एकजना शिक्षक भन्दै हुनुहुन्थ्यो, ‘बालबालिका कक्षा तीनमा पुगिसक्यो, नेपाली अक्षर चिन्दैनन्। के गरी सिकाउने होला? म त हैरान छु।’
अर्का शिक्षकले थप्नुभयो, ‘आज सिकायो भोलि बिर्सिन्छन्। कसरी सम्झन सक्ने बनाउने होला।’
अर्का शिक्षक बताउनुहुन्छ, ‘बालबालिकाले ‘बी’लाई ‘डी’ र ‘डी’लाई ‘बी’ लेखेर हैरान पारे। किन उल्टो लेखेको होला?’
यो हेर्दा प्रारम्भिक कक्षामा अध्यापन गराउने शिक्षकहरूका लागि बालबालिकालाई अक्षर फुटाउन निकै संघर्ष गर्नुपरेको देखिन्छ।
शिक्षण सिकाइको क्रममा एक जना शिक्षकले बोर्डमा ‘क’ देखि ‘ज्ञ’ सम्म लेखेर कण्ठ गर्न लगाउँदै हुनुहुन्थ्यो। अर्का शिक्षकले एबीसीडी सबै देखाएर घोकाउँदै हुनुहुन्थ्यो। बालबालिकाहरू शिक्षकलाई पछ्याउँदै उच्चारण गरिरहेका थिए।
एक सरकारी अध्ययनले पनि कक्षा तीनको अन्त्यमा १० प्रतिशत बालबालिकाले शब्दहरू चिन्न नसकेको तथ्याङ्क देखाउँछ। आखिर किन लामो समय सिकाउँदा पनि बालबालिकाले अक्षर, बाह्रखरी, शब्दहरू चिन्दैनन्?
के साँच्चै अक्षर चिनारी कठिन कार्य हो? अथवा हाम्रो सिकाउने तरिका सही नभएको हो?
के सजिलो तरिकाले बालबालिकाले अक्षरहरू चिन्न सक्छन्?
चिनारी (डिकोडिङ) के हो?
भाषाको संकेत वा अक्षरलाई चिन्ने अथवा संकेतलाई ध्वनिमा बदल्ने प्रक्रिया नै चिनारी हो। यसलाई अक्षर फुटाउनु पनि भनिन्छ। यसलाई बिसङ्केतन र अङ्ग्रेजीमा डिकोडिङ पनि भनिन्छ। अक्षर, बाह्रखरी चिन्नु, अक्षरहरू जोडेर शब्द पढ्नु डिकोडिङ हो। हेर्दा अक्षर चिनारी सामान्य लागे पनि यो एक जटिल संज्ञानात्मक प्रक्रिया हो।
बालबालिकाले संकेत चिन्ने, अन्य संकेतभन्दा फरक हो भनी पहिचान गर्ने, फरक फरक संकेतहरू र ध्वनि जोडेर शब्द निर्माण गर्न बालबालिकाले मस्तिष्कमा थुप्रै मानसिक अभ्यास गर्नुपर्छ। अर्कातिर बालबालिकालाई सबै वर्णहरू उस्तै-उस्तै लाग्छ र उल्झन पैदा हुन्छ। त्यसैले उपयुक्त सिकाइ विधि नभएमा बालबालिकालाई अक्षर चिनारी एक कठिन कार्य हुन जान्छ। माथि शिक्षकले भनेजस्तै धेरै समय लाग्ने पनि हुन्छ।
डिकोडिङ किन महत्त्वपूर्ण छ?
बालबालिका पढाइको फराकिलो दुनियाँमा प्रवेश गर्ने द्वार नै डिकोडिङ हो। अक्षर शब्दको सही चिनारी नभएसम्म पढेको बुझ्ने भन्ने सम्भावना हुँदैन। अर्कातिर अक्षर चिन्ने कामलाई नै लामो समय लाग्यो भने भाषिक, गणितीय र विज्ञानका विषयवस्तु बुझ्न सक्दैन। यसले सिकारुलाई स्वतन्त्र सिकाइ र पढाइलाई जीवनसँग जोड्न धक्का पुर्याउँछ। माथि उदाहरणमा भनिएझैँ सिकाइ क्षति सुरु हुन्छ।
कसरी सिकाउने त डिकोडिङ?
