग्यौँ। पासपोर्ट बनायौँ। म्यानपावर कम्पनीका ढोका ढकढकायौँ। त्यहाँ मागभन्दा धेरै आवेदक थिए। इन्टरभ्युका दिन बिहान ९ बजे लाइन लाग्दा दिउँसो ३–४ बजेतिर मात्रै पालो आउँथ्यो। रिजल्ट आयो। म एक्लै छनोट भएँ—कतारको एउटा कम्पनीका लागि। साथीहरूको नाम आएन। सायद त्यही एक्लोपनले हो, मलाई त्यो कम्पनीमा जान मन लागेन। साथीहरू अर्को देश, अर्को कम्पनी खोज्ने कुरा गर्न थाले। तर मेरो मन अचानक फेरियो—अब विदेश होइन, अझै पढ्छु। म दाङ फर्किएँ। साथीहरू विदेश उडे। मैले ब्याचलर पढ्न सुरू गरेँ।
त्यही बीचमा रेडियोमा काम गर्ने मौका आयो। कमाइ थिएन, तर आवाज थियो। समाजलाई हेर्ने, मानिसलाई बुझ्ने, शब्दसँग बस्ने र जीवनलाई अर्को कोणबाट चिन्न सिकाउने एउटा पाठशाला जस्तै थियो रेडियो। मानिसका दुःख, अभाव, आकांक्षा र संघर्षका आवाजहरू पनि सुन्दै थिएँ। सायद त्यहीँबाट जीवनलाई केवल आफ्नै आँखाले होइन, अरूका अनुभवबाट पनि हेर्ने बानी बस्यो।
तर पढाइ, सपना र यथार्थ सधैँ एउटै दिशामा हिँडेनन्। घरको आर्थिक अवस्था बलियो थिएन। आमाबाबुले आफ्नै दुःख च्यापेर मेरो भविष्य बोकेका थिए। उमेर बढ्दै जाँदा मलाई एउटा कुरा झन् स्पष्ट हुँदै गयो—अब पढाइको खर्च, आफ्नो जिम्मेवारी, र भविष्यको बोझ केही न केही रूपमा आफैले पनि बोक्नुपर्छ।
पढाइ चलिरह्यो। साथीहरू विदेशबाट फर्किए, फेरि अर्को देश उडे। उनीहरू भन्थे, 'पढ्नुपर्छ यार, तिमी राम्रो गर्छौ।' मलाई कहिल्यै लागेन कि पढाइ गलत निर्णय हो। चार वर्ष त हो, सोच्थेँ, 'यो सकिएपछि त म बैंकर हुन्छु।'
ब्याचलर सकियो। रिजल्ट आउन केही समय लाग्यो। अन्ततः पास गरेको कागज हातमा आयो। म काम खोज्न थालेँ। कतै अनुभव खोजियो, कतै पहुँच। कतै अवसर थियो, तर त्यो मेरो पहुँचभन्दा बाहिर थियो। काम कतै टुङ्गो लागेन।
त्यसपछि अर्को सपना पलायो—लोकसेवा।
'अब सरकारी जागिर खान्छु।' त्यही सोचले काठमाडौँ छिरेँ। करिब तीन महिना लोकसेवाको तयारी गरेँ। तर काठमाडौँ महँगो थियो। दाङमा महिनाको पाँच हजारले गुजारा हुन्थ्यो, काठमाडौँमा दस हजार अनिवार्य खर्च लाग्थ्यो। सपना हेर्नु सजिलो थियो, तर त्यो सपनालाई काठमाडौँमा बसेर धान्नु महँगो थियो। त्यसैले फेरि निर्णय फेरियो। म दाङ फर्किएँ। फेरि पढाइ र तयारी सँगै चलाउन थालेँ। बिहान डिग्रीको कक्षा, बाँकी समय लोकसेवाका किताब। पढाइ, कामको खोजी, घरको चिन्ता, आफ्नै भविष्यबारेको अन्योल—यी सबै एकैचोटि काँधमा बोकेर हिँडिरहेको थिएँ। जीवनलाई एउटा दिशामा लैजान खोज्थेँ, तर परिस्थिति बारम्बार अर्को मोडमा लगेर उभ्याइदिइरहन्थ्यो।
