त्यसै त होइन ग्लोरिया एन्जाल्दुवाले आफ्नो व्यक्तिगत कथात्मक निबन्ध ‘हाउ टु टेम अ वाइल्ड टंग’ मा लेखेको एक केटी, त्यसमाथि अन्तर सांस्कृतिक परिवेशमा हुर्केकी एक महिला त झन् दोहोरो रूपमा पीडित हुन्छिन्; पहिलो भाषिक, दोस्रो लैंगिक।
उनको किताब ‘बोर्डरल्यांड्स/ला फोरीन्टा: द निउ मेस्टिजा’ मा रहेको यो निबन्धले मलाई गहिरो रूपमा स्तब्ध बनाएको थियो। उनको परिवार मेक्सिकन वंशको भए पनि उनी चाहिँ अमेरिकाको रिओमा जन्मेकी थिइन्, मेक्सिकन बोर्डरको नजिक। बोर्डरको छेउमा विभिन्न जातिका थरी भाषा बोल्ने मान्छेहरू बस्दा आफ्नो खास पहिचान छुट्टाउन कति गाह्रो हुन्छ भन्ने कुरा उनको यो व्यक्तिगत कथात्मक निबन्धमा छर्लङ्ग देखिन्छ।
घरमा उनको आमालाई इङ्ग्लिस आउँदैन जसले गर्दा आमाको डरले उनलाई स्पेनिस बोल्ने बाध्यता हुन्छ भने स्कुलमा इङ्ग्लिस। जसले गर्दा उनको इङ्ग्लिस अरूको जस्तो राम्रो हुँदैन अनि शिक्षक र कक्षा सहपाठीहरूको हेपाइ उनले सहन पर्थ्यो। त्यसैले उनको जिब्रोलाई जंगलीको परिचय दिइयो। सर्वप्रथम यो जंगली जिब्रोले भाषाको लागि लड्न पर्यो भने पछि अस्तित्वको लागि।
उमेर बढ्दै जाँदा लैंगिकताको आधारमा पनि उनले धेरै दुर्व्यवहार पनि खेप्न पर्यो। उनी फेमिनिस्ट हुन् र आफूलाई एलजिबिटिक्यूआई+ को क्वीर समुदायमा पर्छु भनेर आफ्नो चिनारी बनाउन खोज्दा अर्को ठुलो तेस्रो युद्ध उनले लड्न परेको थियो।
मैले पनि उनकै निबन्धको मोडेललाई आधार मानेर आफू स्नातकोत्तर गर्दा एक निबन्ध तयार गरेकी थिएँ जुन कक्षामा प्रथम पनि भएको थियो। उनले वास्तविक घटनालाई काल्पनिक मिश्रण दिएर एकदम रोचक बनाएकी थिइन्। मैले पनि आफ्नो निबन्ध लेख्दा मेरो वास्तविक घटनालाई प्रयोग गरेको थिएँ— मेरो पहिलो चोटि महिनावारी भएको कथा जहाँ मलाई सात दिनसम्म बन्द कोठामा राखिएको थियो। म आफ्नो बुवा र भाइको नजरबाट बचेर ट्वाइलेट अनि स्कुल जाने गर्थे।
सुरुको दिन आमाले थाहा पाउने बित्तिकै हतारिँदै बहिनीहरूलाई अर्को कोठामा सर्न लगाएर मलाई त्यो कोठामा झ्यालको पर्दा लगाएर ढोकामा चुक्कुल लगाउनु भएको थियो। मलाई अझै याद छ भाइले ‘मम्मी दिदी खोइ’ भनेर सोध्दा आमाले ‘दिदी त साथीकोमा बस्न गएकी छे’ भनेको। भाइले बेलाबेला किन ढोकाको चुक्कुल लगाएको भनेर ढोका खोल्ने कोसिस पनि गर्थ्यो तर आमाले गाली गरेर ढोकाको नजिक जान बन्देज लगाउनु हुन्थ्यो।
भाइ मभन्दा निकै कान्छो थियो तर उसलाई मलाई भन्दा बढी स्वतन्त्रता थियो। आफूलाई विभेद गरिएको छ र केटी भएर जन्मिनु भनेको सधैँ पुरुषभन्दा कमजोर हुनु हो भन्ने कुराको बोध अरूले भन्दा पनि आफ्नै परिवारले सुरुमा सिकाउँछ।
थाहा छ लैंगिक विभेदको कुरा गर्दा किन पुरुषहरूलाई नाटक गरेको जस्तो महसुस हुन्छ? किनकि उनीहरू कहिल्यै पनि विभेदको सिकार भएनन्। ‘केटा मान्छे भनेको बलियो हुनुपर्छ, केटा भएर रुनु हुन्न, केटा भनेको निडर हुनपर्छ’ पुरुषहरूलाई सानैबाट यस्ता पाठ पढाएर हुर्काइन्छ भने केटीहरूलाई उनीहरूको गहना ‘लाज’ हो भनेर सिकाइन्छ।
छोरीको मनस्थिति कमजोर बनाउन आमाको तिखो नजर अनि बुवाको एक गाली भए जति पनि पुग्छ। आमा त्यस्तै परिवेशमा हुर्किएकीले छोरीलाई पनि उही परिवेशमा ढाल्न खोज्छिन् अनि उनी कतै चुकिन् भने उनको हात कस्ने काम बुवाको त छँदै छ।
मलाई म कति कमजोर छु भन्ने कुरा त्यति बेला थाहा भयो जति बेला मैले आफ्नो बुवासँग ‘नागरिकता बनाउन बुवा नै चाहिन्छ भन्ने छैन, आमाको नाममा पनि बनाउन सकिन्छ’ भन्ने विषयमा आफ्नो विचार राखेँ। तर मैले एकछिनमै आफ्नो मुखमा ताल्चा लगाउन पर्यो। यो लगभग तेह्र वर्ष अगाडिको कुरा जहाँ नागरिकता बनाउने विषय उठ्दा मैले भनेँ, ‘बुवा, हजुर कामले केही दिन अन्तै जान परे पनि मम्मी हुनुहुन्छ त, हजुर किन चाहियो नागरिकता बनाउनलाई?’
‘बढी बोल्छेस् ! बाउ को हो थाहा नभई नागरिकता बन्छ?’ उहाँको यति बचन सुनेपछि मेरो आँट आउँछ त बोल्नलाई! भिजेको बिरालो भइहालेँ नि त्यसपछि।
मेरो भाइ मभन्दा सानो भए नि स्वतन्त्रताको कुरामा ऊ निकै धनी थियो। उसलाई कुनै खालको रोकटोक थिएन अनि उसलाई कुनै नियम कानुन पनि लगाइँदैन तर हरेक नियमहरू मसँग मात्र सीमित थिए। त्यसै क्षणबाट मेरो आत्मविश्वास डगमगाएको मलाई पत्तै भएन।
‘छोरी मान्छे भनेको हरेक नियम कानुनमा बाँधिएर चल्नु पर्छ’ भन्ने वाक्य सुनेरै हुर्किँदा म पनि यही वाक्यमै सीमित भैसकेको रहेछु। अझै पनि पुरुषहरूमा हुने जस्तो आत्मविश्वास ममा छैन। मेरी वुल्सटोनक्राफ्टले भने जस्तै पितृसत्ताले यस्तो भ्रम पैदा गरेको हुन्छ जहाँ छोरीहरूलाई स्वतन्त्र छोड्नु हुन्न भन्ने भ्रमित यथार्थ निर्माण गरिन्छ।
तपाईंहरूले खाने, लाउने, पढ्ने इत्यादि कुरामा समान तरिकाले छोराछोरी हुर्काउनु भएको छ भन्ने कुराले तपाईंको छोरीको मनोबल बढ्ने होइन। तपाईंका हरेक निरुत्साहित शब्दले ऊ कति आत्मविश्वासी छे भन्ने देखाउँछ।
मलाई मेरो बुवाले सिकाउनुहुन्थ्यो ‘छोरी मान्छेको इज्जत भनेको सेतो सल जस्तो हो, एकचोटि दाग लागेपछि मेटिँदैन।’ छोरीले लगाउने कपडा, बोल्ने बचन अनि उसको संस्कारले उसको बाउ आमाको इज्जत रहन्छ अरे। यदि बाटोमा हिँड्दा कोही केटाले जिस्काई हाल्यो भने कतिले टाउको निहुराएर चुप लागेर हिँड्नु पर्छ, फर्केर जवाफ दियो भने त बेइज्जत हुन्छ अरे। केटा हो केटाको जातले जिस्काई हाल्छ नि, उनीहरूको के बेइज्जत हुन्छ र? म यही सुन्दै हुर्किएको।
केटाले केटीलाई दुर्व्यवहार गर्न हुने तर केटीले फर्किएर जवाफ दियो भने केटीकै बेइज्जत हुन्छ अरे। केटाले आक्रमण गर्न सक्छन्, डराउनु पर्छ अरे। त्यसैले मैले सिकेँ, बोल्नुभन्दा नबोल्नु नै आफ्नो इज्जत अनि ज्यानको औषधि हुन्छ। दोषी डराउनु पर्ने हो तर केटीलाई चाहिँ किन बोल्न हुन्न, डराउन पर्छ भनेर सिकाइन्छ? किनकि समाजको उच्च पदमा बसेका विद्वान पुरुषहरूको घरमा पनि भेदभाव हुन्छ। उनीहरू आफ्ना अफिस र विश्वविद्यालयमा लैंगिक समानताको ठुलो भाषण दिन्छन् तर उनीहरूको मुखौटा घर पुग्ने बित्तिकै उत्रिन्छ जहाँ उहाँहरूको श्रीमती, छोरी र बुहारी एकदम दमनको सिकार भइराखेका हुन्छन्।
श्रीमतीको हरेक भूमिका उनीहरूलाई अति आवश्यक छ। श्रीमती बिना उनीहरूको घर नि चल्दैन तर उही श्रीमतीलाई निचो नदेखाएसम्म उनीहरू माथि पनि पर्दैनन् फेरि। कस्तो रोगी मानसिकता है एक पुरुषलाई आफूमाथि पर्न अनि आफ्नो अवगुण ढाकियोस् भनेर महिलाको गुणमा प्रहार गर्छ। उनीहरूलाई लाग्छ कि उनीहरू नै सर्वज्ञानी हुन्।
यही भाषाको कुरा गर्दा, यदि एक पुरुषले एक महिलासँग फ्लर्ट गर्छन् जस्तै ‘आहा आज कति राम्री देखिएकी, हेरिरहूँ जस्ती’ भन्यो भने उसको चरित्रमा कत्ति पनि प्रश्न उठ्दैन। तर त्यही ठट्टामा महिलाले नि उस्तै तरिकाले जवाफ दिइन् भने त्यही पुरुषले सोच्छ ‘कस्ती उत्ताउली हो, यसलाई त सजिलै पट्टाउन सकिने रहिछ।’ उक्त पुरुषले मात्र होइन अरूले पनि त्यो महिलालाई उत्ताउलोको ट्याग लगाइदिन्छन्।
अचम्म छ नि है!
भाषामा अब अर्को रहस्य भन्छु। यदि तपाईं आफ्नै घरमा पुरुषहरूको माझमा बस्नु भएको छ, केही विशेष प्रसङ्ग निस्किदा तपाईंलाई आफ्नो जिज्ञासा राख्न मन लाग्यो भने तपाईं नबोल्दा हुन्छ। किनकि पुरुषहरू कुरा गर्दा बिचमा महिला बोल्नु भनेको पोथी बास्नु हो अरे जुन मैले धेरै चोटि सुनिसकेको छु। पुरुषहरू ठुलो ज्ञानगुनका कुरा गर्छन् अरे जुन महिलाको बसमा छैन।
घरमा एउटा परिवेश, समाजमा पनि घरको जस्तो अर्को परिवेश तर किताबले फेरि छोरीलाई अर्कै पाठ पढाइरहेको हुन्छ। अझ मैले त अंग्रेजी विषय पो लिएर पढेकी जहाँ फेमिनिजमले जरो गाडेर बसेको हुन्छ। फेमिनिजमले भन्छ- दबिन हुन्न, बोल्न पर्छ, आफ्नो स्वतन्त्रता आफै खोसेर भए नि लिन पर्छ। ह्या नेपाली समाजसँग मिल्दैन भन्दा नि मलाई सुख भएन किनकि मेजर विषय भनेर लिइहालेँ, पास त गर्न पर्यो। तर पास गर्न मात्र त पढ्ने होइन, पढेपछि मनस्थितिमा नि असर गर्छ किनकि पढ्न त बुझेर पढ्न पर्यो होइन र?
मेरा अगाडि आए भर्जिनिया वुल्फ, सिमोन द बोभुआर, हेलेन सिक्सो, एलेन शोवाल्टर, मेरी वुल्सटोनक्राफ्ट जस्ता फेमिनिस्टहरू। अनि यिनलाई पढेपछि प्रभाव पर्छ कि नाइँ? बिस्तारै बिस्तारै थाहा हुन थाल्यो म कति दबिएर बाँचेकी रहेछु। दबिनु भनेको मलाई अभिव्यक्तिको स्वतन्त्रताबाट वञ्चित गरिनु हो। अभिव्यक्ति राख्ने आत्मविश्वास मारिदिनु हो।
मेरो आत्मविश्वासको हत्या भइसकेको आभास मलाई यिनै फेमिनिस्टले गराए। तर म एकदम दुबिधामा पनि पर्थेँ। मेरा किताबले जे सिकाउँथे त्यसको मेल वास्तविकतासँग कत्ति पनि हुँदैनथ्यो। मेरो पढाइ र समाज सधैँ विपरीत दिशामा उभिन्थे। यस्तो विरोधाभासले सधैँ मलाई भर्जिनिया वुल्फले भनेजस्तो ‘एजेल अफ द हाउस’ मै राखिरह्यो।
वुल्फले भन्छिन् यो पितृसत्तात्मक समाजले हामीलाई सधैँ उसको नियन्त्रणमा बस्नुपर्छ भन्ने एक भ्रममा राख्छ। अनि यो भ्रम तोड्न सजिलो पनि छैन तर जसले तोड्छ उसलाई ‘फेमिनिस्ट’ को ट्याग त लाग्छ नै। बिहे नहुँदै बुवाको भ्रमित राज्यमा मरिसकेको आत्मविश्वास बिहे भइसकेपछि श्रीमानको भ्रमपूर्ण राज्यमा फेरि जन्मिएला भनेर सोच्नु पनि पाप गर्नु सरह नै हो। हाम्रो नेपाली समाजलाई पढे लेखेको तर घरको पुरै काम गर्ने, भान्सा सम्हाल्ने अनि पाहुनाहरूको सबै जिम्मेवारी लिन सक्ने बुहारी चाहिएको छ।
आफ्नो छोरा छ ३०/३२ वर्षको अनि बुहारी ल्याउनुहुन्छ २२/२४ वर्षको। अनि आफ्नो छोराभन्दा परिपक्व भइदियोस् बुहारी भनेर ठुलो आस मात्र होइन, परिपक्व हुनै पर्ने वातावरण बिहे गरेको अर्को बिहानी नै गराइदिनुहुन्छ। ऊ अब आफ्नी पचास काटेकी सासू बराबर पाको हुनुपर्ने हुन्छ, जसरी भए नि नत्र जीवन गाह्रो हुन्छ फेरि। उसले थोरै गल्ती गरे पनि उसको गल्ती ठुलो देखाएर उसको आत्मविश्वासको चीरहरण गरिन्छ।
जो दमनको विरुद्धमा बोल्छ त्यो त फेरि ‘फेमिनिस्ट’ भइहाल्छे। म फेमिनिस्ट भएको होइन, मैले महिलाहरूलाई पुरुषलाई जस्तो स्वतन्त्रता छैन भन्नु भनेको मैले जे महसुस गरिरहेको छु, जे भोग्दै आएको छु त्यसको वास्तविकता बक्नु हो। आफू पूर्वाग्रहको सिकार भइएको छ, त्यो थाहा पनि छ। अनि ढिलै भए नि भन्ने आँट आयो तर त्यही आँटलाई फेमिनिस्टको ट्याग लाग्छ भने लागोस्। हो, म फेमिनिस्ट हो।
पश्चिमा देशहरूको जस्तो मुद्दा हाम्रो देशको महिलाहरूमा लागु हुँदैन। हो, उनीहरूले हामी दबिएर बाँचिरहेका छौँ भन्ने कुराको आभास त दिलाए तर हाम्रो देशको अवस्था त निकै नाजुक पो छ। हामी त यहाँ घरभित्र हुने असमानतामै जगडिएका छौँ जहाँ छोरो र छोरी दुवै उच्च शिक्षा हासिल गरिसकेका छन्, दुवै जना एकदम अब्बल छन् भने पनि छोरीलाई कमजोर सोचिन्छ।
बिहेपछि श्रीमान् जति बजे उठे नि फरक पर्दैन तर बुहारी बिहानै उठ्न पर्छ। श्रीमानले (छोरा) खाएर थाल टेबलमै छोडे नि फरक पर्दैन तर बुहारीले भाँडा माझेर घरधन्दा सकेर मात्र बस्नुपर्छ। कुनै बेला छोराले बुहारीलाई सघाई हाल्यो भने फेरि ठुलो पाप हुन्छ। बुहारी छिरेको दिनदेखि उही नै हो भान्साको रानी। छोराले थोरै सहयोग के गर्यो कि ‘छोराले बाहिर नि गर्ने भित्र नि गर्ने, बुहारी किन लिएर आएको त?’- हो यही सुनिन्छ।
बुहारीले घरका सबै सदस्यका लागि खाना पकाउन र घरको अरू काम सबै गर्न हुने तर छोराले त्यही काम गर्दा नोकर हुने हुन्छ र? बिहे पछिको कुरा मात्र होइन, बिहे अघि नि दाइ भाइले अझै पनि भान्साको काम गर्नहुन्न भन्ने छोटो सोच नेपालमा व्यापक छ।
अनि अर्को कुरा, हामीमाथि यत्रो भेदभाव हुन दिने हामी पनि आफ्नो ठुलो दोषी हो। दोषी त्यो आमा हो जसले जन्मिएको दिनदेखि छोरीलाई कमजोर सोच्छ। दोषी त्यो सासू हो जसले बिहे गरेकै दिनदेखि बुहारीलाई आफू सरह पाको हुन दबाब दिन्छ। ती नन्द आमाजू दोषी हुन् जो आफ्नो घरमा बुहारीको रूपमा दबिन्छन् तर माइत पुगेपछि आफ्नै बुहारी, भाउजूमाथि दमन गर्छन्। कहीँ जेठानी भने कहीँ देउरानी बढी दमन गर्ने हुन्छन् तर यसले अरूलाई केही असर पर्दैन बरु उनीहरूकै विगति हुन्छ।
यसरी आइमाईहरू नै एकअर्काको खुट्टा ताने प्रवृत्तिले झनै पितृसत्तालाई नै बलियो बनाइरहेको छ। सिमोन द वोभुआरले पितृसत्ताले हामीलाई अन्यीकरण गर्छ भन्छिन् तर यो अन्यीकरण हामी महिलाहरूले एकअर्कालाई गर्न थाल्यौँ भने पितृसत्ताले सजिलरी नै गरिहाल्छ नि। वेल हूक्सले भने जस्तो हामी त ऐक्यबद्ध हुनुपर्ने हो। तर विडम्बना के छ भने पितृसत्ताले पैदा गरेको भ्रमलाई हामीले नै वास्तविकतामा परिणत गरिरहेका छौँ।