एकैपटक धेरै वटा अक्षरहरू कालोपाटीमा लेखेर चिनाउन खोज्नु नै गलत सुरुवाती हो। किनभने एउटा नयाँ अक्षर चिन्नु नै बालबालिकाले धेरै मानसिक अभ्यास गर्नुपर्छ। यो भनेको हामीलाई धेरै जना मानिसहरूको एकैपटक परिचय गर्दा एकछिनपछि सबैको नाम बिर्सिए जस्तै हो। जब एकभन्दा धेरै वर्ण पहिचान गराउन खोज्दा उनीहरूमा उल्झन पैदा हुन्छ र लामो समयसम्म सिक्न सक्दैन। अब केही उपायहरूबारे छलफल गरौँ।
ध्वनि र संकेतको सम्बन्ध गाँस्ने
हरेक ध्वनिको आफ्नै संकेत हुन्छ। बालबालिकालाई संकेत र ध्वनिको सम्बन्ध सिकाउँदा अक्षरहरू चिन्न सजिलो हुन्छ। जस्तै, कलम देखाउने। यो के हो? विद्यार्थीले कलम भन्नेछन्। कलम शब्दको सुरुमा कुन ध्वनि आएको छ? विद्यार्थीले ‘क’ भन्नेछन्। अर्को, शिक्षकले ‘क’ ध्वनि उच्चारण गर्ने विद्यार्थीलाई ‘क’ अक्षर खोज्न लगाउने। यस्ता खाले क्रियाकलापले बालबालिकाले छिट्टै अक्षर शब्दहरू पढ्न सक्छन्।
अक्षर, मात्रा र शब्द कार्डको प्रयोग
हरेक अक्षर, मात्रा, शब्दहरूको छुट्टाछुट्टै कार्ड बनाउने। विद्यार्थीलाई अक्षर चिनाउने। अक्षर र मात्राहरू जोडेर बाह्रखरी सिकाउने। जस्तै ‘क+ा’ मिलाए ‘का’ अलग अलग शब्दहरू पठन गर्न लगाउने। यसरी सिकाउँदा खेल जस्तो देखिने भएकोले बालबालिकाले रमाइलोसँग सिक्छन्।
ध्वनिलाई जोड्ने र टुक्र्याउने
फरक वर्णको फरक ध्वनि हुने र एकभन्दा बढी ध्वनि जोडेर शब्द उच्चारण गर्ने काम बालबालिकाका लागि एक जटिल प्रक्रिया हो। शब्दको सही उच्चारण अभ्यासका लागि फरक फरक अक्षरलाई जोड्ने अभ्यास बारम्बार अभ्यास गराउने। जस्तै ‘मा’+‘ला’— माला। त्यसै गरी सिङ्गो शब्दलाई टुक्र्याउने सिकाउने। जस्तै माला—‘मा’ ‘ला’। यस खाले क्रियाकलापले बालबालिकाले फरक ध्वनिहरू जोडेर तुरुन्तै शब्द पढ्न र लेख्न सक्दछ।
बाह्रखरीलाई जोड दिने
नेपाली भाषाको हकमा अक्षर र मात्रा मिलेर प्राय शब्द र वाक्य बन्ने हुँदा बाह्रखरी राम्ररी सिकाउन सके बालबालिकाले छिट्टै शब्दहरू पठन गर्न सक्दछ। यसका लागि अक्षर र मात्रा पत्ति जोडेर सिकाउने अभ्यास गर्नु पर्छ। अक्षर र मात्राको ध्वनिहरू जोडेर सिकाउँदा छिटो सिक्दछ। जस्तै ‘क+ा’— ‘का’, ‘क+ि— ‘कि’। कलम ‘क’ र आकार ‘ा’ मिलेर का हुन्छ भनी सिकाउने अभ्यास छोडौँ।
वर्ण हेरफेर खेल
वर्णहरू हेरफेर गरेर बालबालिकालाई शब्द फुटाउने अभ्यास गराउनु पर्छ। यसो गर्दा बालबालिकालाई फरक फरक शब्दहरू चिन्न र उच्चारण गर्न सजिलो हुन्छ। जस्तै जल शब्दमा ‘ज’ हटाउने र ‘क’ थप्ने— कल।