नेपालमै केही गर्ने सपना थियो। लोकसेवा आयोगको तयारी पनि गर्दै थिएँ। त्यो सपना मेरो मात्र थिएन—बाआमाको पनि थियो, 'छोरोले यही देशमा केही गरोस्।'
यत्तिकैमा जापान जाने कागजी प्रक्रिया पनि चलिरहेको थियो। सिओई (COE) को पर्खाइमा थिएँ। ठीक त्यही बेला, आजभन्दा करिब दुई वर्षअघि, फागुनतिर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट जागिरको अफर आयो। म सल्यानको सदरमुकाम खलङ्गा पुगेँ—काम सुरू गर्ने उद्देश्यले। त्यो बेला साँच्चै लाग्यो, सायद यही सही बाटो हो। यति वर्षको पढाइ, संघर्ष, धैर्य—सायद अब कतै आएर जोडिँदै छ।
तर जीवनले फेरि प्रश्न तेर्स्यायो। ठीक त्यही बेला जापानको सिओई आयो। मेरो अगाडि दुई वटा बाटा थिए—एउटा, देशमै संघर्षको बाटो; अर्को, परदेशको अनिश्चित यात्राको बाटो। त्यो निर्णय सजिलो थिएन। बैंकको जागिर छोड्नु भनेको केवल एउटा अवसर छोड्नु मात्र थिएन; त्यो सँगै मैले आफ्नो धेरै वर्षदेखिको एउटा सम्भावित भविष्य पनि छोडिरहेको थिएँ। तर मैले बैंक छोडेँ। मैले देश छोड्ने निर्णय गरेँ।
आज म जापानमा छु। तर मन अझै नेपालमै अड्किएको छ। डिग्री अधुरो छोडेको पीडा छ। लोकसेवा छुटेको पछुतो छ। कहिलेकाहीँ बैंकको त्यो बाटो समातेको भए जीवन कहाँ पुग्थ्यो होला भन्ने सोच पनि आउँछ। म अहिले परदेशमा श्रमिक जीवन बाँचिरहेको छु। बा–आमाको दुःख गाउँमा आज पनि उस्तै छ। परिस्थिति धेरै बदलिएको छैन, केवल पात्रहरू फेरिएका छन्।
युवावस्थामा मनभित्र आँधी थियो। केही गर्ने, केही बन्ने, केही बदल्ने चाहना थियो। तर म धेरै पटक चुपचाप सम्झौता गर्दै हिँडेँ। 'अहिले होइन, पछि' भन्दै सपनाहरू पन्छाएँ। तर त्यो ‘पछि’ कहिल्यै आएन।
आज उमेरसँगै इच्छाहरू पनि थाकेका छन्। जोखिम लिन डर लाग्छ। सपना देख्दा व्यवहारले रोक्छ। यथार्थले सम्झाउँछ—सबै चाहनाहरू पूरा हुँदैनन्। केही सपना समयसँगै थाक्छन्। केही सपना जिम्मेवारीको भारीमुनि चुप लाग्छन्। केही सपना जीवितै रहँदा पनि बोल्न छोड्छन्।
तर यो आत्मकथा केवल हारको कथा होइन। यो स्वीकारोक्तिको कथा हो। म सबै हुन सकिनँ, सबै पाउन सकिनँ। तर मैले आफ्ना सीमाहरू चिनेँ। आफूलाई बुझ्ने प्रयास गरेँ। र जे जति बाँचेँ—इमानदारीसाथ बाँचेँ।
यदि मेरा सपना उमेरसँगै मौन बने पनि, मेरो अनुभव, मेरो संघर्ष, र मेरो कथा यी शब्दहरूमा बाँचिरहून्। सायद यही नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो।