हाम्रो समाजले एउटी महिलालाई पूर्णताको प्रमाणपत्र तब मात्र दिन्छ, जब उनी आमा बन्छिन्। सृष्टि र मातृत्वको यो अनुपम वरदानलाई समाजले यसरी अनिवार्य कसी बनाइदिएको छ कि, कुनै महिला प्राकृतिक वा स्वास्थ्यगत कारणले आमा बन्न सकिनन् भने उनको अस्तित्वमाथि नै प्रश्न चिह्न खडा गरिन्छ।
मेरो घर नजिकैको छिमेकी बहिनी निजी विद्यालयमा अध्यापन गर्छिन्। सयौँ बालबालिकाको भविष्य उज्यालो बनाउन अहोरात्र खटिने एक महिला शिक्षकको जीवनकथा र उनको आँसुले मलाई यो लेख लेख्न बाध्य बनाएको छ। यो केवल एक व्यक्तिको कथा होइन, यो हाम्रो पितृसत्तात्मक र परम्परावादी समाजको क्रूर ऐना हो।
सन्तान प्राप्तिको चाहना हरेक दम्पतीको प्राकृतिक इच्छा हो। जब प्राकृतिक रूपमा सन्तान भएनन्, उनले आधुनिक चिकित्सा विज्ञानका ढोकाहरू ढकढक्याउन सुरु गरिन्। नेपालदेखि विदेशका महँगा र प्रतिष्ठित अस्पतालहरू, आधुनिक प्रविधि (जस्तै आइभिएफ र अन्य उपचार पद्धति) का अनगिन्ती चरणहरू उनले पार गरिन्।
त्यो प्रक्रिया कुनै सामान्य उपचार मात्र थिएन। शरीरभरि सुईका नीलडामहरू, औषधिहरूको कडा रियाक्सन र हरेक महिना आशाहरू पलाउँदै फेरि निराशामा परिणत हुने मानसिक अन्तर्निहित समस्याको जालो थियो।
विज्ञानका अत्याधुनिक प्रविधिहरू प्रयोग गर्दा उनले कति पटक मृत्युको मुखमा पुगेर नयाँ जीवन प्राप्त गरिन्, त्यो शब्दमा बयान गर्न सकिँदैन। कडा शल्यक्रिया, अत्यधिक रक्तस्राव र उपचारका क्रममा आइपर्ने जटिलताका कारण उनी कैयौँ पटक आइसियुको शय्यामा जीवन र मरणको दोसाँधमा छटपटाइन्। तर हरेक पटक मृत्युलाई जितेर फर्किँदा पनि उनको रित्तो कोखले उनलाई न्याय पाएन। अन्ततः विज्ञान पनि उनको मातृत्वको तिर्खा मेट्न असफल साबित भयो।
विज्ञान थाक्यो तर उनको मनमा लागेको चोट कहिल्यै निको नहुने गरी छियाछिया भयो। त्यसमाथि पनि छिमेकी आफन्त भनाउँदाहरूले घाउमा मलमपट्टी लगाउने ठाउँमा वचन रूपी बाणले घोचिरहँदा देउरानी, जेठानी र सासू-आमाजूले कुन जुनीको पापले गर्दा सन्तान नभएको भनेको सुन्दा त जीवनदेखि नै हार मान्न थालिन्।
यतिसम्म छिमेकीले भने कि कुनै शुभकार्य गर्दा वा कुनै यात्रा गर्दा सन्तान नभएको महिलालाई देख्यो भने राम्रो हुँदैन रे! यो शब्दले कसको मन रुन्न होला र!
हरेक दिन श्रीमानसँग रोइ कराई गर्न थालिन्। बिन्ती बिसाउन थालिन्। उनका श्रीमान् उनका लागि भगवानको स्वरुपै थिए र एक दिन श्रीमान्ले एउटा सुन्दर र मानवीय निर्णय लिए— अनाथ वा सहाराविहीन बच्चालाई कानुनी रूपमा अपनाउने अर्थात् 'एडप्सन' (धर्मपुत्र/पुत्री) स्वीकार गर्ने।
संसारमा कतिपय बालबालिका आमाबाबु विहीन छन् त कतिपय आमाबाबु सन्तानविहीन। यी दुवैको मिलन नै सृष्टिको सबैभन्दा सुन्दर रूप हुन सक्थ्यो। तर विडम्बना! यहाँ फेरि समाज र परिवार तगारो बनेर उभियो।
‘आफ्नो रगत त आफ्नै हुन्छ’, ‘कुल घरान कसको हो के थाहा?’, ‘भोलि यसले हेर्छ कि हेर्दैन?’ जस्ता परम्परावादी र रूढिवादी तर्कहरू अघि सारेर परिवार र समाजले एडप्सनलाई ठाडै अस्वीकार गरिदियो। कसैको सहारा बनेर आमा बन्ने उनको यो पवित्र इच्छालाई समाजको 'रगत र वंश' को अहङ्कारले कुल्चिएर फालिदियो।
एउटी नारी जो अर्काको बच्चालाई आफ्नै सन्तान सरह माया दिएर पाल्न तयार थिइन्, उनलाई समाजले ‘हैन, तिमी आफ्नै रगतको आमा बन्नुपर्छ, नत्र तिमी अपूर्ण हौ’ भनेर मानसिक रूपमा बहिष्कृत गरिरह्यो। जुन समाजमा सयौँ अनाथ बालबालिकाहरू सडकमा भौँतारिइरहेका छन्, त्यही समाजमा एउटी इच्छुक महिलालाई आमा बन्न र एउटा बच्चालाई ओत लाग्न नदिनु सामाजिक अपराध होइन र?’