छापा सामग्रीको प्रयोग
शोधकर्ताहरूले के सुझाएका छन् भने छापायुक्त कक्षाकोठामा सिकाइ गरेको बालबालिकाको सिकाइ, छापाविहीन कक्षाकोठाको भन्दा राम्रो हुन्छ। त्यसैले कक्षाकोठामा बालबालिकाले सिक्नु पर्ने अक्षर, बाह्रखरी, शब्द, वाक्यांशहरू हुनुपर्दछ र दिनदिनै गरिने शिक्षण अभ्यासमा ती अक्षर वा शब्दहरू कहाँ छन् भनेर खोज्न लगाउनुपर्छ। यसो गर्दा चिनारी छिटो हुन्छ। साथै बालबालिकाले खोज्ने बानीको विकास गर्दछन्। अनि उनीहरू होडिङ बोर्ड, ब्यानर, चाउचाउ, बिस्कुटको खोल, चामलको बोरा आदिमा के के अक्षर वा शब्द छन् भनी हेर्न थाल्छन् र पत्तै नपाइ चिनारीको काम भइरहेको हुन्छ।
बिसङ्केतन पाठ अभ्यास
निश्चित अक्षर र मात्राहरू पढी सकेपछि त्यहाँबाट थुप्रै शब्द र वाक्य बनाउन सकिन्छ। त्यसरी बनेको पाठलाई बिसङ्केतन पाठ भनिन्छ। यस प्रकारको साना साना पाठ निर्माण गरी बालबालिकालाई अभ्यास गराउँदा चिनारी अति छिटो हुन्छ। वर्षभरि नै अक्षर र बाह्रखरी सिकाउँदा चिनारी ढिलो भएको हो। जस्तै स्वर वर्णहरू सबै चिनेपछि, ‘क’ र ‘ख’ वर्ण चिन्दा, काका आए। कोक खाए। काकी आई। खाका खोइ? जस्ता वाक्य बन्दछ। यो अभ्यासले बालबालिकाले कक्षा १ देखि नै पाठ पढ्ने अभ्यास गर्न पाउँछन्।
बाल साहित्यका पुस्तक
बाल साहित्यका छोटा र रमाइला पुस्तकहरूले बालबालिकालाई अक्षर शब्द चिन्न र प्रवाह सहित पढ्न सहयोग गर्छ। त्यस्ता पुस्तकहरू उनीहरूको रुचि र स्तर अनुसार हुने भएकोले स्वतन्त्र र इच्छापूर्वक पढ्न र सिक्न थाल्दछन्। निरन्तर पुस्तक पढ्ने अभ्यासले उनीहरूको चिनारी र पठन प्रवाह सुधार हुन्छ।
उपसंहार
बालबालिकाले अक्षर, बाह्रखरी र शब्द चिन्न नसक्नु उनीहरूको कमजोरी मात्र होइन, धेरैजसो अवस्थामा हाम्रो शिक्षण विधिसँग पनि सम्बन्धित हुन्छ। डिकोडिङ वा चिनारी प्रक्रिया हेर्दा सामान्य लागे पनि यो जटिल मानसिक प्रक्रिया हो, जसमा बालबालिकाले संकेत, ध्वनि र शब्दबिच सम्बन्ध गाँस्न सिक्नुपर्छ।
त्यसैले धेरै अक्षर एकैपटक घोकाउने भन्दा ध्वनि–संकेतको सम्बन्ध, बाह्रखरी अभ्यास, वर्ण हेरफेर खेल, कार्ड प्रयोग, छापा सामग्री र बिसङ्केतन पाठजस्ता क्रियात्मक तथा रमाइला विधिबाट सिकाउँदा बालबालिकाले छिट्टै अक्षर चिन्ने र पढ्ने क्षमता विकास गर्न सक्छन्। सही विधि, नियमित अभ्यास र बालमैत्री वातावरण भएमा बालबालिकाका लागि डिकोडिङ कठिन होइन, बरु सहज र आनन्ददायी सिकाइ बन्न सक्छ।
(लेखक शिक्षा क्षेत्रमा कार्यरत छन्।)