नियमित वा लाभांश नै नपाइँदा पनि जलविद्युत कम्पनीहरूमा विभिन्न कारणले लगानीकर्ता आकर्षित भइरहेका हुन्छन्।
यस्ता कम्पनीका कम कित्ता सेयर बजारमा हुनु, कुनै न कुनै बहानाले बढाइनु, उच्च उतार–चढाव हुने भएकाले मूल्य बढ्दा उच्च लाभ हुनु लगायत कारण लगानीकर्ता आकर्षित हुन्छन्।
त्यसैले सेयर बजारमा वर्षौंदेखि रहेका तर आफैले कमाएर केही नदिएका हाइड्रोपावर कम्पनीमा समेत लगानीकर्ताको आकर्षण हुन्छ।
लगानीकर्ताहरूको यस्तै आकर्षणका कारण कम्पनीहरूले संस्थापक, कर्मचारी र स्थानीयले समेत सेयर बिक्री गर्न पाउने अवधि (३ वर्षको लकिङ अवधि) खुल्ने समयमा आकर्षक हकप्रद सेयरको प्रस्ताव अघि सार्छन्।
लकिङ अवधिपछि सबैले सेयर बिक्री गर्न पाउँदा बजारमा आपूर्ति बढ्ने र मूल्य घट्न सक्ने भएकाले यस्तो हकप्रद प्रस्ताव अस्त्र बन्छ।
हकप्रद कम्पनीले कमाएर नभई निश्चित अवधि (बुक क्लोज) सम्म कायम रहेका सेयरधनीलाई थप पैसा लिएर थप सेयर दिने व्यवस्था हो। बुक क्लोज अवधिसम्म कायम सेयरधनीले मात्रै यस्तो सेयरका लागि आवेदन दिन पाउँछन्।
हालसालै दुई जलविद्युत कम्पनीमा यस्तै प्रवृत्ति देखियो।
यी कम्पनी हुन् मनकामना इन्जिनियरिङ हाइड्रोपावर र मोदी इनर्जी।
मनकामना इन्जिनियरिङ हाइड्रोपावर
मनकामना इन्जिनियरिङ हाइड्रोपावर असोज २०८० सालबाट कारोबारमा आएको हो। २०८३ भदौ पहिलो साता यसको लकिङ अवधि सकियो।
यसले २०८२ भदौमा भएको पाँचौं वार्षिक साधारण सभामै हकप्रद सेयर निष्कासनबारे छलफल गर्ने प्रस्ताव लगेको थियो। त्यसको केही समयदेखि नै यसको मूल्य प्रतिकित्ता ५०० रूपैयाँभन्दा बढीमा कारोबार हुन थालेको थियो।
एक कित्ता हुनेले एक कित्ता नै पाउने गरी मनकामनाले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरको थियो। तर विद्युत नियमन आयोगबाट यही दरका लागि स्वीकृति पाएन। एक सय कित्ता हुनेले ७७ कित्ता (एक बराबर ०.७७ अनुपात) पाउने गरेर स्वीकृति पायो।
मनकामनाले यही प्रस्ताव पुनः यही भदौ १७ गते विशेष साधारण सभामा लगेको थियो। त्यहाँबाट पारित भए पनि कम्पनी धितोपत्र बोर्डमा अनुमतिका लागि पुगिसकेको छैन।
अहिले यो प्रस्तावले लगानीकर्ता तान्न सकेको छैन। सेयर मूल्य २५८ रूपैयाँ हाराहारी चलिरहेको छ।
घट्दो सेयर बजार र यसको लकिङ खुलिसकेकाले पनि मूल्य घटेको हो। सर्वसाधारणमा २८ लाख कित्ता सेयर रहेको यसको लकिङ पिरियड खुलेसँगै ८० लाख कित्ता सेयर कारोबारमा आउन योग्य भएको छ।
समयमै हकप्रद ल्याउने तयारी पूरा भएको भए सम्भवतः यसरी लकिङ खुल्दा पनि मूल्य कायम राख्ने उद्देश्य पूरा हुन सक्थ्यो। र, उच्च मूल्यमा संस्थापक लगायतले सेयर बिक्री गर्न पाउने थिए। यो सम्भव हुन सकेन।
त्यसो त तीन वर्ष पुग्न लाग्दा पनि कम्पनी आफैले कमाएर कुनै लाभांश दिएको छैन। दोलखा जिल्लामा ५ मेगावाटको घट्टेखोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको यो कम्पनी यस पटक नाफामा आएको छ।
गत आर्थिक वर्ष २०८२/२०८३ मा एक करोड ३८ लाख रूपैयाँ नाफामा भए पनि यसको सञ्चित नोक्सान अझै २८ करोड रूपैयाँ छ। त्यसैले हकप्रद जारी गरेर उठ्ने रकम सम्भवतः ऋण तिर्नै प्रयोग गर्ने सम्भावना छ।
मनकामनाको करिब ७४ करोड रूपैयाँ ऋण छ। यसले अहिलेको अनुपातमा हकप्रद जारी गरेमा करिब ६२ करोड रूपैयाँ जुटाउने छ।
मोदी इनर्जी
मोदी इनर्जी पनि २०८० असारबाट कारोबारमा आएको हो। यही वैशाखमा यसको लकिङ अवधि सकियो।
यसले २०८१ साउनमै विद्युत नियमन आयोगबाट एक बराबर एक अनुपातमा हकपद सेयर जारी गर्न स्वीकृति पाएको थियो।
२०८२ चैतमा यसले एक सय बराबर ९० कित्ता (एक बराबर ०.९ अनुपात) हकप्रद जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दियो। हालसम्म यसको अनुमति प्रक्रियामा देखिने गरी कुनै काम अगाडि बढेको छैन।
मोदी इनर्जीको सेयर मूल्य प्रतिकित्ता ३५० रूपैयाँभन्दा माथिसम्म पुग्न सकेको छैन। हाल २१० रूपैयाँ हाराहारीमा कारोबार भइरहेको छ।
यसको ७२ लाख कित्ता सेयर सर्वसाधारण सेयरधनीसँग छ। वैशाखमा लकिङ खुलेपछि पूरै २ करोड ९० लाख कित्ता सेयर कारोबार हुने अवस्था बनेको छ।
मोदी इनर्जी अहिले पनि ८ करोड रूपैयाँ नोक्सानमा छ। यसको सञ्चित नोक्सान एक अर्ब २८ करोड रूपैयाँ छ।
यसले पनि हकप्रदबाट उठ्ने दुई अर्ब ६१ करोड रूपैयाँबाट ऋण तिर्ने सम्भावना छ। यसको तीन अर्ब ४५ करोड रूपैयाँ ऋण छ।
मोदी इनर्जीले हाल २० मेगावाटको तल्लो मोदी खोला हाइड्रोपावर आयोजना सञ्चालन गरिरहेको छ।