यी सबै प्रहार, तानाबाना र तिरस्कारका बिच पनि उनी हरेक दिन विद्यालय आउँछिन्। आफ्नो व्यक्तिगत पीडालाई विद्यालयको गेटबाहिरै छोडेर, ओठमा एउटा कृत्रिम तर निकै न्यानो मुस्कान सजाएर उनी कक्षाकोठामा प्रवेश गर्छिन्। अरूका छोराछोरीलाई आफ्नै सन्तान ठानेर कखरा सिकाउँछिन्, उनीहरूको आँसु पुछिदिन्छिन् र उनीहरूको उज्ज्वल भविष्यको जग बसाल्छिन्।
पटक-पटक मृत्युको मुखबाट उम्केको त्यो शरीर र समाजले हजारौँ पटक तिरस्कार गरेको त्यो मन बोकेर पनि उनी जसरी उभिएकी छिन्, त्यो उनको अद्भुत धैर्यता र सहनशीलताको प्रमाण हो। तर उनको त्यो शान्त चेहराको पछाडि लुकेको कारुणिक चितकार, राति सिरानी भिज्ने गरी बग्ने आँसु र चाडपर्वहरूमा आफन्तका आँखाबाट बच्न खोज्ने उनको छटपटी म उनको छिमेकी दिदी हुनुको नाताले महसुस गर्न सक्छु।
अब त सोच बदलौँ: समाजलाई एक गम्भीर प्रश्न
हामी कहिलेसम्म एउटी महिलाको मूल्याङ्कन उसको कोखको उर्वरताका आधारमा मात्र गरिरहने? सन्तान हुनु वा नहुनु प्राकृतिक कुरा हो, यसमा कसैको दोष हुँदैन।
१. मातृत्व केवल जैविक मात्र होइन: मातृत्व त एउटा भावना हो, एउटा समर्पण हो। यदि एउटी महिलाले अरूका छोराछोरीलाई निःस्वार्थ माया दिन सक्छिन् भने उनी आमा हुन्।
२. एडप्सनलाई सहज रूपमा स्वीकार गरौँ: रगतको नाताभन्दा माथि उठेर मानवीय नातालाई सम्मान गर्न सिकौँ। धर्मपुत्र वा धर्मपुत्री राख्नु कुनै पाप वा लाजको विषय होइन, यो त मानवीयताको उत्कृष्ट उदाहरण हो।
३. मानसिक हिंसा बन्द गरौँ: तिज, व्रतबन्ध, विवाह वा अन्य सामाजिक कार्यहरूमा सन्तान नभएका महिलाहरूलाई हेरिने दृष्टिकोण र गरिने टीकाटिप्पणी आजैदेखि बन्द गरिनुपर्छ।
निष्कर्ष
मेरी छिमेकी बहिनी आज पनि संघर्षरत छिन्। उनी शारीरिक रूपमा निको भएकी छिन् तर सामाजिक र पारिवारिक सोचका कारण मानसिक रूपमा दिनदिनै मर्दै र बाँच्दै छिन्।
कृपया नारीलाई 'आमा बन्ने मेसिन' का रूपमा मात्र नहेरौँ। विज्ञान असफल हुन सक्छ तर हाम्रो मानवीय संवेदना असफल हुनु हुँदैन। एडप्सन (धर्मपुत्र/पुत्री) लाई समाजले खुला हृदयले स्वीकार गर्नुपर्छ ताकि भविष्यमा कुनै पनि आमाले कोख रित्तो भएकै कारण यसरी छियाछिया भएको मन लिएर बाँच्न नपरोस् र कसैले पनि मृत्युको मुखमा पुगेर मातृत्वको भीख माग्नु नपरोस्।
(लेखक श्री त्रिभुवन शान्ति नमुना मावि पोखरा- ३०, कास्कीको शिक्षक हुन्।)